चियापान: मदिराको विकल्प
एक साँझ, चियापानको आँगनमा पुग्दा २०७२ सालको मदन पुरस्कार विजेता रामलाल जोशी, संस्कृतिकर्मी तीर्थराज पाण्डे र साहित्यकार निरूपा प्रसुन गफिरहेका थिए । 'हो, मैले यसलाई यस्तै बौद्धिक वर्गको मन्थन गर्ने थलो बनाउन खोजेको हुँ', चियापानका सञ्चालक अश्विनी कोइरालाले भने, 'रक्सीबारहरूको विकल्प चिया हुन सक्छ भन्ने मेरो प्रयास हो ।'
आफैं लेखक र सञ्चारकर्मीको रूपमा चिनिएका कोइराला लेखेरमात्रै परिवर्तन सम्भव नहुँदो रहेछ भन्ने निक्र्यौलमा पुगे । उनले भने, 'विकास र परिवर्तन भन्ने कुरा गरेर मात्रै हुँदो रहेछ ।'
कोइराला विदेश घुमघाममा निस्कँदा त्यहाँका बारहरूको अध्ययन गरे । बारहरूमा एकापट्टि टी–बार र अर्कोपट्टि वाइन-बार देखे । उनले बुझे दिनभरि शारीरिक श्रम गर्नेहरू रक्सीबार र बौद्धिक श्रम गर्नेहरू चियाबारमा पस्दा रहेछन् भन्ने कुरा । नेपाल र भारतको सिक्किम चियाका लागि संसारकै उत्कृष्ट चिया उत्पादन क्षेत्र भए पनि यहाँका जनताले 'क्वालिटी'को चिया खान नपाएकोमा पनि उनलाई ननिको लाग्यो ।
'मैले घुमेर, पढेर दुई वर्ष चियाको अध्ययन गरेँ', कोइरालाले भने, 'हामी त कहिलेकाहीँमात्रै खाने चिया दैनिक खाँदा रहेछौँ, दैनिक खानुपर्ने चिया खाँदै खाँदैन रहेछौँ ।'
चियापानमा उनले आफ्नै ब्रान्डका एक सय ११ थरी चिया खुवाउन सुरु गरेका छन् । चियामा साँच्चै गजबको स्वाद भएको साहित्यकार रामलाल जोशीले दाबी गरे । आफूले यति धेरै प्रकारको र गुणकारी चिया पनि हुन्छ भन्ने कुरा चियापानमै थाहा पाएको उनले बताए । शान्त, सफा र शालिन वातावरणमा मन परेको चियापान गर्न पाउनु चियापानको खास विशेषता मन संस्कृतिकर्मी तीर्थराज पाण्डेले बताए ।
चियापानमा उच्च गुणस्तरको सीटीसी दानादार चियामात्रै हाइन अर्थोडक्स चियामा ब्ल्याक टी, गोल्डेन टी, ह्वाइट टी, ग्रीन टीका एक सय ११ भेराइटीको स्वाद लिन सकिन्छ । चिया स्वादका लागि मात्रै नहुने उनको बुझाइ नेपाली उपभोक्तामा पुर्याउन उनले यसलाई चिया संस्कारका रूपमा विकास गर्न खोजेको बताए ।
'बौद्धिक, समाजसेवी र मानसिक श्रम गर्नेहरूले साँझपख बसेर रक्सी होइन चिया पिउँदै स्वास्थ्यलाभ र नयाँनयाँ योजना बनाउन सकून् भनेर मैले यो कल्चर भित्र्याउन खोजेको हुँ', सञ्चालक कोइरालाले भने, 'रक्सीबारले मानिसलाई तामसी बनाउँछ, चियाबारले फ्रेस र शालिन ।'
चियापानमा मानिसको पेसा, व्यवसाय र स्वास्थ्य हेरेर चिया सर्भ गरिन्छ । उनकोमा एउटा चियालाई अर्कोको मि श्रणबाट नयाँ भेराइटी बनाउने कला प्रयोग गरिन्छ । जुन चिया मानिसको स्मरण शक्ति बढाउने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, रक्तचापअनुसारको चिया, एन्जाइटीमा उपयोगीलगायतका चियापानमा पिउन सकिन्छ ।
नयाँ पानको अर्को विशेषता भनेको ग्राहकभन्दा सदस्य विस्तार गर्नु हो । एक हजार रुपैयाँ चिरेमा चियापानको नियमित सदस्य बन्न सकिन्छ, यस्तो सदस्यले चियापानमा जति र जुन चिया खाए पनि महिनाभरिलाई पुग्छ । १० हजार रुपैयाँ तिरेमा वार्षिक सदस्य बन्न सकिने व्यवस्था गरिएको कोइरालाले बताए । त्यस्ता सदस्यलाई वर्षभरि जुनसुकै आउटलेटमा जति पनि चिया पिउने सुविधा प्राप्त हुन्छ । वार्षिक सदस्यले बर्थडेमा उपहार र यहाँको सामान किन्दा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
चियापान रक्सीको विकल्पमात्रै नभएर स्वास्थ्यका लागि उपयोगी स्थल भएको उत्तम पौडेलले अनुभव सुनाए । अक्वा पोलो पानीको कम्पनी सञ्चालक उनी हरेक साँझ क्लबबाट फर्किंदा चियापानमा पस्छन् । 'यो त बियरबारको विकल्प मात्र होइन, स्वास्थ्यका लागि हेल्थ सेन्टर पनि हुन सक्ने लागेको छ', पौडेलले भने, 'यसलाई कल्चरको रूपमा विकसित गर्न सके समाजमा सकारात्मक परिवर्तन सञ्चार हुनेछ ।'
रस्सालगायत विदेशमा आफूले नेपाललगायत देशबाट झिकाएको 'ब्रान्डेड' चियाका पारखी पढ्दै गएको देखे पनि उत्पादन हुने देशमै चिया कल्चर विकास नभएको र यसको फाइदा लिन नसकेको देखेर आफूले अभियानकै रूपमा यसलाई सञ्चालन गर्न खोजेको सञ्चालक अश्विनी कोइरालाले बताए ।
उनले आफ्नै निगरानीमा विभिन्न उचाइ र क्षेत्रको अग्र्यानिक चिया तयार पारेर ब्रान्डिङ गरेको बताए । यस्ता औषधीय गुण भएका अग्र्यानिक चिया देशैभर कल्चरको रूपमा विकास गर्न साखा विस्तारलाई पनि प्राथमिकता दिएको बताए । त्यस्ता शाखाहरूमा चिया पानले एक जना चियाविज्ञ आफैं खटाउने सुविधासमेत उपलब्ध गराउने गरेको छ । चियापानले सिंहदरबार, विराटनगर, हेटौंडा, धापासी, इलाममा शाखा विस्तार थालेको कोइरालाले जानकारी दिए ।
देशैभर चियापानको जस्तै चिया कल्चरलाई विकास गर्न सके कुलतले गाँज्दै लगेको समाजमा बौद्धिक जागरण सुरु हुने आसा मदन पुरस्कार विजेता जोशीले व्यक्त गरे ।