चीन र भारतसँग समान सम्बन्ध नभए विकास असम्भव : ओली
दमक : एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारतसँग बराबरीको सम्बन्ध जरुरी रहेको बताएका छन्। झापाको दमकमा हिमशिखर रेडियोको उद्घाटन गर्दै उत्तर छिमेकी चीन र दक्षिणमा भारतसंगको बराबर सम्बन्ध कायम गर्न नसके नेपालमा आर्थिक विकास सम्भव नभएको बताए ।
आफ्नो सरकारका पालामा भारतसँग गरेको सम्झौताको स्मरण गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब बंगलादेशसंगको व्यापार पनि सहज हुने विश्वास व्यक्त गरे।
नेपालले कोलकत्ता बन्दरगाह मात्र प्रयोग गरिरहेको सन्दर्भमा विशाखापटनम बन्दरगाह पनि प्रयोग गर्न पाउने सम्झौताले नेपालको आर्थिक विकासले निकै ठूलो फड्को मार्ने उनले बताए । ओलीले भने, ‘त्यो सम्झौता चानचुने सम्झौता होइन । त्यसले हाम्रो आर्थिक विकासमा निकै ठूलो सहयोगी साबित हुनेछ ।’
पूर्वी नेपालको संखुवासभाको किमाथाङ्काबाट चीन जोड्नका लागि चीनसंग पनि सम्झौता भएकैले अहिले बाटो निर्माण भइरहेको उनले बताए ।
पूर्वप्रधानमन्त्री ओलीले भने, ‘उत्तरतिर चीन र दक्षिणमा भारतसंग बाटोले जोडिएको खण्डमा नेपाल व्यापारको ट्रान्जिट पोइन्ट बन्छ। त्यो हाम्रो फाइदाको कुरा हो । नेपालको आर्थिक विकासका लागि त्यो कोसेढुंगा सावित हुनेछ ।’ उनले नेपालका आर्थिक विकासका लागि उत्तर दक्षिण दुईतिरै समदुरीको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।
तर, नेपालका केही राजनीतिक दलले जातीय अराजकता फैलाउन खोजेर नेपालको आर्थिक विकासमा भाँजो हाल्न खोजिएको ओलीको आरोप थियो । उनले केही तराई केन्द्रित दलहरुले ‘पहाडि नस्लबाद’ संज्ञा दिएर पहाड र तराईका जनतामाझ फाटो ल्याउन खोजिएको बताए ।
उनले भने, ‘पहाडी नस्लवाद भनेको के हो ? मैले अहिलेसम्म नसुनेको शब्द सुन्दैछु अचेल । त्यसैलाई पछ्याउँदै पढेलेखेका मानिसहरु दगुरेको देख्दा मलाई अचम्म लागेको छ ।’
नेपालमा राजनीतिक मात्र नभइ सामाजिक तथा आर्थिक संक्रमण काल चलिरहेको उनले बताए । ओलीले राजनीतिक परिवर्तनका साथै सामाजिक तथा आर्थिक परिवर्तनको खाँचो रहेको बताए । उनले मुलुकका हरेक परिवर्तनमा आमसञ्चार जगतको अतुलनीय योगदान रहेको समेत बताए । उनले समाजमा रहेका विकृति तथा भ्रष्टाचारविरुद्धको खबरदारीमा पत्रकारको निरन्तर कलम चल्नुपर्नेमा जोड दिए ।