स्थानीय निर्वाचन जेठमाः मन्त्री जोशी
नारायणगढः उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्थानीय निकायको निर्वाचन जेठ महिनाभित्रै गर्ने तयारीमा सरकार जुटेको बताएका छन् ।
नारायणगढमा बुधबार ११ औं चितवन महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले जेठ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गरिने बताएका हुन् ।‘नागरिकको पहिलो सरकार स्थानीय निकाय नै हो' उद्योगमन्त्री जोशीले भने, ‘आगामी जेठ महिनामा स्थानीय निकाय निर्वाचन गर्ने तयारीमा सरकार जुटेको छ ।'
नयाँ संविधान जारी भएपछि राजनीतिक आन्दोलन सकिएको र अब आर्थिक आन्दोलन गर्नुपर्ने उनको भनाई थियो । ‘आर्थिक सवालमा सबै दल एकै ठाउँमा उभिन आवश्यक छ' मन्त्री जोशीले भने, ‘सबै दल एक ठाउँमा उभिन सक्यौँ भने दस वर्षभित्रमा कुनै नेपाली मजदुरीका लागि विदेश जानु पर्दैन ।'
सरकारले लघु उद्योग दर्ता गर्ने काम सुरु गरिसकेको बताउँदै उनले एक महिनाभित्र एक लाख लघु उद्योग दर्ता गर्ने लक्ष्य लिइएको बताए ।
चितवन महोत्सव आयोजक मूल समितिका संयोजक राजन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजकद्वय श्रवणकुमार पोखरेल र महेश बराल, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, विभिन्न राजनीतिक दलका जिल्लास्तरका नेता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्योग वाणिज्य संघ चितवन, भरतपुर उपमहानगरपालिका र जिल्ला विकास समिति चितवनको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो । पुस २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको महोत्सव दुई लाख दर्शकले अवलोकन गरेको आयोजकको अनुमान छ ।