प्रिन्ट मेकिङका एक्ला यात्री
होचो कद, मुसुक्क हाँसेरमात्र बोल्ने स्वभावका कविराज लामा नेपालका एकमात्र प्रिन्ट मेकिङ आर्टिस्ट हुन् । चित्रकलाको बेग्लै विधा प्रिन्ट मेकिङ सिर्जनशीलतासँगै बल पनि आवश्यक पर्ने विधा हो । अलिक पुरानो मानिए पनि यसको महत्व उत्तिकै कायम छ ।
चीनबाट सुरु भएको यो विधा युरोपेली पुनजार्गरणसँगै संसारभर स्थापित भएको हो । अल्बर्ट डुरेर, मार्टिन स्कोन्गर, रेम्ब्रान्ट, गोया, पाब्लो पिकासोलगायतका चर्चित कलाकार यो विधाका हस्ती मानिन्छन् । तर नेपालमा भने यो विधा स्थापित हुन अझै सकेको छैन । लामा त्यसैका लागि प्रयत्नशील छन् ।
काभ्रेपलाञ्चोकको तिमालमा जन्मिएका लामाको कलाकारिता यात्रा भने काठमाडौंबाट सुरु भएको हो । सिद्धार्थ वनस्थलीमा पढ्ने अवसर पाएका लामा पढाइमा राम्रो नभए पनि चित्रकलाले नै चर्चित थिए । चित्रकला प्रतियोगितामा पुरस्कृत भएर उनले आफ्नो नाम राखेनन् मात्र जीवनको आफ्नै बाटो पहिल्याए पनि । एसएलसी सकेर ललितकला कलेजमा इन्टरमिडिएटमा भर्ना भए चित्रकला पढ्नकै लागि । तर त्यहाँ उनलाई निराशा सिवाय केही हात परेन ।
पेन्टिङ अभ्यास गराउँलान् भनेर पढ्न गएका लामा त्यहाँको माहोलबाट निराश भए । सीप नलागेपछि व्यवस्थापन संकायमा प्लस टु भर्ना भए । तर चित्रकला अभ्यास छोडेनन् । बौद्ध संस्कारमा हुर्किएकाले र परम्परामै चित्रकला भएकाले पनि उनलाई सजिलो भयो ।
प्लस टु पछि भने उनले रुचिअनुसारकै पढाइ गरे । केयूमा स्नातक तहको अध्ययनका लागि भर्ना भए । सन् २००९ मा ललितकलामा स्नातक सके । मुख्य विषय पेन्टिङ थियो । एउटा सेमेस्टरमा प्रिन्ट पनि पढाइ हुन्थ्यो । स्नातक सकेपछि एकल चित्रकला प्रदर्शनी गरे । स्नातकोत्तरमा राम्रो अध्ययन गर्ने इच्छा थियो । त्यसैले हानिए जापान ।
जापान सजिलो थिएन । यहाँ जापानी भाषा सामान्य सिकेका थिए । त्यहाँ पुगेर दुई वर्ष सिके । पहिलो वर्षको लागि बुवाले खर्च पठाइदिए । पछि आफैंले काम खोजे । भाषा सिकेपछि विश्वविद्यालयमा अप्लाई गरे । प्रोफेसर प्रिन्ट विधाका थिए । त्यसैले पेन्टिङ पढ्न गएका कविराजले पनि प्रिन्ट पढ्न थाले । स्नातकमा एक सेमेस्टरमात्र पढेको प्रिन्ट उनको लागि धेरै भेउ पाएको विषय थिएन । सुरुको ६ महिना त विधा बुझ्नै लाग्यो । जति काम गरे पनि बिग्रिन्थ्यो । धेरै निराश भएका थिए त्यतिबेला । प्रोफेसरलाई अनुरोध गरेर उनको एसिस्टेन्टसँग काम गर्न गए ।
अर्कोतर्फ पैसाको पनि उस्तै समस्या थियो । त्यसैले पढाइसँगै काम पनि गर्थे । अलिअलि कमाएको पैसा धेरैजसो किताब र प्रदर्शनीमा खर्च गर्थे । काम, युनिभर्सिटी दुईतिर समय व्यवस्थापन गर्न धौ धौ हुन्थ्यो । उनको बाध्यता बुझेर प्रोफेसरले टिचिङ असिस्टेन्टको काम युनिभर्सिटीमै मिलाइदिए । मेइसेई विश्वविद्यालयको कला डिजाइन विभागमा काम गर्ने अवसर पाए । यो अवसरले उनलाई धेरै सिकायो ।
प्रिन्ट मेकिङमा विशेषज्ञता हासिल गरेपछि उनी नेपाल नै फर्किए ।
सुविधासम्पन्न स्टुडियोमा बसेर काम गर्ने बानी भएका कविराज यहाँको माहोल देखेर उतिसारो सन्तुष्ट छैनन् । उनका अनुसार, प्रिन्ट मेकिङका लागि आवश्यक स्रोतसाधन यहाँ पर्याप्त छैनन् । आफूसँग भएका सामग्री कागज, काठको ब्लक र केही आशा बोकेर आएका थिए उनी । अर्कोतर्फ बजारले अझै यसको महत्व बुझिसकेको छैन । यहाँ प्रिन्टको बजार शून्य बराबर नै छ । यस्तो बजारमा आशाको दियो जगाइराख्न निकै मुस्किल भइरहेको छ कविराजलाई ।
त्यसो त आशाको धिपधिपेबत्ती बालिरहने उत्साह दिलाउने अवसर नआएका पनि होइनन् । जापानबाट फर्किएको केही समयपछि ‘सिद्धार्थ आर्ट ग्यालरी'ले उनको एकल कला प्रदर्शनी आयोजना गर्यो ।
त्यसपछि चीनमा प्रदर्शनीको अवसर मिल्यो । जहाँ उनको एउटै चित्र १० लाख रुपैयाँमा बिक्री भयो । केही समयअघि मात्र भारतको गोवामा सम्पन्न ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल' मा सहभागी भएर आएका लामाका कामले प्रदर्शनीमा राम्रो चर्चा पाउँछन् । उनको विशेषज्ञता लिथोग्राफी र प्रिन्ट मेकिङमा हो ।
एउटै चित्र तयार गर्न पनि उनले थुप्रै चित्र बनाउनुपर्छ । ठूला ढुंगा र केमिकलसँग हरेक दिन खेल्दा स्वास्थ्यमा पर्ने असरबारे सचेत भए पनि सोख र पेसाले बाध्य छन् । जोखिम मोलेर सिर्जना गर्दा पनि बजार नपाउँदा पेसा नै छोड्ने सोच पटकपटक आएको पनि होइन ।
तर, बिस्तारै नेपाली बजार पनि प्रिन्ट मेकिङबारे जानकार हुने आशाले जोगाइरह्यो । पछिल्लो पटक हरिवंश आचार्यको प्रकाशोन्मुख पुस्तक हरिबहादुरको कभरका लागि प्रिन्ट बनाउने अवसर पाए । यसबाट भने उनलाई नयाँ ऊर्जा मिलेको छ । यसरी नै प्रिन्टको महत्व बुझ्दै गए कविराजजस्ता प्रतिभा निराश हुनुपर्दैन । न त यस विधामा भविष्य खोज्न कलाकार डराउँछन् नै ।