ह्वाइट हाउसमा ओबामाका आठ वर्ष
‘मलाई अझै पत्यार लाग्या छैन । अचम्मै भयो योपटक, मजस्तै कालो मान्छे अमेरिकाको राष्ट्रपति हुने भएछन् ।' भदाहा डाइकले आफ्नी फुपू इफेमेलुलाई पठाएको टेक्स्ट मेसेज हो यो चिमामान्डा अदिचीको उपन्यास ‘अमेरिकाना'भित्रको ।
अमेरिकी जीवनलाई नजिकबाट नियालिरहेकी नाइजेरियाली आख्यानकार अदिचीले आठ वर्ष पहिले बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदाका क्षण र त्यसवरिपरि चलेका रंगभेदी डिस्कोर्सलाई फराकिलो क्यानभासमा पोतेकी छन् यो उपन्यासमा । इफेमेलु र उनका गोरा प्रेमी ब्लेनबीचको कटुता कम हुन्छ विजयोन्मुख ओबामाकै कारण, थोरै समयकै लागि भए पनि । निर्वाचनको अघिल्लो रात उनीहरू सँगै बिताउँछन् ।
ओबामाको विजयले कालाहरूको संसारमा सञ्चार गरेको उत्साहलाई प्रस्ट्याउने केही नमुना हुन् यी । तिनै ओबामा आफ्नो दुई राष्ट्रपतिकाल विताएर ह्वाइट हाउसबाट बिदा भए हिजैमात्र । उनको आठवर्षे शासनकाल केलाउने प्रयत्न गरिएको छ यहाँ ।
राजनीतिमा प्रवेश
‘हार्वड ल स्कुल'बाट कानुनका स्नातक हुन् ओबामा । सहपाठी मिसेल रोविन्सनसँग बिहे गरे उनले । पछि सँगै काम गरे ल फर्म खोलेर । राजनीतिप्रति त्यतिविधि आशक्त थिएनन् उनी । भाषण मीठो गर्थे । मान्छेलाई कन्भिन्स गर्नसक्ने बेजोड खुबी थियो उनमा । साथीहरूकै जोडबलमा राजनीतितिर लहसिए । इलिनोय राज्यको गभर्नरबाट उनको राजनीतिको पाइला अघि बढ्यो ।
सन् २००८ मा काला जातिको पहिलो राष्ट्रपति बन्न पुगे उनी । त्यो त्यही समय थियो जतिखेर उनले आफ्नै प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई विदेशमन्त्रीमा नियुक्त गरेका थिए । जब कि हामीकहाँ गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले आफ्नो नौमहिने कार्यकालको अधिकांश समय एमालेको सत्तोसराप गर्नमै खर्चेका थिए ।
एमालेलाई ‘डिस्ट्यान्ट थर्ड' पार्टी र माधवकुमार नेपाललाई ‘हरुवा, त्यो पनि दुई दुई निर्वाचन क्षेत्रबाट' भन्दै हियाइरहे धेरैजसो सार्वजनिक समारोहमा तिनताका । दोस्रो कार्यकालमा ओबामाले विपक्षी रिपब्लिकन पार्टीका जोन केरीलाई विदेशमन्त्री बनाए । विपक्षीलाई पनि सँगै लिएर अघि बढ्न उनले देखाएको उदारता अनुकरणीय छ । आफ्नै आसेपासेलाई छान्ने र पोस्ने बानी परेका हाम्रा नेताहरूले यस्ता सत्प्रयासबाट सिक्ने कहिले ?
विजयसँगै विवाद
केन्याली बाबु र अमेरिकी आमाका सन्तान हुन् ओबामा । केन्याबाट छात्रवृत्ति पाएर अध्ययनका लागि अमेरिका छिरेका सिनियर ओबामा (उनका बाबु) केही वर्षपछि परिवार छोडी केन्या फर्किए । बाराक भने उनकी आमासँगै रहे अमेरिकामा । गाँजा तान्ने र अड्डा जमाउने गर्थे साथीहरूसँग युवाकालको एक समय । समूहको नाम थियो ‘चुम ग्याङ' ।
उनकी आमा प्राज्ञिक रिसर्चमा इन्डोनेसिया बसिन् केही वर्ष । त्यही बेला आमासँगै इन्डोनेसिया पुगे बाराक पनि । त्यसैले त इन्डोनेसिया र केन्यासँग जोडिएका नोस्टाल्जिक याद बगे्रल्ती भेटिन्छन् उनको संस्मरण ‘डिम्स् फ्रम माई फादर'भित्र । त्यही संस्मरणमा उनले लेखेका छन्, ‘मेरा बाउ अँगारजस्तै काला थिए, आमा भने दूधजस्ती सेती ।'
बाराक हुसैन ओबामा उनको पूरा नाम । ‘नाइन इलेभेन'पछि बुस प्रशासनले चालेको ‘आतंकवादविरुद्घको लडाइँ'को ‘आफ्टरसक'मै थियो अमेरिका त्यतिखेर । कालो मान्छे अनि बीचमा मुसलमान नाम । ओसामा बिन लादेनको तीव्र खोजी जारी थियो त्यस बेला । उस्तै सुनिने उनको थर पनि संशयको घेरामा पर्यो ।
अनि त के र ? उदारताको ढोग रच्ने आडम्बरीहरूलाई औडाहा भइगयो । उनको तीनपुस्ते नालीबेलीको पछि लागे मिडियासमेत । र्याखर्याख्ती पारियो उनलाई, पारिवारिक उद्गम अनि धार्मिक आस्थालाई लिएर । आफू प्रतिबद्घ क्रिस्चियन भएको प्रमाण दिनुपर्यो उनले घरिघरि । गोरा पहिचानलाई नै सर्वोच्च ठान्ने अमेरिकी मनोवृत्तिको नांगो रूप थियो त्यो ।
नफेरिएको अमेरिका
इराक र अफगानिस्तानबाट सेना हटाउने घोषणा गरेका थिए ओबामाले पहिलो चुनावी अभियानमा । इराक मिसन पूरा भयो भनेर सेना फिर्ता गरियो पनि । फेरि आईएसआईएसको गतिविधि बढ्दै गएपछि त्यो संलग्नताले निरन्तरता पायो ।
तर अफगानिस्तानको हकमा भने अमेरिकी सेनाको उपस्थिति कायम गर्ने घोषणा गरियो, २०१५ को अन्त्यतिर आएर । दुर्भाग्य, अमेरिकाले झोसेको अस्थिरताको आगो दन्किरहेछ अझै । आधुनिक कुरुक्षेत्र बनेका छन् इराक र अफगानिस्तान लामो समयदेखि ।
सन् १९५९ मा फुल्जेन्सियो बातिस्ताको सैनिक सरकारलाई सशस्त्र युद्घबाटै विस्थापित गरिएको थियो फिडेल क्यास्ट्रोको नेतृत्वमा । क्यास्ट्रो सरकारले चलाएका कृषिसम्बन्धी व्यापक सुधार र राष्ट्रियकरणका योजनाहरूपछि अमेरिका तिलमिलायो । उसको क्युबाप्रतिको रवैया बदलिन थाल्यो ।
बातिस्ता सरकार ढलेको दुई वर्षमै क्युबामाथि नाकाबन्दी लगाएको थियो अमेरिकाले । पछि शीतयुद्घकालमा त्यो तनाव अझ उग्र बन्यो । नब्बेको दशकसम्म आइपुग्दा पनि परिदृश्य बदलिएन । बुस प्रशासन त हदै अनुदार रह्यो क्युबाप्रति । अमेरिकामा रहेका क्युबाली डिसिडेन्टहरूलाई उचालिरह्यो तत्कालीन सरकारले । क्युबा र अमेरिकाबीच लामो कटुता र तनाव कायम रहिरह्यो ।
ओसामा बिन लादेन पाकिस्तानमा मारिए । लादेनको हत्यालाई उनी महत्वपूर्ण उपलब्धि मान्छन् आफ्नो कार्यकालको । तर अमेरिकी संलग्नताले विश्व राजनीतिमा कति स्थिरता कति ल्यायो ? पेचिला प्रश्नको कठघरामा छ अमेरिका अहिले पनि ।
लगभग ६ दशकको शत्रुताको अन्त्य ओबामाकालमा आएर सम्भव भयो । क्यानडा सरकार र पोप फ्रान्सिसको विशेष भूमिका थियो मध्यस्तकर्ताका रूपमा । एकातिर ओबामाले सत्ताको बागडोर सम्हाल्नु । अर्कोतर्फ फिडेल क्यास्ट्रोले बुढ्यौली र बिग्रँदो स्वास्थ्यका कारण भाइ राउललाई सत्ता सुम्पनु । त्यसपछि क्युबासँगको गतिरोधमा ब्रेक थ्रु नै भयो । जोहानसबर्गमा नेल्सन मन्डेलाको अन्त्येष्टिमा सामेल हुँदा राउल क्यास्ट्रोसँग ओबामाको जम्काभेट भएको थियो ।
उनीहरूबीचको ह्यान्डसेकले निकै चर्चा पाएको थियो त्यतिखेर । त्यही ह्यान्डसेकपछि दुई देशबीचको सम्बन्ध सुधारसम्म आइपुग्यो । दुई देशबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित भयो । राजदूतावास फेरि खुले । क्युबालाई आतंकारीको सूचीबाट हटायो अमेरिकाले । नाकाबन्दी खुकुलो भयो । गत वर्षको मार्चमा ओबामाले क्युबाको भ्रमणसमेत गरे ।
उत्तर कोरियासँगै इरानलाई पनि ‘एक्सिस अव इभिल' भनेका थिए ओबामाका पूर्ववर्ती राष्ट्रपति जर्ज डब्ल्यू बुसले । त्यही इरानसँग ओबामा कार्यकालमा सम्बन्ध सुधारोन्मुख देखियो । पारमाणविक भट्टीलाई नियन्त्रण र व्यवस्थित गर्ने हेतुले द्विपक्षीय वार्ताको तहमा उक्लियो सम्बन्ध । लामो डेडलकको पटाक्षेपसम्म गर्न सकेको क्रेडिट जान्छ ओबामालाई ।
तर, इजरायल र प्यालेस्टाइन द्वन्द्वमा उनको भूमिका विवादास्पद देखियो । इजरायल र प्यालेस्टाइनको सहअस्तित्वलाई स्वीकार्ने ‘टु स्टेट सोलुसन'का पक्षधर देखिन्थे उनी सुरुमा । प्यालेस्टाइन भूमिमा इजरायली सरकारले गरेको बस्ती विस्तारको विरोध पनि गर्यो उनको सरकारले ।
सरकारका तर्फबाट जारी विज्ञप्तिमा भनिएको थियो, ‘बस्ती विस्तारसँगै नेतान्यायु सरकारले आफ्नो देशलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याइरहेको छ ।' तिनै ओबामाले पछि प्यालेस्टाइनविरुद्घको इजरायली आक्रमणको समर्थन गरे, इजरायलले आत्मरक्षाका लागि त्यो कारबाही गर्न पाउने जिकिर गरे । अन्ततः अघिल्ला राष्ट्रपतिहरूझैं उनी पनि इजरायली नीतिको पक्षधर नै बने । इजरायलको बस्ती विस्तार योजनालाई यथेष्ट बल मिल्यो यसबाट ।
टर्कीको भौगोलिक अवस्थितिले विश्व शक्ति सन्तुलनमा विशेष भूमिका खेल्छ । अमेरिकाको सैन्य आधारभूमि पनि हो टर्की । आईएसआईएस विरुद्धको कारबाहीमा सँगै रहेका टर्की र अमेरिकाबीचको सम्बन्ध गत वर्ष राष्ट्रपति एर्दोगानविरुद्धको आन्तरिक सैन्य कुपछि बिग्रियो । अहिले उनी विपक्षीलाई सखाप पार्ने अभियानमा निर्मम ढंगले लागेका छन् । सैन्य कुका मास्टरमाइन्ड ठानिन्छन् फेतुल्ला गुलेन ।
अमेरिकामा लुकिबसेका गुलेनलाई अमेरिकी संरक्षण प्राप्त भइरहेको टर्कीको आरोप छ । उनलाई सुपुर्दगी गर्न माग गरिरहेछन् एर्दौगान । अमेरिकासँग सम्बन्ध चिसिँदै जाँदा टर्की र रसिया थोरै नजिकिँदै छन् पछिल्लो समय । प्रकारान्तरले सिरियाको द्वन्द्वमा अमेरिकाको नियन्त्रण कम भएझैं देखिन्छ अहिले । गृहयुद्ध, आईएसआईएसको बर्बर आक्रमण र बाह्य शक्तिराष्ट्रको क्रीडास्थलले आहत छ सिरिया । सिरियाको संकट ज्यूँका त्यूँ रहनुले ओबामा प्रशासनको असफलता उजागर हुन्छ ।
अमेरिकीमाझ ‘पब्लिसिटी रेटिङ' उकास्न युद्घको गजब भूमिका छ । अनावश्यक परिस्थितिमा पनि आफ्नो गिर्दो साख जोगाउन युद्धको घोषणा गर्ने इतिहास छ त्यहाँ । विगतदेखि नै अधिकांश राष्ट्रपति युद्धसँग जोडिएका छन् । भियतनाम युद्ध अमेरिकाले गरेको त्यस्तै एउटा भूल थियो । क्यारेबियन देश जमैकाको अस्थिरतामा पनि सीआईएको संलग्नता लामै रह्यो ।
पेरु, अर्जेटिना, निकारागुवा, चिलीजस्ता ल्याटिन अमेरिकी देशहरूको अस्थिरतामा अमेरिकी हस्तक्षेपको नालीबेली जगजाहेर छ । इराक युद्ध त्यस्तै अर्को शृंखला थियो । खस्किँदो लोकप्रियतामाझ युद्घले परिस्थिति उल्ट्याइदिन्छ युद्धउन्मादी अमेरिकीहरूमाझ । घोषित युद्ध नलडे पनि ओबामा कालमा बुस प्रशासनको ‘वार अगेन्स्ट टेरोरिज्म'ले निरन्तरता पायो । ओसामा बिन लादेन पाकिस्तानमा मारिए ।
लादेनको हत्यालाई उनी महत्वपूर्ण उपलब्धि मान्छन् आफ्नो कार्यकालको । तर, अमेरिकी संलग्नताले विश्व राजनीतिमा कति स्थिरता ल्यायो ? पेचिला प्रश्नको कठघरामा छ अमेरिका अहिले पनि । आन्तरिक द्वन्द्वमा फसाइएका अफगानिस्तान, इराक, लिबिया यसैका पछिल्ला उदाहरण हुन् । समग्रमा अमेरिकाको विदेशनीतिमा सारमा कुनै पनि परिवर्तन देखा परेन ओबामा कालमा पनि ।
सर्वसाधारणलाई राहत
सर्वसाधारणको स्वास्थ्य सुविधामा पहुँच र स्वास्थ्य बिमा ओबामाका स्मरणीय देन हुन् । ‘ओबामाकेयर' नामले चर्चित यो कदमले दुई करोड अमेरिकी लाभान्वित भएको बताइन्छ । आर्थिक मन्दीबीच सत्तारूढ भएका ओबामा रोजगारी सिर्जनाको क्षेत्रमा पनि महङवपूर्ण प्रगति भएको दाबी गर्छन् । सेनामा समलिंगीहरूले आफ्नो लैंगिक पहिचान गोप्य राख्ने अधिकारबारेको ‘डोन्ट आस्क, डोन्ट टेल' कानुन धेरै प्रयासपछि पारित भयो ।
महिला र पुरुषलाई समान तलबमानको कानुन पारित हुनु पनि उनको शासनकालको उपलब्धि मानिन्छ । यो विषय उनको चुनावी मुद्दा नै बनेको थियो । लिली लेडबेटर भन्ने महिलाले आफू रिटायर्ड हुने बेलामात्र चाल पाइछन्- आफ्ना पुरुष सहकर्मीको तुलनामा उनलाई तलब कम दिइएको वास्तविकता । त्यसपछि यस विषयमा लगातार उनले आवाज उठाउँदै र आन्दोलन गर्दै आइन् । ओबामा उनको यो कदमबाट निकै उत्साहित रहेछन् । आफू राष्ट्रपति बनेमा तलबमान समान गराउने कानुन पारित गर्ने उनको वाचा रहेछ । यही वाचा पूरा गरेर कामकाजी महिलाको सम्मान गरे उनले ।
सन्तुलित व्यक्तित्व
परिवारलाई यथेष्ट समय दिन्छन् ओबामा । खुला पश्चिमी समाजमा धेरै राजनीतिज्ञ यौन प्रकरणमा मुछिएका छन् । परस्त्रीसँगको सम्बन्धले कैयौंको राजनीतिक जीवन धरापमा परेको छ । तर, यस मामलामा पूरै ‘क्लिन' छन् उनी । वकालती कामदेखि नै उनकी मेन्टर रहेकी पत्नी मिसेल पारिवारिक व्यवस्थापनमा सधैं समर्पित छन् ।
उनै मिसेलको विशेष योगदान छ बाराकको व्यक्तित्वमा केही उचाइ थप्न । महत्वपूर्ण समारोहहरूमा बाराकसँगै मिसेल सहभागी भइन् प्रायः । सार्वजनिक रूपमै पत्नीको बौद्धिकता, निर्भीकता अनि ग्ल्यामरको प्रशंसा गर्छन् उनी पनि । छोरीहरू माल्या र सासालाई ह्वाइट हाउसमै हुर्काए ओबामा दम्पतीले— आमनागरिकझैं गरी । व्यस्तताबीच पनि उदाहरणीय अभिभावक बन्ने प्रयत्न गरे सधैं ।
विविध भूगोल र संस्कृतिमा हुर्केका बाराक सहिष्णु स्वभावका देखिए । आफ्ना भाषण र अभिव्यक्तिमा महात्मा गान्धी, नेल्सन मन्डेला, मार्टिन लुथर किङ जुनियरजस्ता ऐतिहासिक धरोहरको बारम्बार नाम लिन्छन् उनी । हार्पर ली, टोनी मरिसन, ता नाहिसी कोटस् आदि लेखकका प्रसंग पनि जोड्छन् आफ्नो दृष्टिकोण प्रस्ट्याउन । उनका संस्मरण ‘अडासिटी अफ होप' र ‘ड्रिम्स फ्रम माइ फादर'मा पनि साहित्य, कला र गहिरो जीवनबोधका मननीय सन्दर्भहरू भेटिन्छन् नियमित अन्तरालमा ।
राष्ट्रपति चुनिएलगत्तै २००९ को नोबेल शान्ति पुरस्कारसमेत पाए उनले, विश्वशान्तिको दिशामा उल्लेख्य योगदानबिना नै । ह्वाइट हाउसमा प्रवेश गर्ने पहिलो कालो वर्णका व्यक्ति भएकै कारण उनी पुरस्कृत हुनुले पुरस्कारको उपादेयता पुष्टि हुँदैन । त्यसैले त विवादास्पद बन्यो नोबेल कमिटी ओबामाको चयनमा ।
अधुरा योजना
क्युबाको भूभागमा पर्ने ग्वान्टानामो वेमाथि अमेरिकी नियन्त्रण कायम छ । नाइन इलेभेनपछि बुस प्रशासनद्वारा त्यहाँ अमेरिकी सैन्य टुकडी राखिएको छ । अमेरिकाको सुरक्षामाथि सबैभन्दा खतरा मानिएका कैदीहरूलाई राख्ने क्याम्प छ नजिकै । सन्दिग्ध आतंककारीको आरोपमा थुनिएकामध्ये कैयौं निर्दोष नागरिक छन् त्यहाँ ।
‘ग्वान्टानामो डायरी' शीर्षकको संस्मरण लेख्ने मौरिससका नागरिक मोहम्मदेउ औल्द स्लाही तिनै निर्दोषमध्येका एक हुन् । निर्मम यातना र चरम दुव्र्यवहारको सिकार बनेका छन् उनीजस्तै धेरै । जीवन यातनाले थिलथिलो बनेको छ उनीहरूको तर मुक्ति मिलेको छैन । ओबामाको चुनावी नारामध्ये ग्वान्टानामो बन्दीगृह सधैंका लागि बन्द गर्ने प्रमुख थियो ।
रिपब्लिकनको पकड बढेपछि राष्ट्रिय सुरक्षामाथि खतरा हुने भन्दै ओबामाको योजनाको विपक्षमा उभियो अमेरिकी संसद् । आफ्नो चुनावी वाचा अधुरै छोडी जाँदैछन् ओबामा । अनाहकमा थुनिएका थुप्रै बन्दीको स्वतन्त्रता अरू टाढा धकेलिने भो फेरि ।
बन्दुक नियन्त्रणको दिशामा ओबामाले केही गर्न खोजे तर साथ पाएनन् । ‘बन्दुक राख्न र बोक्न पाउने अमेरिकी जनताको अधिकार कसैले खोस्न सक्दैन' ‘गन कन्ट्रोल याक्ट'को दोस्रो संशोधनमा यस्तो उल्लेख छ । नयाँ कानुनमार्फत बन्दुकको दुरुपयोग रोक्न कडाइका साथ प्रस्तुत हुने उनको चाहना पनि अधुरै रह्यो । यसैको फाइदा उठाइरहेछ एउटा अपराधी वर्ग । त्यसैले त अमेरिकी समाजमा अन्धाधुन्ध गोली हान्ने घटनाहरू बाक्लै सुनिन्छन् आजभोलि । कलेज अनि सार्वजनिक ठाउँहरूमा मारिँदैछन् निर्दोषहरू ।
ओबामा लेगेसी
‘चेन्ज वी विलिभ इन' अर्थात् ‘परिवर्तनमा हामी विश्वास गर्छौं ।' यही क्याचफ्रेज गुन्जिन्थ्यो उनको चुनावी अभियानमा । रिपब्लिकनबाट सत्ता डेमोक्रेटको कित्तामा त ल्याए ओबामाले । तर उनले दावा गरेको परिवर्तन कति देखियो, समीक्षा हुँदै गर्ला । ‘यस् वी क्यान' भन्दै चुनावी र्यालीमा गर्जिने ओबामाले इतिहास त रचे काला जातिबाट अमेरिकाको पहिलो राष्ट्रपति बनेर । तर इतिहास रच्नु र नमेटिने छाप छोड्नु अलग विषय हुन् ।
कालाहरूप्रति राज्यको दमन ज्यादै बढ्यो उनको शासनकालमा । ‘ब्ल्याक लाइभ्स् म्याटर' समूहमा आबद्ध भए कालाहरू आत्मरक्षार्थ । लेखक ता नाहिसी कोट्सले आफ्नो संस्मरण ‘विटविन द वल्र्ड एन्ड मी'मा ओबामा कार्यकालमा कालाहरूप्रति राज्यले गरेको बढ्दो ज्यादतीको मर्मस्पर्शी चर्चा गरेका छन् । अमेरिकी सपना र सिभिल राइट्सको रटान गर्ने ओबामाको निष्क्रियताप्रति तीव्र असन्तोष पोखेका छन् उनले ।
अर्कोतर्फ नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा सरकारका धेरै निर्णय उल्टाउने सम्भावना कायमै छ । ओबामा केयर, क्युबासँगको सम्बन्ध सुधारजस्ता महत्वपूर्ण कदमहरू उल्टिएमा आन्तरिक र बाह्य अस्थिरता बढ्ने निश्चित छ । यिनै सन्दर्भहरूको वरिपरि ओबामाको लेगेसी खोजिनेछ आउँदा दिनहरूमा ।