पूर्वका प्रजातन्त्रिक योद्धा

पूर्वका प्रजातन्त्रिक योद्धा

सन्दर्भः सिंहदरबार विद्रोह
माझकिरातमा आजसम्मका सबैभन्दा लोकप्रिय नेता तथा मुक्तियोद्धा हुन् रामप्रसाद राई । उनको लोकप्रियताको तरंग अहिले पनि महसुस गर्न सकिन्छ, अथवा भनौं ६ दशकअघिको उनको त्यो लोकप्रियता पुनः ब्युँझँदै छ । २००७ को क्रान्तिमा रामप्रसाद राई भरोसा पनि थिए र आतंक पनि । उनी जनता र क्रान्तिकारीहरूका लागि हिम्मत र आडभरोसा थिए भने राणा पक्षधरहरूका लागि आतंक ।

राणाकालीन धनकुटादेखि पूर्व ४, ३ र २ नम्बर जिल्लामा राणा फौजविरुद्ध लडिएका तीनवटा निर्णायक महत्वका युद्धमा रामप्रसाद राईले प्रत्यक्ष नेतृत्व दिएका थिए भने बाँकी उनको सैन्य नेृतत्वमा । २००७ साल मंसिर २४ गते बिनारक्तपात भोजपुर अड्डा त रामप्रसाद राईकै कमान्डमा कब्जा गरिएको थियो, तर काठमाडौंबाट आई उदयपुर फिर्ता गरेर भोजपुर पनि फिर्ता लिन अत्याधुनिक हतियारसहित मात्र डेढ घण्टाको दूरीमा आइसकेको खड्गबहादुर कार्की नेतृत्वको राणा सेनालाई रामप्रसाद राईको नेतृत्वमा भरुवा बन्दुक, घुयँत्रो आदिले दोहोलो नकाढेको भए माझकिरातको क्रान्ति ठाउँको ठाउँ ‘सहिद’ हुने थियो ।

पूर्वी नेपालमा सायद क्रान्तिको गर्भपात हुने थियो । ओखलढुंगाको युद्धमा ‘फिल्डबाटै कमान्ड’ गर्दा स्वयं रामप्रसाद राईलाई गोली लाग्यो, थुप्रै घाइते भए, सहिद भए । यसका बाबजुद दुई रातमा राणा सेनाहरूलाई पराजित गरेर लखेट्दै रामेछाप, सिन्धुली र चरीकोट कब्जा गर्दासम्म काठमाडौंमा ‘लौ पूर्वका किराती मुक्तिसेना चरीकोट आइपुगे रे, काठमाडौंतर्फ अगाडि बढ्दै छन् रे’ भन्ने खुब हल्ला चलेको थियो रे । चरीकोटसम्म जितेर काठमाडौं हान्ने तयारी गर्न भोजपुर फर्किएका मुक्तिसेनाका कमान्डर रामप्रसाद राईलाई जनताले विशाल उत्साहका साथ स्वागत र सम्मान गरेका थिए ।

गणेशमान सिंह भन्छन्, ‘म जेलमा हुँदा पूर्वका मुक्तिसेना राई, लिम्बूहरू संगठित हुँदै रामप्रसाद राईसँगै बनेपासम्म आइपुगे भन्ने सुनेको थिएँ । त्यस समयमा हाम्रो संगठन पनि कमजोर नै थियो । तैपनि, हाम्रो प्रजातान्त्रिक लडाइँ (वि.सं. २००७) मा रामप्रसाद राईको नेतृत्वले अतुलनीय योगदान दिएको थियो ।’

जनमुक्ति सेना निर्माण र नेतृत्व

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल भन्छन्, ‘पूर्वमा रामप्रसाद राई, मध्यनेपालमा एकदेव आले, भैरहवा मर्चवारमा के.आई. सिंह र सुदूर पश्चिममा चित्रबहादुर गुरुङले आआफ्नो पहलकदमीमा मुक्तिसेनाहरू गठन गरी स्थानीय सामन्तीहरूका विरुद्ध विभिन्न क्रान्तिकारी कदमहरू चाले जो अति प्रशंसनीय र अनुकरणीय छ ।’

रामप्रसाद राई जनमुक्ति सेनाका प्रमुख सैन्य कमान्डर थिए । उनकै नेतृत्वमा पूर्वी पहाडमा जनमुक्ति सेना गठन गरिएको थियो । वि.सं. २००७ साल मंसिर ११ गते रामप्रसाद राई, नारदमुनि थुलुङ, श्रीपाल राई, कर्णबहादुर राई र पूर्णप्रसाद राईले गोप्य बैठक बसेर भोजपुरमा जनमुक्ति सेना गठन र अड्डा कब्जा गर्ने योजना बनाए । यसमा पछि जम्दार बखतबहादुर राई, जम्दार पूर्णप्रसाद राई, जम्दार धनकृष्ण राईलाई पनि समावेश गरियो । यो केन्द्रीय समूहले मंसिर २४ गते भोजपुर अड्डा कब्जा गर्ने निर्णय गरेको थियो ।

रामप्रसाद राई जनमुक्ति सेनाका प्रमुख सैन्य कमान्डर थिए । उनकै नेतृत्वमा पूर्वी पहाडमा जनमुक्ति सेना गठन गरिएको थियो ।

यही केन्द्रीय समूहले नै रामप्रसाद राईको नेतृत्वमा जनमुक्ति सेना गठन गर्ने निर्णय पनि गरेको थियो । जनमुक्ति सेना बमबहादुर राई बताउँछन्, ‘भोजपुरका रामप्रसाद राई २००७ सालको क्रान्तिमा यस क्षेत्रको मुक्तिसेनाको कमान्डर हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले मैले पनि बन्दुक बोक्न सुरु गरेँ । हतियार उठाउने पहिलो व्यक्ति हाम्रो जिल्लाका उहाँ नै हुनुहुन्थ्यो ।’

मंसिर २४ गते भोजपुर कब्जा गर्दा निकै सानो संख्यामा रहेका जनमुक्ति सेना चरीकोट कब्जा गर्दा दशौं हजार पुगेको थियो । यसमा तीनथरी व्यक्तिहरू सहभागी थिए– भूतपूर्व ब्रिटिस भारतीय सेना, जागिर छोडेर क्रान्तिमा सहभागी नेपाली सेना र राणा प्रशासनिक अड्डाहरूमा काम गर्ने मिलिसिया । यो जनमुक्ति सेनामा मूलतः किराती राईहरू थिए ।

किनभने, ब्रिटिस भारतीय सेनामा काम गर्ने नै उनीहरू थिए । अड्डामा काम गर्ने मिलिसियामा चाहिँ गैरकिरातीहरू पनि थिए । लगभग एकदुई दर्जनबाट सुरु गरी दशौं हजारलाई संगठित गरेर पूर्वी पहाडमा जनमुक्ति सेनाको निर्माण गरिएको थियो । यो चानचुने उपलब्धि थिएन । रामप्रसाद राईको अदम्य साहस र जुझारूपनसहितको नेतृत्वका कारण जनमुक्ति सेनाको उच्चतम् विकास सम्भव हुन पुगेको थियो ।

पूर्वी पहाडमा राणा फौजलाई पूर्णतः परास्त

चरीकोटदेखि ताप्लेजुङसम्म राणा शासनविरुद्ध लडिएको युद्धमा भोजपुर, दावा–दिक्तेल, ओखलढुंगा र चैनपुर मोर्चामा लडिएका युद्धको निर्णायक महत्व रहेको छ । चैनपुरबाहेक बाँकी तीनवटा युद्धको प्रत्यक्ष नेतृत्व रामप्रसाद राईले गरेका थिए । वि.सं. २००७ साल मंसिर २४ गते भोजपुर अड्डा बिनारक्तपात कब्जा भयो । यो निर्णायक सुरुवात थियो । दावा–दिक्तेल र ओखलढुंगा मोर्चामा राणा फौजलाई परास्त गरेपछि भने राणा शासकहरू पूर्वमा शिर उठाउनै नसक्ने गरी परास्त हुन पुगे ।

यी दुई युद्धमा जनमुक्ति सेना विजयी हुन नसकेको भए पूर्वमा क्रान्तिकारीहरू उठ्नै नसक्ने गरी पराजित हुने निश्चित थियो । अर्को महŒवपूर्ण चैनपुरको युद्धमा भोजपुरबाट रामप्रसाद राईले जिम्मेवारी दिएर खटाएका जनमुक्ति सेना लडेका थिए । अघिल्लो मोर्चामा विशाल जनता समुदाय, पछिल्लो मोर्चामा जनमुक्ति सेना रहेर चैनपुर अड्डा कब्जा गरिएको थियो । त्यो सशस्त्र र शान्तिपूर्ण जनसंघर्षको गठजोडद्वारा सम्पन्न जनविद्रोह थियो ।

रामप्रसाद राईको नेतृत्वमा रहेको किराती जनमुक्ति सेनाले धनकुटा गौंडाअन्तरगत पर्ने धनकुटा, तेह्रथुम र ताप्लेजुङ; पूर्व ४ नम्बर जिल्लाअन्तरगत भोजपुर, दिङ्ला, खोटाङ र ऐंसेलुखर्क; पूर्व ३ नम्बर जिल्लाअन्तर्गत ओखलढुंगा र पूर्व २ नम्बर जिल्लाअन्तरगत रामेछाप, सिन्धुली र चरीकोट मुक्त गरेको थियो अर्थात् इलामबाहेक समग्र पूर्वी पहाड रामप्रसाद राई नेतृत्वको जनमुक्ति सेनाले विजय गरेको थियो ।

राष्ट्रिय स्वाधीनताका पक्षमा सम्झौताहीन संघर्ष

त्रिपक्षीय भनिए पनि खासमा राजा र राणाका बीचमा सम्झौता गराएर नेपाली कांग्रेसलाई किनाराको साक्षी बनाइएको दिल्ली सम्झौता नेपालमाथि गम्भीर आघात थियो । दिल्ली सम्झौता (२००७ माघ २९ अर्थात् १९५१ फेब्रुअरी ११) हुनुभन्दा सात महिना पहिले श्री ३ प्रधानमन्त्री मोहनशमशेर राणाले भारत सरकारसँग दुईवटा राष्ट्रघाती सम्झौता गरेका थिए– ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि–१९५०’ र ‘नेपाल र भारत सरकारका बीचको व्यापार र वाणिज्यको सन्धिपत्र–१९५०’ ।

मोहनमशेरले यी दुई सम्झौता उपहार चढाएपछि राणा र राजाको हात माथि, नेपाली क्रान्ति र जनताको हात तल पर्ने गरी भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा कथित त्रिपक्षीय दिल्ली सम्झौता भए । यी दुई यस्ता सम्झौता हुन पुगे कि यसपछि नेपाल र भारतबीचको व्यापारमा नेपाल ठूलो घाटामा जान थाल्यो, भारत चाहिँ नाफैनाफामा, जबकि यसअघि भारतसँगको व्यापारमा नेपाल नाफामा थियो । नेपालको राजनीति र सिंगो प्रणालीमाथि नै भारत हावी हुन पुग्यो ।

नेपालको समग्र पक्षमा भारतले सूक्ष्म व्यवस्थापन गर्न थाल्यो । चीन र कम्युनिस्टको डर देखाएर भारतले नेपाललाई आफ्नो सुरक्षाछाताभित्र राख्यो । अहिले पनि नेपाल यसबाट मुक्त हुन सकेको छैन । त्यसैको विरोधमा लगातार २००७ सालदेखि नै आवाज र आन्दोलन उठ्नुको परिणाम अहिले आएर भारत सरकार सन् १९५० को सन्धि पुनरावलोकन गर्न सहमत भएको छ । हालै गठन भएको नेपाल–भारत प्रबुद्ध समूह यसैको अभिव्यक्ति हो ।

नेपालमा भारतीय सत्ताविरोधी चेतनाको विकास मूलतः यही सन् १९५० को सन्धि र कथित दिल्ली सम्झौतापछि सुरु भएको हो । त्यसलाई राजनीतिक आन्दोलनका रूपमा आकार दिने काम नेपाल कम्युनिस्ट पार्टी, नेपाल प्रजा परिषद्लगायतका शक्तिहरूले गरे । दिल्ली सम्झौताविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व भने रामप्रसाद राईले गरे ।

नेपाललाई लगातार ६ दशकभन्दा बढी समयदेखि भारतको पराधीन राष्ट्रका रूपमा सीमित गर्ने त्यो सन्धि राष्ट्रियताविरुद्धको खतरनाक सन्धि थियो । दिल्ली सम्झौताविरुद्धको रामप्रसाद राईको अथक र सम्झौताहीन संघर्ष यस अर्थमा राष्ट्रिय स्वाधीनताको पक्षमा लडिएको गौरवपूर्ण संघर्ष थियो । त्यो संघर्ष सफल हुन सकेन, सिंहदरबार विद्रोहसँगै विलाएजस्तै भयो तर त्यसको प्रतिध्वनि भने अहिले झन्झन् सुन्न थालिएको छ ।

नेपाल–भारत प्रबुद्ध समूह गठनमा रामप्रसाद राईको स्पन्दन सुन्न सकिन्छ । राष्ट्रियताका सवालमा रामप्रसाद राईको सही मूल्यांकन सांसद धनहर्क राईले गरेका छन् । उनी भन्छन्, ‘लेफ्टिनेन्ट रामप्रसाद राईज्यूले राष्ट्रियता र जनताका मुक्तिको खातिर गर्नुभएको योगदानबारेमा अहिले हामीसँग लिपिबद्ध नभए तापनि त्यसताका उहाँसँगै संघर्षरत उहाँका समकालीन योद्धाहरूको अभिव्यक्तिबाट प्रशस्त पुष्टि भइरहेको छ । सन् १९५० को राष्ट्रघाती दिल्ली सम्झौताको विरुद्ध आवाज मुखरित गरेबाट नै लेफ्टिनेन्ट राईको राष्ट्रियतामाथि अगाध प्रेम रहेको कुरा स्पष्ट हुन्छ ।’

गणतन्त्र र संघीयताको पक्षधरता

रामप्रसाद राईमा लोकतान्त्रिक विचारधाराको प्रबल पक्षधरता रहेको छ । उनी राणाशासन अर्थात् सामन्तवादको पूर्ण अन्त्य चाहन्थे तर तथाकथित दिल्ली सम्झौताले राणाहरूलाई ‘प्रजातान्त्रिक व्यवस्था’मा पुनः सम्मानजनक हैसियत प्रदान गरेपछि उनी भारतीय हस्तक्षेप र राजतन्त्रविरोधी पनि बन्न पुगे । सिंहदरबार विद्रोहसम्म आइपुग्दा उनी पूर्ण गणतन्त्रवादी बन्न पुगे ।

उनी ‘स्वराज’ (स्वायत्तता)का पक्षमा थिए । यसका लागि किरात संघनामक संगठन स्थापना गरेर उनी प्रमुख नेता बनेका थिए । रामप्रसाद राई दिल्ली सम्झौताको सख्त विरोधी थिए । उनको विश्वासमा दिल्ली सम्झौताले क्रान्ति अधुरो हुन पुगेको थियो र विदेशी हस्तक्षेपलाई स्वीकार गरेको थियो । यही दिल्ली सम्झौता नै हो जसले रामप्रसाद राई सिंहदरबार विद्रोह र काठमाडौं घेराउ गर्ने हदसम्म नेतृत्व गर्न तयार भए ।

ठीक अहिले नेपालमा संघीयता, गणतन्त्र र राष्ट्रिय स्वाधीनतालाई परिवर्तनको जुन प्रमुख एजेन्डा बन्न पुगेको छ त्यो नै थियो रामप्रसाद राईको सशस्त्र विद्रोहको राजनीतिक गुदी । लोकनारायण सुवेदी पनि लेख्छन्, ‘दिल्ली सम्झौताको विरोध गर्दै जनक्रान्तिलाई सम्पूर्ण सामन्ती व्यवस्थाकै विरुद्ध विकसित गरेर गणतन्त्र नेपालको स्थापना गर्ने दिशातर्फको अग्रसरता नै वास्तवमा रामप्रसाद राईको इतिहासको उचाइ हो ।’

( भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई ः माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको सम्पादित एक अंश ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.