पाँच महिनामा ४५ अर्बको सवारी आयात
काठमाडौः नेपालमा सवारी साधन र पार्टपुर्जाको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४५ अर्ब २६ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा भित्रिएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा तीन गुणाभन्दा बढी हो । गत वर्षको सोही अवधिमा १३ अर्ब ४५ अर्बको सवारी तथा पार्टपुर्जा नेपाल भित्रिएको थियो ।
पछिल्लो सयम नेपालमा निजी सवारी प्रयोगकर्ता बढ्दै गइरहेका छन् । यसले सवारी आयात पनि बढाएको छ । भूकम्पपछि हेभी इक्वीपमेन्टको आयात पनि बढेको देखिन्छ । आव २०७१/०७२ को पाँच महिनामा २३ अर्ब रुपैयाँको सवारी तथा पार्टपुर्जा आयात भएको थियो । गत वर्षको यही समयमा भारतले नाकाबन्दी गरेको थियो । नाकाबन्दी र तराई आन्दोलनका कारण गत वर्षको पाँच महिनामा सवारी र पार्टपुर्जाको आयात आधा घटेको थियो ।
नेपालमा सबैभन्दा बढी सवारी भारतबाट आयात हुन्छ । पाँच महिनाको अवधिमा भारतबाट ४० अर्ब ११ करोड रुपैयाँको सवारी, पार्टपुर्जा र टायर ट्युव भित्रिएको छ । यस्तै चीनबाट एक अर्ब १३ करोड, अन्य मुलुकबाट चार अर्बको सवारी र पार्टपुर्जा भित्रिएको राष्ट्र बैंकको तथ्यांक देखाउँछ ।
नेपालमा सबैभन्दा बढी दुई पांग्रे सवारी बिक्री हुन्छ । यातयात व्यवस्था विभागका अनुसार चार महिनामै एक लाख ९ हजार मोटरसाइकल भित्रिसकेका छन् । कार र जीपको बिक्री पनि उच्च दरले बढेको देखिन्छ । चार महिनामा कार र जीप नौ हजार तीन सय ६४ वटा भित्रिएका छन् । निजी सवारी प्रयोगकर्ता बढ्दै जाँदा बाइक र कारको आयात बढ्दै गएको हो । चार महिनामा एक लाख ४१ हजार सात सय २९ सवारी साधन दर्ता भएको विभागको तथ्यांक छ ।
नेपालमा सार्वजनिक सवारीको भरपर्दो व्यवस्था छैन । यसले पनि निजी सवारी चढ्ने परिपाटी बढेको हो । साँघुरो र खाल्डाखुल्डी सडक भएकोले बढी बाइक/स्कुटर बिक्री हुने व्यवसायी बताउँछन् । सरकारले नेपाल भित्रिने गाडीमा चर्को भन्सार लगाएको छ । यसले पनि बाइक र स्कुटरमा बढी आकर्षण देखिएको हो ।
नेपालमा सस्ता सवारी भारतबाट भित्रिँदै आएको छ । महंगा कार र बाइक तेस्रो मुलुकबाट भित्रिन्छन् । कुल सवारीको तीन चौथाई आयात भारतबाटै हुने गरेको छ । केही सवारी साधन चीनबाट पनि भित्रिन्छन् । पछिल्लो समय चीनबाट डटबाइक र इलेक्ट्रीक स्कुटर भित्रिने क्रम बाक्लिएको छ । कार र अन्य गाडी पनि चीनबाट उत्तिकै भित्रिन्छन् ।
नेपालमा सवारी आयात बढ्नुमा बैंक तथा वित्तीय संस्थाले सहजै उपलब्ध गराउने सस्तो ब्याजदरको ऋण पनि हो । बैंक तथा वित्तीय संस्थाहरु अटोलोन उपलब्ध गराउन होडबाजीमा उत्रिएका छन् । सस्तो ब्याजमा ऋण पाइएपछि थोरै आम्दानी हुनेहरु पनि निजी सवारी चढ्न सक्ने भएका छन् ।
बैंकले ६-७ प्रतिशतमै सजिलै ऋण उपलब्ध गराउँछ । अहिले किस्ताबन्दीमा ऋण बुझाउँदै सवारी साधन चढ्न सकिन्छ ।