‘शंकर दाइ जँड्याहा होइन’

‘शंकर दाइ जँड्याहा होइन’

सन् २०१६ मे ११ को साँझ कार्थक निवास कुपण्डोल ललितपुरमा पिटर जे. कार्थकसँग सुरेश प्राञ्जलीले गरेको कुराकानीको सम्पादित अंशः

शंकर लामिछानेसँग तपाईंको सामीप्यता कस्तो थियो ?


शंकर दाइ ४८ वर्षमा जानुभो । त्यति बेला म ३२ वर्षको थिएँ । हाम्रो उमेरमा १६ वर्षको फरक छ । त्यो १६ वर्षको फरक धेरै ‘सिनियर’ र ‘जुनियर’ हो नि त । शंकर दाइ ‘अति सिनियर’ पनि र महान् साहित्यकार पनि । पिटरले गएर ‘हेलो’ भन्ने त्यति भएन । टाढैबाट नमस्कार भन्ने, टाप् कस्ने ।

भेटघाट बाक्लो–पातलो कस्तो हुन्थ्यो ?
शंकर दाइसँग मैले जम्मा ६ पटक भेटेँ । मैले ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यास लेखेँ । त्यो उपन्यास लेख्दा आफ्नो गुरु अम्बर गुरुङसँग भेटघाट गरिरहन्थ्यौं । रेडियो नेपालमा म त्यति बेला बाजा बजाउँथेँ । अम्बर सर उता ज्ञानेश्वरमा बस्ने, म कमलपोखरीमा । मैले एक दिन अम्बर सरलाई भनेँ, सर मैले एउटा उपन्यास लेखेको छु नेपालीमा, अब के गर्नु पर्ला...। त्यसपछि, अम्बर सरले ‘शंकरलाई देखाउनुपर्छ, ऊ फर्केको छ’ भन्नु भो । मैले भने, ‘शंकर लामिछाने ? ’ उहाँले भन्नुभो, ‘हो शंकर लामिछाने ।’ अनि, फर्केको छ भन्दा मलाई लाग्यो एकदमै चल्तापुर्जा मान्छे कतै ‘फरेन’तिर गएको होला, फर्केछ भन्ने लाग्यो । तर, उहाँले फर्केको छ भन्या त साहित्य लेखनमा फेरि फक्र्या भन्या पो रैछ । मैले ‘कुमुदिनी काण्ड’को कुरा बुझेँ । उहाँले रत्ना भाउजूलाई छाडेर सुवर्णा भाउजूसँग बस्न थालेको, चोरी काण्डमा पक्डाउ खाएको, रूपरेखामा साबिती बयान लेखेको बुझेँ ।

दाइ खासमा ‘कुमुदिनी काण्ड’मा चाहिँ के भएको रैछ ?

नगेन्द्र शर्मा र शंकर दाइले गरेको बदमासी पो हो क्यार । (लामो हाँसो..) शंकर दाइ पक्डाउ खायो । पछि उहाँले रूपरेखामा चिठी पनि लेखेको छ नि त । उपन्यास लिएर जानु भो शंकर लामिछानेको घरमा ? अम्बर सरले त्यसो भए म पहिला पढ्छु भन्नु भो । उहाँ संगीतकार गीतकार मान्छे, पढ्छु भनेपछि त मलाई पनि कुतकुती पो लाग्यो । अनि मैले पढ्न दिएँ । एकै हप्तामा भन्नुभो, एकदम राम्रो लेखेको रैछ तिम्ले त ।

गुरुले त्यसो भनेपछि एकदमै गज्जब लाग्यो मलाई त । गुरुले त्यसो भनेपछि म गएँ । कायानामी भन्ने गल्ली । पहिला त्यो ब्रिटिस फेसनमा बसेको शंकर दाइ त नेवारी गल्लीमा । आकाश जमिनको फरक । कायापलट भएको रैछ । ‘हलो ओल्डम्यान, हलो ओल्ड म्यान’ भन्दो रैछ दुईजनाको साइनो ।

‘प्रत्येक ठाउँ प्रयेत्क मान्छे’को भूमिका कसरी लेखाउनु भो शंकर लामिछानेलाई ?

शंकर दाइकोमा गइसकेपछि अम्बर सरले भन्नु भो— यहाँ पिटरको उपन्यास रैछ । हो, त्यहीको बारेमा तिमीसँग भेट्न आएको भनेर । पाण्डुलिपि देखाएँ । शंकर दाइले सरसर्ती हेर्नुभो । अनि त्यहाँदेखि उहाँले यस्तो भन्नुभाथ्यो कि ‘अच्छा पिटर भाइ तिमीले लेख्न त लेखेछौ । म यसलाई हेर्छु । उपन्यासमा केही छ भन्ने लाग्यो भने म भूमिका जमेर लेख्दिन्छु । नत्र भने म भूमिका लेख्दिनँ ।

पिटर भाइ डोन्ट माइन्ड ।’ मलाई त एकदम चित्त बुझ्यो । मैले हाफ बोटल भोड्का पनि बोक्या थिएँ । अलिअलि जाडो थियो । सबैजना खाने भन्ने भो । शंकर दाइ भरे आधा पेग खाएर सुत्ने बानी रैछ, नसक्ने । सबैले जँड्याहा भन्छ । तर, होइन । अनि अम्बर सर र मचाहिँ खाएर हिँड्यौं । बाटोमा अम्बर गुरुङचाहिँ भरे फत्तफताउन थाल्नुभो, ‘ए, शंकरले त्यसरी हेलाँ गर्ने ? ’ अनि मैले भनेँ, ‘तपाईंले पो पढ्नु भा’छ र उपन्यास कस्तो छ भनेर थाहा छ । शंकर दाइलाई त थाहा छैन नि त ।’ अनि दाइ त्यसपछि ? पाण्डुलिपि छोड्दियौं । त्यसको पन्ध्र दिनपछि बोलाउनु भो । त्योचाहिँ दोस्रो भेट है ।

मैले शंकर लामिछनेलाई ६ पटक भेटेको कहानी यही हो । ६ पटकमध्ये चारपटक साथीभाइसँग बगालमा भेटेँ ।

अम्बर सर पनि छ । ‘अम्बर ओल्ड म्यान पिटर यस्तो नेपाली लेख्दो र’छ । अब लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछानेहरूले नलेखे हुन्छ, त्यस्तो राम्रो लेखेको छ ।’ उहाँले भन्नुभो । सुवर्णा भाउजू आएर मलाई गाली गर्नुभो । तपैंले गर्दा शंकर कत्ति दिनदेखि सुत्नै सक्या छैन । ‘किन र भाउजू ? ’ मैले भनेँ । ‘पिटरले यस्तो लेखेको छ, उस्तो लेखेको छ । मैले किन लेख्न सकिनँ भनेर ..। तपैंले गर्दा धेरै दुख्ख पा’छ शंरकले भन्नु भो । टाउको मसार्दा मसार्दा सुत न शंकर सुत भन्दा पनि निदाउनै सकेन...।’ ‘यहाँ हेर्नु त ओल्ड म्यान पिटरले यस्तो झुर लेखेको छ । यस्तो तिलस्मी भाषामा पनि लेख्ने हो तिम्ले ? ’ भनेर शंकर दाइले पढेर सुनाउने । तलमाथि उचालपछार गर्ने । उहाँ त्यस्तो खालको समालोचक । मलाई त गज्जबै लाग्यो । शंकर दाइले भन्नुभो, ‘तिमीले यसलाई पुनर्लेखन गर । जतिपटक पुनर्लेखन गर्छो त्यति नै पटक म हेर्दिन्छु । आई एम गेम विथ यु भन्नु भो ।

तिमी पाँचपटक पुनर्लेखन गर, म पाँचैपटक हेर्दिन्छु । किनभने यसमा पोटेन्सियल छ । उपन्यासचाहिँ हो तर एक अध्यायमा तिमीले माथिको भाषामा लेख्या छौ भने अर्कोमा तिलस्मी भाषामा लेख्या छौ ।’ के हरेकपटक पुनर्लेखन गर्दै देखाउनुभो उहाँलाई ? मैले पाँचैपटक पुनर्लेखन गरेँ तर पाँचैपटक गइनँ । मेरो राजमार्गमा काम थियो । अनि, उहाँको पनि उथलपुथल । पुनर्लेखन गरेँ, गरेँ । अब यहाँबाट जान सकिँदैन भन्ने भएपछि तेस्रो पल्टमा म एक्लै गएँ । पाण्डुलिपि च्यापेर । दुईजनामात्रै भेट भो ।

भाउजू पनि कताकता हुनुहुन्थ्यो । ‘मैले जति सक्थेँ गरेँ, छैटौंपटक त म गर्न सक्दिनँ । तर, दाइ यसमा जति नै गरे पनि तपैंले सन्देश केही पनि पाउनुहुन्न’, मैले भनेँ । मलाई लाग्यो उपन्यासमा केही पनि छैन । शंकर दाइले भन्नुभो, ‘सन्देश केका लागि पिटर भाइ ? पाठकहरूका लागि ? पाठक त लेखकभन्दा पनि प्रबुद्ध भइसके ।’ उहाँले त्यो कुरा भूमिकामा पनि लेख्नु भा’छ ।

त्यो दिन त्यस्तै पाँचदस मिनेटजति मात्रै कुरा भो । त्यसको पन्ध्र दिनपछि । फोर्थ टाइममा अम्बर सरबाट खबर आयो । ज्ञानेश्वरमा गएको । शनिबारको दिन थियो पानी सिमसिम परिराखेको थियो । म घरकै लुगामा थिएँ । शंकर दाइ जहिले पनि टाइ सुटमा चिटिक्क पर्ने । उहाँले भन्नुभो, ‘ल पिटर मैले भूमिका लेखिसकेको छु । उपन्यास ठीक छ, त्यही भएर मैले भूमिका लेखेको ।’ उहाँले चट्ट पट्याएको भूमिका निकालेर ‘ल अम्बर ओल्ड म्यान सुन’ भनेर सुनाउनुभो । पाण्डुलिपिमा रातो मसी केही पनि लगाएको थिएन । भूमिका मलाई दिनुभो ।

उहाँले त्यसबापत पारि श्रमिक मागेको भन्ने पनि हो र ?

हो, त्यसपछि त पैसा ल्याऊ भन्नुभो । (हाँसो) यसो खल्तीमा हेरेको रातो नोट निक्ल्यो । त्यो रातो नोट दिएको मैले । उहाँले त्यो त एक करोडको नोटजस्तो गरेर पट्याएर खल्तीमा हाल्नुभो ।

फेरि शंकर लामिछानेसँग कहिले भेट भो हजुरको ?

म कमलपोखरीको डेरामा उपन्यासकै कागजहरू मिलाउँदै थिएँ । बेलुका ६ बजेतिर ढोका टक्टक् गर्‍यो । यसो हेरेको त शंकर दाइ, तुलसीनाथ ढुंगेल, उत्तम नेपाली । अब के गर्ने त भनेर ‘ड्रिंक’को व्यवस्था भो । शंकर दाइ आधा पेगमै जिब्रो निकालेर र्‍याल काढ्ने । कुरो के रैछ त भने, उत्तम नेपाली र तुलसीनाथ ढुंगेलले त्यो भूमिका भएन भनेर भन्नुभो । त्यसमा कुरो थप्नेचाहिँ भूपि शेरचन र भीम दर्शन रोका रैछ ।

शंकर दाइले भन्नुभो, ‘मेरो त भूमिका एकदमै राम्रो छ नि । पिटर भाइ निकाल त म फेरि पढेर सुनाउँछु’ । पढेर सुनाउनु पनि भो । तुलसीनाथ ढुंगेलले भन्नुभो, ‘भएन शंकर, भएन । उपन्यासअनुसारको तिम्रो भूमिकै भएन ।’ शंकर दाइले भन्नुभो, ‘तिम्रो उपन्यास तयार भइसकेको छ । तिमी राष्ट्रिय प्रज्ञाप्रतिष्ठान गईकन यो पाण्डुलिपि बुझाऊ । ‘पन्ध्र दिन त्यहाँ राख्नु, सोह्र दिनको दिन काम भा’छैन भने लिएर आउनू ।’ उनीहरूले छापे भने यो राम्रो हुन्छ । पाण्डुलिपि लिएर गएँ । भाइस चान्सलर सूर्यविक्रम ज्ञवालीलाई भेटेँ । उहाँले भन्नुभो, ‘यहाँ अलिकति ‘ग्राइन्डिङ प्रोसेस’ छ है बाबु । मैले हेर्ने होइन, यो

बाङ्देलजीलाई देखाउनू ।’ उत्तापट्टि बाङ्देलजीलाई टक्टक् गरेँ । उहाँले त ‘आजकाल त यो ‘योङ’ ग्रुप ‘ट्रास’ लेख्ने गरेको छ’ पो भन्नु भो बा ! ‘ट्रास’ वर्ड तीनचारपटक दोहोर्‍याउनु भो । मैले भनेँ, ‘सर यहाँ मूल्यांकन समिति पनि छ रे नि त, मूल्यांकन गरेर पास गर्छ रे त ।’ उहाँले त्यसका लागि सत्यमोहन जोशीलाई देखाउनू’ भन्नु भो । उहाँले फेरि पनि ‘ट्रास’ लेख्ने ‘याँ.. उँ’ भन्नुभो । मेरो पालो बम झारेँ, ‘यसको भूमिकाचाहिँ शंकर लामिछाने दाइले लेख्नु भा’छ ।’

त्यसपछि के भो दाइ ?

त्यसपछि, ‘ए ! हो ? ’ अलिकति बदलिनु भो । उहाँको सातोपुत्लो गयो । र भन्नु भो कि ‘सदस्यसचिव सत्यमोहन जोशीजीलाई देखाउनु ।’ गएँ । दर्ता चलानी गरेँ । त्यसपछि १५ दिन बित्यो । सोह्रौं दिनमा गएँ । तीन घन्टा कुरेँ । सत्यमोहनजी कताबाट हो, आउनुभयो । मैले भनेँ, ‘पाण्डुलिपि लिन आ’को ।’ घर्रा खोलेर अटसमसट पारेर राखेको ।

अरूको पनि होला ...। कच्याककुचुक परेको मेरो फाइल निकाल्नुभो । ‘खोइ, एकदुई दिन राख्नुभए हुन्थ्यो ।’ मैले भनेँ, ‘होइन हुँदैन ।’ शंकर दाइले भनेको कुरो मान्नुपर्‍यो नि । सोह्रौं दिनमा लिएर आएँ । त्यसको भोलिपल्ट होला, शंकर दाइ शंकर होटेलमा काम गर्नुहुन्थ्यो । गएँ । अनि, उहाँलाई भेटेर भनेँ, ‘दाइ अब प्रज्ञाप्रतिष्ठानले त केही पनि नगरेको रैछ । मैले पाण्डुलिपि लिएर आएँ ।’ उहाँले बडो दुःख मान्नुभो, ‘त्यति पनि गर्दिएन है । उनीहरूले गरेको भए कस्तो राम्रो हुन्थ्यो ।’

त्यसपछि हामी यता केशर लाइब्रेरीसम्म कुरा गर्दैगर्दै आयौं । म कमलपोखरीतिर लागेँ दरबारमार्ग भएर । यो नै छैटौं भेट, अन्तिम भेट थियो । त्यसपछि उहाँलाई ‘मेनेन्जाइटिज’ भयो । ‘आईसीयू’मा लगेको लग्यै बित्नुभो । अर्को भूमिका लेखिएन । त्यही भूमिका छापियो । मैले शंकर लामिछानेलाई ६ पटक भेटेको कहानी यही नै हो । ६ पटकमध्ये चारपटक साथीभाइसँग बगालमा भेटेँ । दुईपटकमात्रै एक्लै भेटेँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.