निर्माताबीच पावर प्रतिस्पर्धा

निर्माताबीच पावर प्रतिस्पर्धा

बलिउडमा स्टार पावर जति छ निर्देशक र निर्माताको 'पावर' पनि उत्तिकै छ । कलाकार कुन ब्यानर वा कुन निर्देशकबाट डेब्यु गरेको हो भन्ने कुराले अर्थ राख्ने गर्छ । नेपाली चलचित्रमा पनि स्टार पावरको अभ्यास त भयो तर स्थापित हुन सकेन । अर्थात् कुनै पनि अभिनेता अभिनेत्रीले स्टार पावर स्थापित गर्न सकेका छैनन् । यस्तो अभ्यास निर्देशकबीच पनि विभिन्न कालखण्डमा देखिने गर्छ । तर पछिल्लो समय निर्माताहरूमा पावर स्थापित गर्ने होड सुरु भएको छ ।

चलचित्र लुट कथा भन्ने पृथक् शैली दर्शकमाझ स्थापित गर्न सफल भयो । त्यसअघि यस प्रकारका केही अभ्यास नभएका होइनन् तर व्यावसायिक रूपमा सफल नभएकाले नोटिस हुन सकेन । लुटको सफलताले यसका निर्माता जति खुसी भए अन्य व्यावसायिक निर्माता पनि उत्तिकै उत्साहित थिए । राम्रो र पृथक् शैलीका चलचित्र बनाउन सके दर्शक पाउन सकिन्छ भन्ने कुराले निर्माताहरू हौसिएका थिए । त्यससँगै आफूलाई पावरफुल निर्माताका रूपमा उभ्याउन अघोषित अभ्यास हुन थाल्यो । पछिल्लो समय यो अभ्यास घोषित रूपमै देखिएको छ । यसलाई व्यावसायिक निर्माताहरूले सकारात्मक रूपमा लिएका छन् ।

नेपाली चलचित्रमा सफल र प्रभावशाली निर्माता मानिएका छविराज ओझा यो प्रतिस्पर्धालाई स्वागतयोग्य मान्छन् । 'पावरफुल निर्माता बन्ने प्रतिस्पर्धाले नेपाली चलचित्र उद्योगलाई हित गर्छ', निर्माता ओझाले भने, 'यस क्षेत्रमा व्यावसायिक रूपमा लाग्ने मान्छेको खाँचो छ । पटके निर्माताले उद्योगलाई राम्रो गर्दैन ।' राजेश हमाल अभिनीत पहिलो चलचित्र युगदेखि युगसम्मबाट निर्माणमा लागेका ओझा अहिले २२ औं चलचित्र मंगलम्को काममा व्यस्त छन । चलचित्र निर्माणमा कुनै समय आफूलाई एक्लो महसुस गरेका उनी अहिले धेरै निर्माताहरू देख्दा खुसी छन । 'निर्माताबीच पनि टप ३, टप ५ मा पर्न प्रतिस्पर्धा होस् । अनि पो मजा आउँछ', उनले थपे ।

राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, विपना थापा, रेखा थापा, पूजना प्रधान, आर्यन सिग्देल, आयुष रिजाल, नरेन खड्का, रजनी केसीलगायत धेरै चर्चित अभिनेता अभिनेत्रीले छविकै चलचित्रबाट डेब्यु गरेका हुन् । अहिले चल्तीमा रहेकी अभिनेत्री शिल्पा पोखरेलले चलचित्र लज्जाबाट डेब्यु गर्दा छविराज ओझाको ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएकी थिइन् । गोपीकृष्ण मुभीबाट आएका अभिनेता अभिनेत्रीले पनि ब्यानरका बारेमा धेरै पटक बोलेका छन् । ती सबै निर्माता र निर्माण कम्पनीको शक्तिकै प्रभाव हो ।

चलचित्र लुट २ का निर्माता माधव वाग्लेले छक्का पञ्जाको व्यवसायलाई आफ्नो चलचित्रले उछिन्ने दाबी निर्माताबीच शक्ति स्थापित गर्ने प्रतिस्पर्धाको एउटा उदाहरण हो । 'आफ्नो चलचित्र नम्बर एक होस, राम्रो चलचित्र बनाउँ भन्ने चाहना सबैमा हुन्छ तर आआफ्नो शैली र सिर्जनाअनुसार चलचित्र बन्ने हो', उनी भन्छन । चलचित्र छक्का पन्जाको रेकर्ड लुट २ ले तोड्ने उदघोषपछि उनी अझ चर्चामा छन् ।

'ममात्रै होइन सबैले छक्का पन्जाको रेकर्ड लुट टुले मात्रै तोड्न सक्छ भन्छन । चलचित्रको हाइप पनि छ', उनको दाबी छ, 'अहिलेको सबैभन्दा ठूलो चलचित्र यही हो । युट्युबमा गीत र टिजरबाट पनि दर्शक कति उत्साहित छ भन्ने देखिन्छ ।' चलचित्र लुटपछि निर्माताका रूपमा 'नोटिस' भएका वाग्ले अहिले लुट २ रिलिजको तयारीमा छन् । सन् २०१० मा चलचित्र फस्ट लभ निर्माण गरेर यस क्षेत्रमा आएका उनका छड्के, मिसन पैसा, रेसम फिलिली, लभ सासाजस्ता चलचित्र दर्शकमाझ आइसकेका छन् ।

खासगरी चलचित्र छक्का पन्जाको सफलतापछि निर्माताहरूमा प्रतिष्ठाको प्रतिस्पर्धासँगै चुनौती पनि थपिएको छ । हुन त नेपाली चलचित्रले स्वदेशभित्र मात्रै १६ करोड रुपैयाँको व्यापार गर्न सक्छ भन्ने सायदै कसैले कल्पना गरेका थिए । दर्शक वा चलचित्रकर्मीको त कुरै नगरौं यस चलचित्र छक्का पन्जाका सारथि दीपक दीपाले समेत यति अपेक्षा गरेका थिएनन् । 'हामीले पनि यति धेरै सफल होला भन्ने साचेका थिएनौं', दीपकले धेरै पटक भनेका छन् ।

आकाश अधिकारी निर्देशित कोहिनुरको व्यापारलाई नाघ्न सक्ने अपेक्षा खासै कसैले गरेका थिएनन् । त्यसलाई छक्का पञ्जाले ब्रेक गरिदियो । निर्माता माधव वाग्ले भन्छन्, 'रेकर्ड ब्रेक हुनकै लागि बन्ने हो । अब छक्का पन्जाको रेकर्ड ब्रेक गर्नु हाम्रो चुनौती हो ।'

निर्माताबीच पावर स्थापित गर्ने प्रतिस्पर्धामा कतिपय पुराना निर्माता एवं निर्माण कम्पनी आफ्नो साख जोगाउन लागिपरेका छन् भने सम्भावना बोकेर नयाँ सोचसहित आएका निर्माताहरू नयाँ युगमा राज गर्न खोजिरहेका छन् । २०४२/४३ सालमा चलचित्र कुसुमे रुमाल निर्माण गरेर नेपाली चलचित्र उद्योगमा प्रभावशाली उपस्थिति जनाएको गोपीकृष्ण मुभिज पनि निरन्तर चलचित्र निर्माणमा लागेको छ । यस ब्यानरबाट उदितनारायण झा, राज वल्लभ, युना उप्रेतीलगायतका धेरै कलाकारले डेब्यु गरेका छन् । डेढ दर्जनभन्दा बढी चलचित्र निर्माण गरिसकेको गोपीकृष्णको ब्यानरमा अहिले चलचित्र 'पर्व' छायांकन भइरहेको छ ।

गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलको विचारमा पनि निर्माताबीच हुने स्वस्थ्य प्रतिपर्धाले चलचित्र उद्योगलाई मद्दत पुर्‍याउँछ । 'चलचित्र छक्का पञ्जा पाँच प्रतिशत दर्शकले हेर्‍यो भने त्योभन्दा धेरै प्रतिशतले हेर्ने चलचित्र बनाउने प्रयास गर्नु राम्रो हो', निकिताले भनिन, 'अरूको भन्दा राम्रो चलचित्र बनाउँछु भन्ने सोचले गुणस्तरमा सुधार ल्याउँछ ।' आफूलाई पनि बुवा (उद्धव पौडेल) ले जस्तै गोल्डेन जुल्बी मनाउने चलचित्र (कुसुमे रुमाल) बनाउनुपर्छ भन्ने चुनौती रहेको उनको भनाइ छ । नयाँ शैलीका चलचित्र आउन थाले पनि सबै सफल भएका छैनन् । मास बुझेर चलचित्र बनाउनुपर्ने भए पनि कस्तो चलचित्र बनाउने भन्ने अझै कन्फ्युज रहेको निकिताको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.