स्ववियु चुनावमा जुटे विद्यार्थी
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव मिति तय गरेसँगै विद्यार्थी संगठन तयारीमा जुटेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु तथा अनेरास्ववियु ( क्रान्तिकारी) सहित अन्य साना दलनिकट विद्यार्थी संगठन चुनावमा अग्रस्थानमा आउने रणनीति बनाउन व्यस्त छन् ।
त्रिविले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको उपस्थितिमा पुस २० गतेको साधारण बैठकबाट चुनावमा उम्मेदवार हुन चाहनेको उमेर २८ वर्षभन्दा बढी हुन नहुने नीतिगत निर्णय गरेको छ । मतदातालाई भने उमेरको हदबन्दी लाग्नेछैन ।
त्रिविको निर्णयसँगै एमालेनिकट अनेरास्ववियुले तयारीमा जुट्न मातहतका सबै स्थानीय समितिलाई निर्देशन दिएको छ । अध्यक्ष नवीना लामाले भनिन्, 'यसपटक जसरी पनि तोकिएकै मितिमा चुनाव हुनुपर्छ । त्यसका लागि अनेरास्ववियु जहिले पनि तयार छ ।' चुनावमा यसपटक पनि अनेरास्ववियु नै पहिलो बन्ने दाबी उनले गरिन् ।
कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पनि त्रिविको निर्णयलाई स्वागत गर्दै तोकिएकै मितिमा जसरी पनि चुनाव गराउने वातावरण बनाइदिन सबैसँग अनुरोध गरेको छ । संघले स्ववियु चुनावमा आफ्नो संगठनलाई पहिलो बनाउन आवश्यक तयारी गर्ने उद्देश्यले सात हजार एक सदस्यीय स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति गठन गरेको छ ।
उमेर हदबन्दीका कारण लामो समयसम्म संगठनमा रहेर पनि स्ववियु चुनावमा भाग लिन नपाएकोमा संघभित्रै केही कार्यकर्ताको असन्तुष्टि छ । 'एक दशकभन्दा लामो समयसम्म क्याम्पस राजनीतिमा सक्रिय भएर पनि स्ववियुमा सहभागी हुन नपाएको भन्दै केही साथीले असन्तुष्टि जनाउनुभएको छ ।
उहाँहरूको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर त्रिविसँग छलफल गर्ने निर्णय गरेका छौं', संघ अध्यक्ष नैनसिंह महरले भने, 'उमेर हदलाई आधार मानेर चुनाव रोक्ने पक्षमा भने हामी छैनौं ।' उनले फागुन १४ गते नै चुनाव हुन्छ भन्ने सन्देश प्रवाह गराउन त्रिविले तत्काल निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने बताए ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा चार हजार चार सय ५३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको बताए । क्रान्तिकारीले हरेक क्याम्पसमा चुनावी प्रचारप्रसारका लागि एकजना कमान्डर तोकेको छ । राजधानीका ठूला क्याम्पसमा पदाधिकारी तथा अन्य साना क्याम्पसमा केन्द्रीय सदस्यलाई कमान्डर तोकिएको उनले बताए ।
हरेक दुई वर्षको अवधिमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि हुन सकेको छैन । यसअघि उमेरहद र विद्यार्थी भर्नाको विषयमा विवाद भएपछि त्रिविले दुईपटक मिति तोकेर पनि चुनाव स्थगित गरेको थियो ।