बालबालिकाका खेलौनामा ‘घातक’ रसायन
काठमाडौं : बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायनसम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ । मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, बिक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिबन्ध लगाएको छ ।
यसअघि खेलौनासम्बन्धी मापदण्ड नहुँदा आयातकर्ता तथा निर्माणकर्ताले बालबालिकाको स्वास्थ्यसँग खेलबाड गर्दै आफूखुसी घातक रसायन प्रयोग गरी खेलौना तयार पार्दै आएका थिए । यस्ता घातक रसायनयुक्त खेलौना प्रयोग गरी बालबालिकामा तत्कालीनदेखि दीर्घकालीन अवस्थाका घातक रोग लाग्ने सम्भावना हुन्छ । वातावरण मन्त्रालयले बालबालिकाले प्रयोग गर्ने खेलौनामा गह्रौं धानुलगायत अन्य १२ प्रकारका रासायनिक पदार्थको मात्रासम्बन्धी मापदण्ड निर्धारण गरेको हो ।
निर्धारण गरिएको मापदण्डअनुसार खेलौनामा क्याडमियमको अधिकतम मात्रा ७५ पीपीएम (पार्ट पर मिलियन) तोकिएको छ । यस्तै क्रोमियमको मात्रा ६० पीपीएम निर्धारण गरिएको छ । खेलौना निर्माताले अबदेखि खेलौनामा सिसा (लिड) को मात्रा ९० पीपीएमभन्दा बढी प्रयोग गर्न नपाउने गरी मापदण्ड तयार पारिएको छ । त्यस्तै पारो (मर्करी) को अधिकतम मात्रा ६० पीपीएम तोकिएको छ ।
सरकारले खेलौनामा आइरन (जिंक) को मात्रा ३.७५, एन्टिमोनी ६०, आर्सेनिक २५, वैरियम एक हजार, सेलेनियम पाँच सय र ब्रोमाइन अधिकतम एक सय पीपीएमको हाराहारीमा हुनुपर्ने मापदण्ड तोकेको छ । यसैगरी खेलौनामा बीस फिनेलको मात्रा शून्य हुनुपर्ने र थाइलेट्सको मात्रा अधिकतम एक सय हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार खेलौना निर्माण गर्न र भण्डारण गर्न निर्देशन दिएको छ भने मापदण्डअनुसारकै खेलौना आयात गर्न आयातकर्तालाई सुझाव दिएको छ । ‘तोकिएको मापदण्डभन्दा बाहिरका खेलौनाको नेपालभित्र आयात, भण्डारण, बिक्रीवितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ’, सरकारद्वारा जारी राजपत्रमा उल्लेख छ ।
सरकारले निर्माण गरी बनाएर खेल्ने खेलौना, पुतली तथा लघु स्वरूपमा निर्माण गरिएका खेलौना, उड्ने, गुड्ने तथा चल्ने खेलौना, बौद्धिक स्तर तिखो बनाउन खेलौनाका रूपमा प्रयोग गरिने पजल, पजल क्युब र क्युब ब्लकजस्ता खेलौना, संकलन गरी बाँडेर खेलिने खेलौना, विज्ञापन तथा प्रचारप्रसारका लागि बनाइने खेलौना, विद्युतीय तथा यान्त्रिक उपकरण प्रयोग गरी बनाइएका खेलौना तथा लेखेर र मेटेर खेलिने शैक्षिक खेलौनाको हकमा यस्तो मापदण्ड निर्धारण गरेको हो ।
सरकारले खेलौना आयात गर्दा खेलौनाको उत्पादन केन्द्रबिन्दु भएको मुलुकको सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट हरेक ब्याचको परीक्षणसम्बन्धी प्रतिवेदनका आधारमा मात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ । स्वदेशी उत्पादनकर्ताको हकमा उत्पादकले प्रत्येक ब्याचको खेलौनाको सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराएर मात्रै बिक्रीवितरण गर्न पाउने व्यवस्था पनि गरेको छ ।
बालबालिकाले कागज, रबर, टिन, कपडा, कपास, प्लास्टिक, काठ, फलामलगायतबाट निर्मित रंगीचंगी र चहकिलो खेलौना बढी मन पराउँछन् । शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि उपलब्ध गराइने यस्ता खेलौनामा एक दर्जनभन्दा बढी प्रकारका विषाक्त घातक रसायन सम्मि श्रण गरिएको भेटिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले पछिल्लो तीन वर्षदेखि खेलौनामा प्रयोग हुने रसायनको मात्रासम्बन्धी मापदण्ड तयार गर्न सरकारलाई दबाब दिँदै आएको थियो । ‘लामो समयको जनचेतना र दबाबका कारण सरकार मापदण्ड तयार गर्न सफल भयो’, सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहले भने ।
सिफेडले पछिल्लो समयमा युनेप र दक्षिणकोरियास्थित युहान किंमबर्ली युनिभर्सिटीको सहयोगमा उपत्यकाका विभिन्न स्थानमा खेलौनामा मिसाइने रसायनसम्बन्धी अध्ययन गरेको थियो । काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेको असनबजार, महाबौद्घ, बनेपा, भक्तपुर, पुल्चोक, कोटेश्वर, लगनखेल, ग्वार्को, जाउलाखेल, पाटन, महापाल तथा नयाँबानेश्वरका खेलौना पसलमा पुगेर अध्ययन गरेको थियो ।
त्यसअनुसार एक सय प्रकारका खेलौनामध्ये प्लास्टिकका ६३, धातुका ११, काठका नौ, रबरका सात, माटोका तीन, कपास र कपडाका चार, फोमका दुई र कागजबाट तयार पारिएको एउटा खेलौनालाई अध्ययनमा समावेश गरिएको थियो ।
अध्ययनअनुसार ५४ प्रतिशत खेलौनामा स्वास्थ्यका हिसाबले निक्कै हानिकारक मानिने पारो, सिसा, क्रोमियम, क्याडमियम र ब्रोमिन भेटिएको थियो । खेलौनामा यस्ता रसायनको मात्रा आठ हजार तीन सय पाँच पीपीएमसम्म भेटिएको थियो । संकलित खेलौनामा २८ वटामा सिसा, एकमा पारो, नौवटामा क्याडमियम, १४ वटामा क्रोमियम तथा ४० वटामा ब्रोमिन भेटिएको थियो ।
यस्तै ५४ प्रतिशत खेलौनामा कम्तीमा एक रसायन, २७ प्रतिशतमा दुई प्रकारका रसायन, ११ प्रतिशतमा तीन प्रकारका रसायन र एक प्रतिशतमा चारवटा रसायन प्रयोग गरिएको भेटिएको थियो । खेलौनामा अमेरिका र युरोपियन मुलुकले निर्धारण गरेको मापदण्डभन्दा झन्डै ३४ गुणा बढी सिसा प्रयोग भएको पाइएको थियो ।
यसैगरी बौद्धिक स्तर तिखो बनाउन खेलौनाका रूपमा प्रयोग गरिने पजल, पजल क्युब र क्युब ब्लकजस्ता खेलौनामा प्रयोग, आयात र खरिदबिक्रीमा प्रतिबन्ध लगाइएको ओक्टा बीडीई र डेका बीडीई भन्ने घातक रसायन प्रयोग भएको भेटिएको थियो । मनमोहक रङमा बजारमा बिक्री हुने एबीसीडी, वानटुथ्रीफोर र कलर मिलाउनेसम्बन्धी पजलमा यस्तो रसायन भेटिएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा बर्सेनि करिब ८० करोड मूल्यबराबरको खेलौना आयात हुन्छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, मलेसिया, थाइल्यान्ड, अमेरिका, युरोपलगायत मुलुकबाट खेलौना आयात हुन्छ ।
कुन रसायनले कस्तो हानि गर्छ ?
क्रोमियम : एलर्जी हुने, नाक चिलाउने तथा नाकबाट रगत बग्ने, पेट दुख्ने तथा अल्सर हुने, श्वासप्रश्वासमा समस्या देखिने, पाचनप्रणालीमा गडबडी उत्पन्न हुने तथा फोक्सो र कलेजोमा समस्या आउने ।
ब्रोमिन : आँखा पोल्ने, घाँटीमा समस्या आउने, स्नायु प्रणालीमा गडबडी हुने तथा कलेजो र फोक्सोमा समस्या देखा पर्ने ।
पारो : विश्व स्वास्थ्य संगठनका अनुसार पारोले स्नायु, पाचन, श्वासप्रश्वास प्रणालीसहित मिर्गौला तथा फोक्सोमा असर पु¥याउँछ । यसले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुका साथै बालबालिकाको बौद्धिक तथा शारीरिक विकासमा समेत असर गर्छ । पारो हाम्रो शरीरको रोगसँग लड्ने क्षमताका सबैखाले प्राकृतिक बाधा जस्तै : गर्भनाल, मस्तिष्क रक्तकोशिका तथा छालालाई पार गरेर हाम्रो शरीरलाई हानि पुर्याउँछ । पारोका कारण रिसाउने, लजाउने, काँप्ने, हेर्ने र सुन्ने शक्तिमा नकारात्मक असर गर्छ । स्मरण शक्तिसम्बन्धी समस्या, वाकवाकी लाग्ने, रक्तचाप तथा छातीको धड्कन बढ्ने, छालामा दाग तथा आँखा पोल्नेजस्ता रोग पनि देखापर्न सक्छ ।
क्याडमियम : हड्डी कमजोर बनाउने तथा भाँचिन सक्ने, बालबालिकामा सुस्तपना आउने, आनीबानीमा परिवर्तन आउने तथा क्यान्सरजन्य रोग लाग्नसक्छ ।
सिसा : रक्तनलीमा सिसाले रातो रक्तकोशिकालाई मार्छ । यसका कारण विभिन्न अंग तथा तन्तुमा रगतको कमी भएर आवश्यक अक्सिजन पुग्न सक्दैन। सिसाले मस्तिष्क र स्नायुप्रणालीको विकासमा अवरोध पु¥याउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । यसबाहेक टाउको दुख्ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर वृद्घिमा कमी आउने, बानीबेहोरामा परिवर्तन आउने, श्रवणशक्ति गुम्नुका साथै अचेत अवस्थामा पुग्ने पनि त्यतिकै सम्भावना हुन्छ । सिसाको नियमित सम्पर्कमा आउदा मिर्गौलाको कार्यमा असर पुग्छ ।