आवश्यक परे संविधान संशोधन गर्नुपर्छः मन्त्री सिंह
काठमाडौंः खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन्।
मन्त्री सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन्। उनले भने,‘संविधान कार्यान्वयन नै अहिलेको आवश्यकता हो, कार्यान्वयन गर्दै जाँदा जटिलता आयो भने संशोधन गर्न सकिन्छ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री सिंहले भने,‘अन्तर्राष्ट्रियस्तरमा नेपालले खानेपानी तथा सरसफाईको बारेमा धेरै प्रतिबद्धता गरेको थियो। तर कार्यान्वयन गर्नको लागि भने मन्त्रालय नै थिएन, त्यसैले मैले नै नेपालमा पहिलो पटक मन्त्रालयको रुपमा काम सुरु गरेको हुँ, अहिले त त्यही अनुसार बजेट तर्जुमा भइसकेको छ।’
त्यस्तै तराई मधेशका २० जिल्लामा समेत तराई खानेपानी सुधार आयोजना सुरु गरिएको र त्यसअन्र्तगत १ सय ६ आयोजनाहरु कार्यान्वयनमा आउने चरणमा रहेको उनको भनाई थियो। मन्त्री सिंहले आगामी दिनमा आफूले अघि सार्ने कार्यक्रमहरुलाई जनतासमक्ष पुर्याउनको लागि मिडियासँग सहकार्य गर्दै अघि बढ्ने समेत विश्वास व्यक्त गरे।