प्रश्नहरूको स्तम्भ
कविता
शीत खसेको मैलो लुगामा
घुर ताप्दा मिसिएको धुवाँको गन्धलाई
तिमीले बारुद भन्यौ
अब प्रश्न उठ्छ–
उनीहरू आतंककारी कि तिम्रो नाक ? युगौंदेखि ओढेर शीतलहर
सिलाएकै हुन् देशको झन्डा
गाडिएर कम्मरसम्म यही माटोमा
उभिएकै हुन् शक्तिशाली सिमाना
सिकेर यहीँकै चराहरूसँग संगीत
गाएकै हुन् झन्डाको गीत
अचम्मको कुरा,
तिमीले
झन्डा बोक्ने हातहरूका रङ देखाउँदै
कत्ति सजिलै पराई भन्यौ
अब प्रश्न उठ्छ–
उनीहरू अराष्ट्रवादी कि तिम्रो सोच ? थामेर हुरी छाती–छातीहरूमा
सदियौंदेख राखेकै हुन् मुटुमा देश
खाएर आफैं जन्मिएको माटोको कसम
लडिरहेकै हुन् सिमानामा
बचाएर आफ्नै पुर्खाहरूको भाषा
सुनाइरहेका हुन् राष्ट्रको कथा सन्ततिलाई
अचानक तिमीले
उनीहरूको लवजप्रति शंका ग¥यौ
अब प्रश्न उठ्छ–
उनीहरू बिखण्डनकारी कि तिम्रो दृष्टिकोण ? ? निहु¥याएर नांगा ढाडहरू
उहिल्यैदेखि सिंगारिरहेका हुन् यहीँको धर्ती
निचोरेर पूरै पसिना शरीरहरूको
उचालिरहेका हुन् शासनको भार आजसम्म
रमाएर निरन्तर यहीँको परिवेशमा
बचाइराखेका हुन् मन–मनमा राष्ट्रप्रेम
बिडम्बना,
तिमीले उनीहरूको मन माथि नै शंका ग¥यौ
अब प्रश्न उठ्छ–
उनीहरू अराजक कि तिम्रो नियत ? उभिएर आदिम कालदेखि तिमीसँगै
हिँडिरहेकै छन् यो यात्रा
टेकेर उनीहरूको काँध
उभिरहेको छ देश आज पनि
खपेर हज्जारौं हण्डर र मारहरू
थपिरहेका छन् यो देशमा सुन्दर रङहरू
ओ महोदय !
यत्तिका पछि आएर
उनीहरूलाई नै अनागरिक भन्यौ
र, भन्यौ आफ्ना होइनन् अब प्रश्नहरू उठ्छन्–
जब उनीहरू नै तिम्रा होइनन् भने
युगौंदेखि उनीहरूले टेकेको धर्ती चाँहि कसरी तिम्रो मात्रै हुन्छ ?
जब उनीहरू नै तिम्रा होइनन् भने
उनीहरूले निरन्तर लडेर सुरक्षित गरेको सिमाना कसरी तिम्रोमात्रै हुन्छ ?
जब उनीहरू नै तिम्रा होइनन् भने
उनीहरूले सदियौंदेखि आफ्नो मुटुमा राखेको देश
कसरी तिम्रो मात्र हुन सक्छ ?