वान बेल्ट वान रोडप्रति मन्त्रीको 'बेवास्ता'

वान बेल्ट वान रोडप्रति मन्त्रीको 'बेवास्ता'

काठमाडौं: परराष्ट्रमन्त्री प्रकाशशरण महतले चीनसँग रणनीतिक सहकार्य तथा कनेक्टिभिटी (सम्पर्क) बढाउन सरकार प्रतिबद्ध रहेको बताए पनि त्यसमा सहभागिता जनाउने सम्बन्धमा सरकारको धारणा प्रस्ट नपारेपछि चिनियाँ अधिकारी 'झस्केका' छन् ।

बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीले बिहीबार राजधानीमा आयोजना गरेको 'वान बेल्न वान रोड कन्फ्रेन्स २०१७' को उद्घाटन गर्दै मन्त्री महतले चीनसँगको रणनीतिक सहकार्यप्रति प्रतिबद्धता जनाए तर 'वान बेल्ट वान रोड' प्रति स्पष्ट धारणा राखेनन् । चीन र नेपालबीच संयुक्त सैन्य तालिम तयारी भइरहेका बेला महतले चीनसँगको रणनीतिक सहकार्यप्रति प्रतिबद्धता जनाएका हुन् ।

भारतको दबाबका कारण चीनसँग सम्बन्ध बढाउन नेपाल सरकारलाई सहजता नरहेको तर्फ संकेत गर्दै उनले भने, 'चीनले नेपालको भूराजनीतिक जटिलता बुझिदिनुपर्छ ।'

कार्यक्रमका मुख्य अतिथि महत कार्यक्रमको सुरुमै पाँच मिनेट बोलेर बाहिरिएपछि आयोजक र उपस्थित नेपाली सहभागीले 'नेपालकै बेइज्जत भयो' भन्ने टिप्पणी गरेका थिए । 'चितवन जानुपर्ने छ, म अरू बस्न सक्दिनँ' भनी उनी सुरुमै निस्केका थिए ।

 

चिनियाँ राष्ट्रपतिले चीन र एसिया तथा युरोपबीच कनेक्टिभिटी बढाएर पारस्परिक लाभ लिने उद्देश्यसहित अघि बढाएको 'वान बेल्ट वान रोड' अवधारणाबारे कार्यक्रम केन्द्रित रहे पनि मन्त्री नै निस्केपछि उक्त अवधारणाप्रति नेपाल सरकारको प्रतिबद्धता कमजोर बनेको गुनासो चिनियाँ विज्ञले गरेका थिए ।

पूर्ववर्ती केपी ओली सरकारका पालामा उक्त अवधारणाअनुसार चीनले नेपालमा रेल, सडकलगायत विकास पूर्वाधारमा सहयोग गर्ने र दुई देशले कनेक्टिभिटी मिलेर विकास गर्ने भने पनि नयाँ सरकार बनेपछि उक्त अवधारणामा नेपालको प्रतिबद्धता कमजोर देखिएको टिप्पणी हुँदै आएको छ ।

महतले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताए । 'चीन र भारतविरुद्ध कुनै पनि गतिविधि हाम्रो भूमिमा हुन दिँदैनौं', उनले भने । मन्त्री महतले नेपाल, भारत र चीन साझा हितका लागि एकै ठाउँ उभिनुपर्ने बताए । पूर्ववर्ती सरकारका पालामा चीनसँग भएका सम्झौताप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताए ।

चीनको सिचुवान युनिभर्सिटीकी प्राध्यापक ली तावले नेपाल चीनका लागि दक्षिणएसिया प्रवेश गर्ने ढोका भएको बताइन् । उनले चीन र नेपालबीच जनस्तरको सम्बन्ध विकास भइरहेको बताइन् । उनले वान बेल्ट वान रोड अवधारणामा नेपाल बलियोसँग जोडिनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वान बेल्ट वान रोड अवधारणाअनुसार मिलेर काम गर्न चीन र नेपालबीच संस्थागत संरचना खडा हुन नसकेको बताए । उनले चिनियाँ बैंकको शाखा नेपालमा स्थापना हुनुपर्ने बताए । पूर्वराजदूत डा. शम्भुराम सिंखडाले नेपालले चीन र भारतसँग भिन्दाभिन्दै रूपमा सम्बन्ध राख्दै आएको बताए । चीन र भारतको स्थिरताका लागि नेपालको विकास र स्थिरता महत्त्वपूर्ण रहेको उनले बताए ।

चीनको हेवेई विश्वविद्यालयअन्तर्गत नेपाल अध्ययन केन्द्रका उपनिर्देशक चाङ सुविनले चिनियाँ राष्ट्रपति नेपाल भ्रमण गर्न इच्छुक रहे पनि सुहाउँदो वातावरण नरहेको बताए । नेपालमा लगानीमैत्री वातावरण नरहेको उनको भनाइ थियो ।

आयोजक संस्थाका अध्यक्ष प्रेमराज जोशीले 'वान बेल्ट वान रोड' अवधारणाबाट नेपालले लाभ लिनुपर्ने बताए । उनले 'वान बेल्ट वान रोड' अवधारणा आर्थिक सामाजिक विकासका लागि एक नयाँ अवधारणाका रूपमा विश्वसामु आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.