इन्जिनियरिङ एसोसिएसन र उद्योग मन्त्रालयबीच सम्झौता
काठमाडौं: उद्यमशीलताको विकासमा सघाउने उद्देश्यले उद्योग मन्त्रालय र नेपाल इन्जिनियरिङ एसोसिएसनबीच सम्झौता भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको उपस्थितिमा मंगलबार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग मन्त्रालयका तर्फबाट उद्योग मन्त्रालय योजना महाशाखा प्रमुख दिनेश घिमिरेले र नेपाल इन्जिनियरिङ एसोसिएसनका तर्फबाट एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार नेपाल इन्जिनियरिङ एसोसिएसनले उद्योगमा नवीनतम प्रविधिको उपयोगका लागि सघाउने, स्वयं इन्जिनियरलाई उद्यमशील बनाउने र उद्योग मन्त्रालयको खोज अनुसन्धान र विकास कार्यमा सघाउने छ ।
कार्यक्रममा बोल्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै संस्थाहरूले एकै ठाउँमा बसेर सबैका लागि सोच्ने परिपाटीको विकास गर्न मन्त्रालयले नेपाल इन्जिनियरिङ एसोसिएसनसँग यस प्रकारको सम्झौता गरेको बताए । एसोसिएसनका अध्यक्ष श्रेष्ठले उद्योगीलाई प्रविधिमैत्री बनाउन यस प्रकारको सहकार्यले सघाउ पुग्ने भन्दै नेपाल इन्जिनियरिङ एसोसिएसनका लागि समेत यो महत्त्वपूर्ण कदमका रुपमा रहेको बताएका छन् ।