संविधान संशोधनमा समर्थन गर्छु भनेर कबुल गरेको छैन: मन्त्री खड्का
काठमाडौंः नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन्।
उनले भने,‘प्रधानमन्त्रीले मलाई केही भन्नुभएको पनि छैन, मैलेपनि मलाई मन्त्री बनाइदिनु पर्यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाइएको हो भनेर यहाँ अनुमानका वायुपंखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन।’
रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गरे। उनले भने,‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेशलाई जोड्नुपर्छ भन्दा मेरोविरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्यो।’
उनले संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए। उनले भने,‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रविकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन्।’
उनले आफूले नेतृत्व गरेको मन्त्रालय विकासका परियोजनासँग नजोडिएको भएपनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि महत्वपूर्ण भएको बताए।