गुन्द्रुकको साइनो

गुन्द्रुकको साइनो

चिन्तन 

नेपाली सामाजिक डिस्कोर्समा अहिले विभिन्न शब्दले स्थान ग्रहण गरेका छन् । समावेशीकरण, पहिचान, अधिकार, राष्ट्र, राष्ट्रियता, राष्ट्रवादजस्ता भूगोल र स्थानीयतासँग जोडिने शब्दहरू एकातिर छन् भने अर्कोतिर ग्लोबलाइजेसन, फ्री मार्केट, होमोजेनिटीजस्ता शब्दले पनि उत्तिकै स्थान ग्रहण गरिरहेछन् ।

यीमध्ये सबैभन्दा चर्चा र विवादमा आउने शब्दमध्ये एक राष्ट्रवाद हो । राष्ट्रवादलाई कसैले सार्वभौमिकतासँग जोडेर लिन्छन् भने कसैले पोसाक र परिकारसँग । केही समयअघि टोपीसँग जोडेर राष्ट्रवादको चर्चा चुलिएको थियो । टोपी लगाउँदैमा राष्ट्रवादी हुने र नहुनेबीचको बहस थियो त्यो । सामाजिक सञ्जालहरूमा बौद्धिकहरूबीच भएको छेडाछेड र टिप्पणीले मलाई भने गुन्द्रुकको सम्झना गराइदियो । एक बसाइमा मेरा साथीहरूमाझ अचानक गुन्द्रुक कुराकानी विषय बन्यो ।

गुन्द्रुकको कुरा उठ्दा, मेरा साथीहरूमा धेरै भावना, सम्झना, उत्तेजना देखिएको थियो । एकछिन त मैले बुझ्नै सकिनँ । बाहिरको मान्छे (आउटसाइडर) भएको जस्तो लाग्यो । बुझ्न गाह्रो भयो । कसैले गुन्द्रुकको स्वादको कुरा कोट्यायो अनि त लहरो तान्दा पहरो थर्केजस्तै संसार नै खुल्यो । ओखलढुंगाको साथीले भने, ‘मेरो हजुरआमाले महिनौंदेखि तयार पारेको गुन्द्रुकको कुरै बेग्लै ।’ अर्को साथीले थपे, ‘यसले त मेरो गाउँको खेतको वासना सम्झाउँछ ।’

स्कुल र बाल्यकालको सम्झना आयो कुनै बझाङी साथीबाट । साथीको, गुच्चाको, प्रेमको, स्कुलबाट भागेको । कति कति स्मृति ! स्वादबाट सुरु भएको स्मृतिको लस्कर गाउँ, गर्लफ्रेन्ड, स्कुल आमा, दिउँसोको गर्मीको निद्रासम्म पुग्यो । रोमान्स, एडभेन्चर, बदमासीको संसारै खुल्यो ।

समकालीन डिस्कोर्समा भेषभूषा, भाषा, परिकारलाई राष्ट्रवादसँग जोड्ने गरिन्छ । मैले भने उनीहरूको कथामा राष्ट्रियताभन्दा बढी उद्गमसँगको संलग्नता (रुटेडनेस) अनुभव गरेँ । भावना, स्मृति, सिलसिला, संलग्नता, दोस्तीजस्ता अनुभूति सुन्दा मलाई बेनेडिक्ट एन्डरसेनले ‘काल्पनिक समुदाय’ (इम्याजिन्ड कन्ट्री) भन्ने गरेको राष्ट्रभन्दा फरक लाग्यो ।

आमाको भान्छाको स्वादिलो भोजन, गाउँको मेला, रूखमा पिङ खेलेको, चराको फूल चोरेको, गर्मीयाममा सहरको गल्लीमा क्रिकेट खेलेको आदिआदि सम्झनासँगै विश्वास, प्रवृत्ति र तरंगहरू ती साथीहरूका लागि सहज क्षेत्र (कम्फोर्ट जोन) थिए । राष्ट्र र राष्ट्रियताभन्दा बेग्लैको संलग्नता सुनेँ मैले, जसलाई बाहिरी मान्छेले तुरुन्तै बुझ्दैन तर रमाइलो लाग्छ ।

त्यस्तो बेला राष्ट्रको भन्दा अरू कुनै भावना जागृति भएको हुन्छ । मेरो भने सहज क्षेत्र बेग्लै छः फेवाको नौका बिहार, कपिलवस्तु गाउँको सस्र्युंको वासना । विदेश बस्दा ज्ञानेश्वरको एक कुनाको मोमोको सम्झना, विराटनगरको हुस्सु परेको मौसममा कलेज जाँदाको सम्झना, आदिआदि ! यी सहज क्षेत्रहरू हुन् । यी मूर्त हुन्छन् ।

राष्ट्रवाद भने आदेशात्मक हुन्छ । राजनीतिक रूपमा व्यापक हुन्छ । लेख संरचनामा भावुक हुन्छ । सैन्य रूपमा आधिकारिक हुन्छ । अलंकारिकतामा फासिस्ट हुन्छ । कवितामा अ श्रु बगेको हुन्छ । भावनामा लडाकु हुन्छ । शक्तिमा पुरुषकेन्द्रित हुन्छ । प्रेममा आमातुल्य हुन्छ । सिमानामा आक्रामक हून्छ । यसले ‘हामी’ र ‘अरू’ छुट्ट्याउँछ । ‘अरू’को सफाया गर्छ । राष्ट्रवाद जे पनि हुनसक्छ । त्यसैले यो केही पनि हुनसक्ने अमूर्त पनि होजस्तो लाग्छ । किनभने राष्ट्रवाद धेरै कथा-पुराकथाले बनेको हुन्छ । त्यो गुन्द्रुक अथवा ठेकुवाजस्तो मूर्त हुँदैन ।

गुन्द्रुकले आह्वान गरेको साइनो (कनेक्सन) इन्द्रियजनिक हुन्छ । त्यसैले त्यो मूर्त हुन्छ । त्यो इन्द्रिय हुँदै स्मृति र जरामा गएर बसेको हुन्छ । राष्ट्रवाद मुटु केन्द्रित हुन्छ कि ? फेरि राष्ट्रवादलाई प्रशंसा गरिन्छ, पुनःनिर्माण गरिन्छ, नक्सामा उतार्न सकिन्छ, जातीय रूप दिन सकिन्छ । गुन्द्रुक अथवा ठेकुवाको गन्धले भने कल्पनाबाट तानेर भुइँमा लग्छ ।

बेगल रोटीभन्दा जेफ्टाइल माछा र चिकन सुप अमेरिकी यहुदीको प्रिय खाना थियो । पछि यहुदी बस्तीबाट बेगल अमेरिकी सहरमा पुग्यो र यहुदीसँग गाँसिएको महत्वपूर्ण स्न्याक भयो । समय र स्थानबाट टाढा भए पनि सम्बन्ध ताजा थियो अमेरिकासम्म पुग्दा पनि । ‘बेगल’ले देखायो, यहुदीहरू अरू देशमा पनि सँगै छन् । मारिया बालिन्स्का ‘द बेगल ः द सप्र्राइजिङ हिस्ट्री अफ अ मोडेस्ट ब्रेड’मा लेख्छिन्, ‘बेगल किन यति बलियो रहिरह्यो ? किनभने बेगल भोकसँग मात्र जोडिएको थिएन ।

खाना केवल खाना होइन, यो सम्झनाको लहर पनि हो । यो इन्द्रिय, शरीर र भोक हुँदै भावना र भावुकता, मान्यता र प्रवृत्तिसँग जोडिन्छ । यसले सामूहिकतातिर लग्छ । तर। राष्ट्रवादले विभाजन सिर्जना गरिदिन्छ ।

यो डर, असन्तोष, रित्तोपना, डिप्रेसन, जोखिमसँग मात्र जोडिएको थिएन बरु बेगलभित्रको गोलो प्वाल ट्र्याजडीको प्रतीक भयो । यो दुःख र दयाको चिह्न बन्यो । त्यो गोलो सामेलीको संकेत पनि थियो । दुःखबाट अगाडि बढ्ने संघर्षपूर्ण कथाको सम्झना थियो ।’

त्यस्तै थियो मेरा साथीहरूका लागि गुन्द्रुक पनि । गुन्द्रुक एकप्रकारको आध्यात्मिक सम्झना हो जुन इन्द्रियजनक स्वादबाट उब्ज्यो त्यो दिन । आध्यात्मिकता श्वासप्रश्वासको चालबाट सुरु भएजस्तो ! जब कुनै पनि वस्तुले दया, करुणा र प्रेम सिर्जना गर्छ त्यो आध्यात्मिकतासँग जोडिन्छ । आध्यात्मिकता प्रार्थना र धर्ममात्रै कहाँ हो र ?

डीआर गबैका ‘वी आर ह्वाट वि इटः इथ्निक फुड एन्ड मेकिङ अफ अमेरिकन्स’मा लेख्छिन्ः ‘न्यु मेक्सिकोका प्युब्लस जातिका लागि मकै खानु र आध्यात्मिकता एउटै थियो । उनीहरू मकैबाट नै पृथ्वीमाताले मान्छे बनाएको विश्वास गर्थे ।’

मैले मेरा पाकिस्तानी र भारतीय साथीहरूको बिरयानीसँगको सम्बन्ध देखेको छु धेरै वर्षपहिले अमेरिकामा । एकजनाले कराँचीको बिरयानी मीठो हुन्छ भन्थे अर्काले हैदरबादको । ती हाँस्दै झगडा पनि गर्थे । ती साथी नै बने÷बनेनन् भन्न सक्दिन तर मिलेर बिरयानी बनाई खाँदा हाँसेको तिनको अनुहार कुनै पनि राष्ट्रियतामा अटाउन सक्दैन ।

श्रीलंकाको पोल सम्बोलाको प्रसंग त्यस्तै छ- बिरयानी र बेगलजस्तै । पान चपाउनुको सांस्कृतिक सम्बन्ध पनि उस्तै हो । म यस्तै राष्ट्र वस्तु (गायत्रीको स्पिभाकको शब्दः नेसन थिंग)मा बढी चासो राख्छु । यसले जोड्ने स्मृति र अनुभूति राष्ट्रवादको सीमाभित्र अटाउँछजस्तो लाग्दैन । राष्ट्रवाद प्रायः युद्ध र रक्तपातसँग जोडिएको पाइन्छ । चाहे जुनसुकै भूगोलको किन नहोस् । राष्ट्र वस्तुले इन्द्रियजन्य अनुभूतिसँग सीधै साइनो गाँस्छ । त्यसैले त जिब्रो र नाकजस्ता इन्द्रियहरूले ठेकुवा र गुन्द्रुकको जीवन्त सम्झना गराउँछन् ।

मेरो चासो राष्ट्र-वस्तुमा छ । यो त अभि (सुवेदी) सर, म र शिव रिजालले शनिबार कफी-चिया खानेजस्तै हो । सोमाले बनाउँछिन् मैले माथी कोठामा लिएर आउँछु । कुनै दिन शिवले ‘सुलोचना’का पंक्ति पढ्छन् । सोमाले हिल्सा माछाको झोलको स्वादको कुरा गर्छिन्, आफूले नखाए पनि । अभि सर लोभिनुहुन्छ । चियाले टेगोर र ब्राम्हो समाजको कुरा ल्याउँछ ।

यो राष्ट्रवादभन्दा परको विषय हो । राष्ट्र वस्तुसँग जोडिएको साइनो हो यो । त्यही चिया क्यानडामा पढिरहेका पुष्पले सम्झँदै स्काइपमा हाँस्दै रुन्छन् । पल्लवीले विवेकलाई शनिबारको चियासँगै ह्यान्डलको मसाया कथा सुनाउँदै स्मृतिमा डुब्छिन् । यो राष्ट्रवाद होइन ।

यो लेखमा म खानासँग जोडिएको साइनोको मात्रै चर्चा गर्दैछु । यो इन्द्रियगत हुँदै आमा, गाउँ, सहर, माटोको सम्बन्धसँग जोडिन्छ । खाना केवल खाना होइन, यो सम्झनाको लहर पनि हो । यो इन्द्रिय, शरीर र भोक हुँदै भावना र भावुकता, मान्यता र प्रवृत्तिसँग जोडिन्छ । यसले सामूहिकतातिर लग्छ । तर, राष्ट्रवादले विभाजन सिर्जना गरिदिन्छ ।

‘द राज एट टेबलः अ कलिनरी हिस्ट्री अफ द ब्रिटिस इन इन्डिया’मा डी बर्टनले एकजना उपनिवेशवादी बेलायती प्रशासकको भनाइ लेख्छन्ः ‘हावामा नै दैत्य छ, भारतको खाद्य संस्कृतिमा ।’ उनले भारतको हावापानी र खानामाथि प्रहार गरेका थिए । यिनै खाना पछि लन्डनका रेस्टुरेन्टमा लोकप्रिय भए । अंग्रेजहरू जिब्रो पड्काउँदै लुधियानामा पराठासँगै तरकारी खाइरहेका हुन्छन् अचेल पनि । दैत्य पेटमा पसेको छ । त्यही दैत्य पेटमा हुलेर ती भन्छन्ः ‘आई फिल सबलाइम !’

यिनै खानाले इन्द्रियबाट स्मृति हुँदै जरातिर र स्वामित्व हुँदै स्थानीय परिवेश र संस्कृतितिर लैजान्छन् । भान्सासँग जोडिएका यस्ता राष्ट्र-वस्तुले राष्ट्र र राष्ट्रवादसँग सम्बन्ध राख्दैनन् । पुष्पा र सोमा वा रहमान र विनोद कसरी साथी भए ? मलाई लाग्दैन, राष्ट्रवादको आमव्याख्या (ग्रान्ड न्यारेटिभ)मा रहमान र विनोदको हाँसो देख्न पाइन्छ । काठमाडौं वा ढाकाको गल्लीमा गुच्चा खेलेको अनुभूतिमा पाइने सामीप्यता राष्ट्रवादको अमूर्त सीमाभित्र अटाउँदैन् । यस्तो संलग्नताको कथा महत्वहीन हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.