अमेरिकन राष्ट्रपति ट्रम्पलाई नेपालको बधाई
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
ट्रम्पलाई भिन्दा—भिन्दै बधाई सन्देश पठाउंदै भण्डारी र दाहालले बधाई दिएका हुन् । सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कुटनीतिक संबन्ध स्थापना भएदेखि सद्भाव र भातृत्वपूर्ण रहेको बताउंदै ट्रम्पको कार्यकालमा द्विपक्षीय संबन्धले नयां उचाई लिने विश्वास राखेकी छिन् । ट्रम्पको कार्यकालमा अमेरिकाले अझै प्रगति गर्ने उनको विश्वास छ ।
सन्देशमा प्रधानमन्त्री दाहालले ट्रम्पको कार्यकालमा नेपाल अमेरिका संबन्ध गहिरिने विश्वास ब्यक्त गरेका छन् । अमेरिकी जनता र अमेरिका सरकारले नेपालको विकासमा गरेको सहयोगप्रति धन्यवाद दिंदै दाहालले आगामी पनि पनि यहांको स्थिरता, शान्ति, समृद्दिमा अमेरिकी सद्भाव कायमै रहने विश्वास लिएका छन् ।