परिमार्जनसहित संविधान संशोधन नभए चुनाव हुन दिन्नौंः ठाकुर
विराटनगरः तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन र सीमाकंनको विषयमा टुंगो नलागुञ्जेल चुनावमा जान नसकिने बताएका छन्। बलजफ्ती चुनाव गराउने रणनीति सरकारले लिए त्यसलाई विफल पार्ने उनले चेतावनी दिए।
मोरङको रंगेलीमा शुक्रबार दिउँसो आयोजना गरिएको श्रद्धाञ्जली सभामा भाग लिन आउने क्रममा विराटनगर विमानस्थलमा उनले भने,‘ संविधान संशोधनलाई थाती राखेर चुनावमा जान सकिदैँन। जर्बजस्ती गर्न खोजे यस्तो चुनाव हुन दिन्नौं।’
परिमार्जनसहित संविधान संशोधन गर्नुपर्ने मागबाट आफूहरु इन्चभर पनि पछि नहटेको बताउँदै ठाकुरले चुनावको कुरा अगाडि ल्याएर संविधान संशोधनलाई ओझेलमा पर्ने प्रयास भइरहेको बताए। सदनमा टेबल गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताउँदै ठाकुरले सरकारले दोहोरो चरित्र देखाएर राजनीतिक संकट अझ गहिरिने बताए। उनले भने,‘संशोधन प्रस्ताव टेबुल पनि गराउने र यसलाई असफल बनाउने प्रयास भए त्यो हामीलाई स्वीकार हुँदैन।’
रंगेलीमा गत वर्ष आजकै दिन प्रहरीसँगको झडपमा तीनजना मधेशी मोर्चासम्बद्ध कार्यकर्ताको ज्यान गएको थियो। एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको सभा बिथोल्न आउने क्रममा प्रहरीले चलाएको गोली लागेर रंगेलीकी ५८ वर्षीया द्रोपतिदेवी चौधरी, बरडंगा–२ का ४५ वर्षीय महादेव ऋषिदेव र डायनिया–९ का २५ वर्षीय शिवु माझीको मृत्यु भएको थियो।
मृतकको सम्झनामा तमलोपाले शुक्रबार आयोजना गरेको श्रद्धाञ्जली सभामा भाग लिन ठाकुर विराटनगर आएका हुन्।