सिके राउतले ‘स्वतन्त्र मधेस राष्ट्र’को अभियान चलाउँदा सरकार किन माैन ?
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपालको राष्ट्रिय एकता र स्वाधिनताविरुद्ध खुलेआम प्रहार गर्नेहरुलाई प्रश्रय दिइरहेको आरोप लगाएको छ।
शुक्रबार बसेको संसद् बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपाध्यक्ष भीमबहादुर रावलले सिके राउतलगायतका समूहहरुले ‘स्वतन्त्र मधेस राष्ट’« भन्दै व्यापक अभियान चलाउँदा र खुला सभा गर्दा समेत सरकार रमिते बनेको आरोप लगाएका हुन्।
उनले नेपालको कानुन र कुटनीतिक मामिला विपरीतका गतिविधिहरु तिब्र हुँदा पनि सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरे। रावलले भने, ‘सिके राउतलगायतले मधेसमा स्वतन्त्र मधेस राष्ट्र भन्दै अभियान चलाइरहेका छन्। तर, सरकार उनीहरुलाई कारबाही गर्नुको साटो रमिता हेरिरहेको छ। किन कारबाही गर्न नसकेको? यसमा एमालेको घोर आपत्ति छ।’
रावलले भारतको पाटनामा नेपालको राष्ट्रियतामाथि आँच आउने गरी छलफल हुँदा समेत सरकार मौन बस्नु आपत्तिजनक भएको बताए। उनले भने, ‘पटनामा नेपालको राष्ट्रियतामाथि आँच पुर्याउने गरी छलफल भएको गोप्य सूचना मैले पाएको छु। त्यसबारे राष्ट्रपति निवासमा छलफलका क्रममा मैले प्रधानमन्त्रीलाई पनि सुनाएको थिए। तर, प्रधानमन्त्रीले त्यसलाई राजनीतिक हतकण्डाका रुपमा लिनु भयो। यसबारे प्रधानमन्त्रीले संसदलाई जानकारी दिनुपर्छ।’
रावलले उक्त घटनाबारे छलफल गर्न प्रधामन्त्रीले सुरक्षा निकायका प्रमुख र प्रतिपक्षी दलसहितको बैठकमा राख्न माग गरे।
रावलले हिजोमात्रै एउटा संचारमाध्यमलाई अन्तर्वार्ता दिँदै एकजना वरिष्ठ भारतीय नेताले ‘संविधान संशोधनका साथै मधेसीलाई भारतीय ठान्ने गरिएको, नेपालमा सबै जनतालाई न्याय हुनु पर्ने र सबैपान्तले संविधान मेरो हो भन्ने ठान्नु पर्ने’ जस्ता कुरा गरेर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेपकारी अभिव्यक्ति दिँदा सरकार मौन बसेको आरोप लगाए।
उनले तराई मधेसमा बस्ने केही अंगीकृत नेपाली नागरिक र अरु सबै नेपाली रहेको भन्दै कोही भारतीय नागरिक नभएको बताए।