माघ ९ गतेसम्म जुत्ता तथा चप्पलको बिग सेल
काठमाडौं: नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भइरहेको बिग सेल मेला माघ नौ गतेसम्म चल्ने भएको छ । पुस १४ बाट सुरु भएको मेलामा यस अवधिमा लाखौँ उपभोक्ताले अवलोकन गरिसकेका छन् । मेलामा हजारौं जोर जुत्ताचप्पल बिक्री भइसकेको आयोजकले जनाएका छन् ।
बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयाम लक्षित गरी नयाँ डिजाइनका जुत्तासमेत बिक्रीवितरण गरिरहेका छन् । कम्पनीहरूले यस सिजनमा बनाइएको नयाँ डिजाइन एवं मोडलका जुत्ता बिग सेल मेलामा उपलब्ध गराएका छन् । मेलामा जुत्ता तथा चप्पलको खरिदमा १५ प्रतिशत देखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । मेलामा एक सय ५० देखि १० हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल बिक्रीवितरणका लागि राखिएको आयोजकले जनाएका छन् ।
मेलाले उपभोक्ताको सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको विकासका लागि सहयोग पुर्याउने अपेक्षा आयोजकले लिएका छन् । मेलामा ग्राहकले छानीछानी विभिन्न ब्राण्डका जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । नेपाली जुत्ताघरका अध्यक्ष रामकृष्ण प्रसाईले नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न मेलामा सीमित डिजाइनका जुत्ता तथा चप्पल लागतभन्दा पनि कम मूल्यमा बिक्री गरिएको बताए ।
उनले मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, सु ल्याण्ड, सफ्ट टच, फुटल्याण्ड, इजी सुज र टम टेलरजस्ता चर्चित नेपाली ब्राण्डको सहभागिता रहेको जनाएका छन् ।