मार्टिन लुथर किङ र समानता
अमेरिकामा हरेक वर्ष फेब्रुअरी महिनालाई यहाँका काला जातिका मानिसले आफ्नो समुदायले विभिन्न कालखण्डमा प्राप्त गरेका उपलब्धि र ती उपलब्धिहरू प्राप्तिका लागि योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूको सम्मानमा ‘ब्ल्याक हिस्ट्री महिना'का रूपमा मनाउने गर्छन् । विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूमध्ये सबैभन्दा लोकप्रिय हुन् मार्टिन लुथर किङ जुनियर ।
मार्टिन लुथर किङ अमेरिकी इतिहासले लादेको अन्यायविरुद्ध लड्ने ऐतिहासिक पात्र तथा काला जातिका नक्षत्र हुन् । जसले अफ्रिकन अमेरिकनमाथि हुने गरेको सामाजिक अन्याय, विभेद र अत्याचारका विरुद्ध अहिंसात्मक आन्दोलन गरे । जनवरी १५, १९२९ मा एटलान्टाको जर्जिया भन्ने ठाउँमा जन्मिएका मार्टिन लुथर सुरुमा चिकित्साशास्त्र र कानुनका विद्यार्थी थिए । पछि बोस्टन युनिभर्सिटीबाट विद्यावारिधि गरे । उनी चर्चका पास्टर बने । नागरिक अगुवाको रूपमा काम गरे ।
१ जनवरी, १८६३ मा दासप्रथाको औपचारिक अन्त्य भयो तर त्यसको एक शताब्दीसम्म पनि काला जातिहरूप्रति विभेदकारी नीतिहरू विद्यमान थिए । काला जातिका विद्यार्थी पढ्ने स्कुल अलग हुन्थ्यो, बसको अगाडिका कम्तीमा पनि १० सिट गोराहरूको लागि आरक्षित हुन्थ्यो, काला जातिहरू बसको पछाडिको ढोकाबाट र गोराहरू अगाडिको ढोकाबाट छिर्नुपर्ने अनि गोराहरू बसमा पस्दा सिट नभएमा कालाहरूले सिट छोडिदिनुपर्ने कुसंस्कार थिए ।
डिसेम्बर १, १९५५ मा अलावामा राज्यको मोन्टगोमरिमा रोजा पार्क नाम गरेकी अश्वेत महिला कामबाट घर फर्कने क्रममा बसको बीच भागमा बसेकी थिइन, उनको सिट गोराहरूका निमित्त आरक्षित गरिएको १० सिटभन्दा ठीक पछाडि थियो । त्यति नै बेला एकजना गोरा जातिका मानिस बसमा प्रवेश गर्दा बसका चालकले चारजना काला जातिका यात्रुलाई पछाडि जान आग्रह गरे । रोजा पार्कसँगै बसेका तीन जना कालाजातिका यात्रु पछाडि गए तर रोजा जान मानिनन् । यही निहुँमा उनलाई पक्राउ गरियो र ल अफ सेग्रिगेसन उल्लंघन गरेको आरोपमा रोजालाई दोषी ठहर गरियो । यस घटनाले कालाहरूको बीचमा एउटा तरंग पैदा गरायो ।
करिब ७५ प्रतिशत काला जातिले यात्रा गर्ने मोन्टगोमरी सिटी बसलाई सम्पूर्ण कालाहरूले बहिष्कार गरे र स्थानीय कार्यकर्ता र सर्वसाधारण मिलेर बस बहिष्कार गर्ने संगठित समूह बनाए । त्यसलाई नेतृत्व गर्न मार्टिन लुथरलाई चयन गरे । उनको नेतृत्वमा तीन सय ८१ दिनसम्म बस बहिष्कार गरियो र अन्त्यमा अमेरिकी सर्वोच्च अदालतले बसमा काला र गोरा जातिलाई अलग सिट राखिने प्रावधानलाई असंवैधानिक ठहर गर्यो ।
बस बहिष्कारको उक्त घटना नै मार्टिन लुथर किङ र कालाजातिका मानिसका लागि परिवर्तनको कोसेढुंगा सावित भयो । मार्टिन लुथरलाई नागरिक स्वतन्त्रता र समानताका पक्षमा लड्ने अहिंसात्मक आन्दोलनका महान् अभियान्त बन्ने जग यही घटनाले स्थापित गर्यो । काला जातिका लागि समानताको हकका लागि लड्ने आधार पनि यहीँबाट खडा भयो ।
मार्टिन लुथरले साउदर्न ख्रिष्टियन लिडरसिप कन्फरेन्स (एससीएलसी) संस्था गठन गरे । लुथरले एससीएलसीको नेतृत्व गरी समकालीन नागरिक अगुवाहरूसँग मिलेर मोर्चा कसे । उक्त अहिंसात्मक आन्दोलनलाई बृहत् बनाउँदै देशव्यापी रूपमा अभियान चलाए । २८ अगस्ट १९६४ मा राजधानी वासिङ्टन डीसीमा झन्डै तीन लाख जति मानिसको उपस्थितिमा शान्तिपूर्ण र्यालीको आयोजना गरियो ।
राजनीतिक दलहरू, ती दलका नेताहरू, साम्प्रदायिक समूहहरू तथा क्षेत्रीयताका पक्षधरका बीचमा फराकिला दरारहरू यथावत् छन् । यसले देशलाई झन् द्वन्द्वउन्मुख बनाउँदैछ । हाम्रो समाजमा प्रेमलाई एकातिर पन्छाएर घृणालाई बढी महत्व दिइएको अवस्था छ । एकआपसमा प्रतिशोध र बदलाको भावनाले ठाउँ पाएको छ ।
उक्त र्यालीलाई सम्बोधन गर्ने क्रममा ‘आई ह्याब ए ड्रिम' नामक उनको भाषणले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय मात्र बनाएन । त्यो वर्षको टाइम म्यागेजिनको वर्ष पुरुष तथा सबैभन्दा कम उमेरका नोबेल शान्ति पुरस्कारको विजेता पनि बनायो ।
‘मसँग एउटा सपना छ कि एक दिन यो देश उठ्नेछ र साँचो अर्थमा आफ्नो धर्ममा खडा हुनेछ । सबै मानिस समान रूपले सृष्टि गरिएका हुन् भन्ने सत्यतालाई पुष्टि गर्न हामीहरू स्वप्रमाणका रूपमा प्रस्तुत हुनेछौं ।
मसँग एउटा सपना छ कि एक दिन जर्जियाको रेड हिलका भूतपूर्व दास र दास मालिकका छोराहरू भ्रातृत्वको एउटै टेबलमा बस्नेछन् । एक दिन मेरा साना चारजना छोराछोरीहरू, जो यो देशमा बस्छन्, उनीहरूको छालाको रङले होइन तर उनीहरूको चारित्रिक गुणको आधारमा न्याय गरिनेछ', जस्ता पंक्तिहरू उनका भाषणका मार्मिक अंशहरू थिए ।
काला जातिको समानता र स्तन्त्रताका लागि अनवरत लडिरहेका साहसी योद्धाको सन् १९६८, अप्रिल ४ का दिन गोली हानी हत्या गरियो । उनको हत्या भए पनि उनले गरेको योगदान र प्रेरणदायी भनाइ भने विश्वभरि रहेका शोषित, पीडित र पछाडि पारिएकाहरूका लागि सधैं प्रेरणका स्रोत बनेका छन् ।
उनको योगदानको कदर गर्दै सन् १९८३ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले एक विधेयक पास गरी मार्टिन लुथरको सम्मानमा राष्ट्रिय बिदा दिने घोषणा गरे । सन् १९८६ बाट अमेरिकामा जनवरी महिनाको तेस्रो सोमबारलाई मार्टिन लुथर किङ जुनियर स्मृति दिवसको रूपमा मनाइन्छ ।
‘प्रेम त्यस्तो शक्ति हो जसले शत्रुलाई मित्रमा बदल्न सक्छ, हामीहरू इतिहास बनाउनेहरू होइनौं तर इतिहासले हामीलाई बनाएको हो, म प्रेमसँग टाँसिएर रहन चाहन्छु किनकि घृणा बोकेर हिँडन गाह्रो हुन्छ, अँध्यारोले अँध्यारोलाई धपाउन सक्तैन तर उज्यालोले सक्छ, त्यसैगरी घृणाले घृणालाई हटाउन सक्तैन प्रेमले सक्तछ, अन्तमा, हामीहरू शत्रुहरूका शब्दलाई बिर्सनेछौं तर मित्रका मौनतालाई सम्झनेछौं', आदि उनका प्रेरक भनाइहरू हुन् ।
गत हप्ता राष्ट्रपति बाराक ओबामाले दुई कार्यकाल सकेर बिदाइ भाषण दिने क्रममा भनेका थिए, ‘मेरो निर्वाचनपछि पोस्ट रेसियल अमेरिकाको बारेमा कुरा भए तर सोचेजस्तो यथार्थमा त्यस्तो भएन । रंगभेद हाम्रो समाजमा विभाजनको एउटा जबर्जस्त हिस्सा बनेको छ तै पनि विगत २०, ३० वर्ष अघिभन्दा हालको स्थिति सुधारोन्मुख छ । विभेदको अन्त्य कानुनी व्यवस्थाले मात्र हुँदैन, हृदयहरू परिवर्तन हुन जरुरी छ ।'
ओबामाले भने झै अमेरिकी समाज केही हदसम्म विभाजित छ । भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा र त्यसपछि स्पष्ट रूपमा सतहमा देखिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टाइम्स म्यागेजिनले वर्ष पुरुष घोषणा गर्दै विभाजित अमेरिकाका राष्ट्रपति भनेको छ । राष्ट्रपतीय निर्वाचनका क्रममा पनि काला र अन्य अल्पसंख्यक डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनका पक्षमा ज्यादा थिए भने गोराहरू रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षमा बढी देखिन्थे ।
नवनिर्वाचित राष्ट्रपतिलाई रंगभेदीको आरोप लगाइन्छ तर उक्त कुराको खण्डन गर्दै चुनावी आमसभामा काला जातका समुदायलाई सम्बोधन गर्दै अधिकांश काला जातका मानिसहरू गरिबीमा रहेका, उनीहरूका बालबालिका राम्रो स्कुल जान नपाएका र उनीहरू बीचमा बढ्दो बेरोजगारी समस्या रहेको उल्लेख गर्दै आफूले जितेमा ती समस्याको हल गर्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचनपश्चातको विजयी भाषणमा पनि आफ्नो कार्यकालमा कसैले पनि आफू पछाडि छोडिएको महसुस गर्न नपर्ने वचनबद्धता उनले व्यक्त गरेका छन् ।
अमेरिकामा काला समुदायको हकहितका लागि भनेर पछिल्लो पटक ब्ल्याक लाइफ म्यार्टस अर्थात् कालाहरूको जिन्दगीको पनि महत्व छ भन्ने अभियान चलेको छ । सन् २०१२ फेब्रुअरी २६ तारिखका दिन फ्लोरिडा राज्यको मायमी गार्डेनमा ट्रेभन मार्टिन नाम गरेका १७ वर्षीय किशोर एउटा किराना पसलबाट फर्कने क्रममा उनको शंकास्पद व्यवहारका कारण छिमेकी जर्ज जिमरम्यानसँग भनाभन भयो ।
जिमरम्यानलले गोली चलाउँदा उक्त किशोरको मृत्यु भएको थियो । अदालतले जिमरम्यानले मार्टिनको हत्या नियतवशले गरेको हो भन्ने यथेष्ट प्रमाण नभेटिएकाले सेकेन्ड डिग्रीको मर्डरका आधारमा रिहाइ गरेपछि उक्त फैसलाका विरुद्धमा अनलाइनमार्फत सुरु भएको यो अभियानले पछि व्यापकरूप लियो ।
सन २०१४ को अगस्ट महिनामा मिजौरी राज्यको फर्गुसनमा स्थानीय किराना पसलमा चोरी भएको घटनामा सोधपुछ गर्ने क्रममा प्रहरीको गोली चलाउँदा १८ वर्षीय किशोर माइकल ब्राउनको मृत्यु भएपश्चात प्रहरी प्रशासनको विरुद्धमा व्यापक प्रदर्शनहरू भए । प्रदर्शनले उग्ररूप लियो ।
सन् २०१५ को अप्रिल महिनामा मेरिल्यान्ड राज्यको बाल्टिमोरमा फ्रडी कार्लास ग्रे नाम गरेका २५ वर्षीय अफ्रिकन अमेरिकन जवानलाई गैरकानुनी रूपमा स्वचालित धारिलो चक्कु रहेको आशंकामा पक्राउ गरियो । एक सातापश्चात हिरासतमा उनको शंकास्पद मृत्यु भएपछि प्रहरी प्रशासनका विरुद्धमा व्यापक विरोध भयो ।
बाल्टिमोर घटनापछि ब्ल्याक लाइभ्स म्यटर्सले अन्तर्राष्ट्रिय रूप लिँदै गएको छ । सन् २०१५ को जुलाई महिनामा क्यानाडामा, २०१६ को जुलाईमा अस्ट्रेलियामा र २०१६ कै अगस्ट महिनामा बेलायतमा प्रदर्शनहरू भएका थिए ।
काला जातिको आधारभूत अधिकार र पहिचानका लागि चलाइएको अभियान आलोचित पनि बन्दै गइरहेको छ । यसलाई काउन्टर दिन अल लाइभ्स म्यार्टस भन्ने अभियान पनि सुरु भएको छ । कतिपयले हाल चलाइएको यो अभियान ५० र ६० का दशकमा मार्टिन लुथरले चलाएको नागरिक अधिकारको अभियानको अहिंसावादी धारभन्दा टाढा मोडिएको भन्ने गरेका छन् ।
मार्टिन लुथरले समाजमा विद्यमान विभेदको विरुद्धमा आवाज उठाउँदै, कालाहरूको समानता र स्वतन्त्रताका लागि अहिंसात्मक अभियान चलाए । बाइबलीय शिक्षालाई मार्गनिर्देशनका रूपमा लिएका उनले प्रेमलाई बाँड्न सिके र सकारात्मक सपना देखे । फलस्वरूप कुनै समय दास रहेका अफ्रिकन अमेरिकन मूलको प्रतिनिधित्व गर्दै बाराक ओबामा अमेरिकाको राष्ट्रपति भए ।
एक्काइसौं शताब्दीको वर्तमान विश्वमा अझै पनि विभिन्न ठाउँमा जात, धर्म, लिंग, रंग तथा वर्गका आधारमा विभिन्न विभेद विद्यमान छन् । विशेषगरी शक्ति, सामथ्र्य र बहुसंख्याको आधारमा कमजोर, पीडित र अल्पसंख्यकलाई दमन, शोषण गर्ने, त्यसविरुद्ध आवाज उठाउँदा उनीहरूमाथि दमन गर्नाले समाजमा द्वन्द्व सिर्जना हुने गरेको छ ।
हाम्रो देशमा सदियौंदेखि विद्यमान जातीय, वर्गीय, लिंगीय, क्षेत्रीय तथा धार्मिक विभेद छन् । जसका कारण बिभिन्न समयमा शान्तिपूर्ण आन्दोलन तथा सशस्त्र द्वन्द्व भए । त्यसको व्यवस्थापनमा लामो समय र ठूलो धनराशि खर्च भएको छ । मुलुकमा नयाँ संविधान जारी भएको छ, तैपनि देश झन् अशान्त बन्दै गइरहेको छ । पहिचान र अधिकारका लागि विभिन्न समुदायका बीच अन्तरसंघर्ष र अन्तरविरोध जारी छ ।
राजनीतिक दलहरू, ती दलका नेताहरू, साम्प्रदायिक समूहहरू तथा क्षेत्रीयताका पक्षधरका बीचमा फराकिला दरारहरू यथावत् छन् । यसले देशलाई झन् द्वन्द्वउन्मुख बनाउँदैछ । हाम्रो समाजमा प्रेमलाई एकातिर पन्छाएर घृणालाई बढी महत्व दिइएको अवस्था छ । एकआपसमा प्रतिशोध र बदलाको भावनाले ठाउँ पाएको छ । मार्टिन लुथरको महानता भनेको उनले कालाहरूको पक्षमा बोल्दा गोरालाई घृणा गरेनन् ।