वैदेशिक हस्तक्षेपका कारण इन्धन उत्खनन् रोकियोः पाण्डे
भक्तपुरः नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् सुरु भएको पेट्रोलियम खानी विदेशीको दबाबमा निरन्तरता नपाएको बताएका छन्।
रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा पाण्डेले वर्तमान सरकारले विगतमा सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य विदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाएका हुन्। उनले यसअघि सरकारले दैलेख लगायत केही जिल्लामा पेट्रोलियम खानीको राम्रो सम्भावना रहेपनि छिमेकीको परनिर्भरताकै कारण उत्खनन् कार्य रोकिएको बताए।
सात प्रदेशमा औद्योगिक क्षेत्र विस्तारको कामसमेत वर्तमान सरकारले अघि नबढाएको गुनासो उनले गरे। उनले वर्तमान सरकारले नेपाल र नेपालीको प्रगतीपथलाई रोक्ने काम गरिरहेको टिप्पणी गरे। संविधान संशोधन नेपाललाई दुई भागमा विभाजन गर्ने र छिमेकीले आफ्नो स्वार्थ पुरा गर्ने हेतुका साथ आएकाले संशोधन देशका लागि दुर्भाग्य भएको बताए।
उनले सरकारले संसदमा टेबुल गरेको संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने बताए। उनले अलोकतान्त्रिक र इतिहासमै संसदको खिल्ली उडाउँदै प्रतिपक्षको अवरोधकाबीच संशोधन प्रस्ताव टेबुल गरिएको बताए।