२० करोड लागतमा होटेल होराइजन माउन्टेन
काठमाडौः धनकुटाको हिलेस्थित त्रिशुलीमा अत्याधुनिक सुविधा सम्पन्न होटेल होराइजन माउन्टेन रिसोर्ट सञ्चालनमा आएको छ । माउन्टेन रिसोर्टको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार गरेका छन् । व्यवसायी रेवतबहादुर थापाले करिब २० करोड रुपैयाँको लागतमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ३१ कोठा र ६ वटा कटेज छन् । होटेलमा एकैपटक दुई सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हलसमेत रहेको छ । आफ्नै मल्टिकुजिन रेस्टुरेन्ट पनि रहेको यस रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा उपलब्ध रहेको थापाले बताए ।
उनकाअनुसार करिब होटेलबाट करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । उद्घाटन समारोहमा सहभागीले पूर्वको चर्चित पर्यटकीय गन्तव्य हिलेलाई चिनाउने उद्देश्यले रिसोर्ट खुल्नु सकारात्मक भएको उल्लेख गरे ।
रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार तथा सम्मेलन गर्न मिल्ने सुविधा रहेको छ । ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले रिसोर्ट नजिकै पिक्निक स्पटको पनि व्यवस्था गरिएको छ । रिसोर्टमै आकर्षक चिया बगान पनि रहेको छ ।
रिसोर्टकै लागि भनेर अर्गानिक तरकारीखेती, डेरी, खसीबोका र कुखुरा फर्म पनि सञ्चालनमा ल्याइएको छ । साथै होटेलले आफ्नै क्षेत्रमा आफूलाई चाहिने वायोग्यास र वायु ऊर्जा पनि उत्पादन गरेको छ ।
होटेल व्यवसायमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एसियन स्कुल अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीलाई इन्टर्नको पनि व्यवस्था गरिएको छ । होटेल सञ्चालककाअनुसार ‘म्याजिक अफ हिल्स’ को नामले चिनिने यो ठाउँमा पाहुनाले मौसमको अद्भुत आनन्द लिन सक्नेछन् ।
मनोरम मकालु, सगरमाथा र कञ्चनजंगा हिमशृंखलाको दृश्यावलोकन यहाँको मुख्य आकर्षण हो । रिसोर्टले दृष्यावलोकनसहित आफ्ना पाहुनाका लागि घोडचढी र साइक्लिङको पनि सेवा दिनेछ । होटेलले त्यहाँ जाने पाहुनाको सुविधाका लागि काठमाडौं र विराटनगर विमानस्थलदेखि पिकअप र ड्रपको पनि व्यवस्था गरेको जनाएको छ ।
यो होटेल विराटनगरदेखि करिब दुई घन्टाको ड्राइभिङ दूरीमा छ । रिसोर्टले आन्तरिक पर्यटकका साथै भारतीय र तेस्रो मुलुकका पाहुनालाई सेवा दिने लक्ष्य लिएको छ । होटेल सञ्चालनपश्चात भेडेटार, पाथिभरालगायतका पर्यटकीय क्षेत्रको पवद्र्धन र विकासमा टेवा पुग्ने विश्वास रिसोर्टको छ ।