२२ जनाको ज्यान लिने चितुवा मार्न माग
बैतडी : जिल्लाको तल्लोसोराडमा बारम्बार मानिसमाथि आक्रमण गरी ज्यान लिइरहेको चितुवा मार्नका लागि स्थानीयबासीले माग गरेका छन्।
गएको ४ बर्ष यता मात्रै सो क्षेत्रमा चितुवाको आक्रमणबाट २२ जनाको ज्यान गइसकेको छ। यो बर्षको गत भदौमा मात्रै २ जनाको नरभक्षी चितुवाले ज्यान लिएको थियो। नरभक्षी चितुवाले बारम्बार त्रास मच्चाउन थालेपछि चितुवालाई मार्नका लागि आफूहरुले माग गरेको उदयदेवका झापु चन्दले जानकारी दिए।
उनले भने ‘गएको ४ बर्ष यता तल्लोसोराडका पञ्चेश्वर, कुलाउ, आम्चोरा,शर्माली,उदयदेव, विशालपुर, रोडीदेवल लगायतका गाविसमा नरभक्षी चितुवाको आक्रमणले २२ जनाले ज्यान गुमाइसकेका छन्। ति मध्ये पनि बालबालिकाहरु धेरै रहेका छन्। गाउँमा चितुवाको त्रास अझै बाँकी रहेको छ। बालबालिकाहरुलाई विद्यालय पठाउन समेत समस्या भइरहेको छ। जसरी भएपनि नरभक्षी चितुवा मार्नुको विकल्प छैन।’
नरभक्षी चितुवाले लगातार रुपमा मानिसमाथि आक्रमण गर्दै आएकाले तल्लोसोराड क्षेत्रमै त्रास बढीरहेको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र महताले बताए। उनले भने ‘गएको भदौपछि पौष महिनाको अन्तिमतिरबाट फेरी चितुवा देखिन थालेको छ। यसले स्थानीयबासी त्रसित भएका छन्। गएको भदौमा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान गएपछि हामीहरु एकदमै डरमा छौं। नरभक्षी चितुवालाई जसरी पनि मार्नुपर्छ।’
उदयदेवकै कर्णसिंह साउँदले पनि नरभक्षी चितुवाले लगातार रुपमा आक्रमण गरिरहेकाले मार्नुपर्ने माग गरे। उनले भने ‘हाम्रो समस्याका बारेमा स्थानीय प्रशासनसंग कुरा राखेका छौं। यसलाई स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा मार्नुपर्छ।’
तल्लोसोराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि सो क्षेत्रका बासिन्दा आक्रोशित र त्रसित बनेका छन्। उनीहरुले घरमा सुरक्षित तरीकाले बस्न समस्या भएको बताएका छन्।
तल्लोसोराडमा चितुवाले लगातार रुपमा आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले दुई पटक प्रहरी परिचालन गरेको भएपनि मार्न सकेको छैन्। ‘२०६९ सालमा सशस्त्र वन रक्षक र नेपाल प्रहरीको संयुक्त टोली खटाएको हो। गएको भदौमा पनि २ महिनाजति हाम्रो टोली प्रभावित क्षेत्रमा रहेको हो तर फेला नै पार्न सकेको छैन्।’प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले भने, ‘स्थानीयहरुको माग अनुसार फेरी इलाका प्रहरी कार्यालय तस्सुदेहीबाट प्रहरीको गस्ती टोली पठाएका छौं। जिल्ला सुरक्षा समितिको बैठक बसेर यस बिषयमा थप कुराकानी गरेर अघि बढ्छौं।’
वन्यजन्तुको क्षेत्रमा काम गर्नेहरुले भने चितुवाको बासस्थान र आहार लगातार रुपमा नष्ट हुँदै गएपछि चितुवा मानव बस्तीतिर पसेको बताएका छन्। केही महिना अघिमात्रै बैतडीबाट सरुवा भएका जिल्ला वन अधिकृत केदार बरालले भने ‘चितुवा बस्ने जंगल र उसले प्रयोग आहारको रुपमा प्रयोग गर्ने जंगली जनावरको चोरी शिकारी बढेपछि चितुवा मानवबस्तीमा पसेको अनुमान गर्न सकिन्छ। मानव र चितुवाबीचको द्वन्द न्यूनीकरणका लागि वनजंगलको संरक्षण, वन्यजन्तुको संरक्षण तर्फ ध्यान दिनुपर्छ।’
जिल्ला वन कार्यालयले पनि प्रभावित क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताएको छ। तर पनि तल्लोसोराडवासी भने नरभक्षी चितुवाको त्रासबाट मुक्त हुन सकेका छैनन्। नरभक्षी चितुवाले तल्लोसोराडमा गएको ४ बर्षयता लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासी निकै चिन्तित रहेको महाकालीका मोहन चन्दले बताए। ‘चितुवाको आक्रमण तल्लोसोराडमा लगातार रुपमा भइरहेको यसको व्यवस्थापनका लागि स्थानीय प्रशासनले प्रभावकारी कदम चाल्नुपर्छ।’