पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी

पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडौं : प्रदेश चार र पाँचको सीमा हेरफेरसहित संसद्मा विचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनलाई प्याकेजका रूपमा स्वीकार गरी अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीले फेरि अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहालले बालुवाटारमा शनिबार बोलाएको बैठकअघि गोप्य वार्ताका क्रममा ओलीले संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म निर्वाचन घोषणा गर्ने निर्णयमा आफ्नो सहमति नहुने बताएपछि जटिलता बढेको छ । तीन दलका नेताहरू संयुक्त बैठकमा बस्नुअघि दाहालले ओलीसँग आधा घन्टा बालुवाटारमै वार्ता गरेका थिए ।

पाँच नम्बर प्रदेश विभाजन हुने गरी गरिने संविधान संशोधनमा सहमति नदिने अडान ओलीले व्यक्त गरेपछि बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक पनि संशोधनमा सहमति जुटाउन नसकी टुंगिएको हो ।

प्रधानमन्त्री दाहालले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी आगामी साता निर्वाचन मिति घोषणा गर्न दलहरूको सहमति जुटाउने कसरत गर्दै शनिबार आफ्नै निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

एमालेका नेताहरू आफ्नो पुरानो अडानबाट पछाडि नहटेपछि संशोधनका बारेमा बैठक बिनानिष्कर्ष टुंगिएको हो । ‘संविधान संशोधन विधेयकका बारेमा आआफ्ना अडान कायमै छन् । सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता नलिने बताएको छ भने एमालेले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने ।

एमाले उपाध्यक्ष भीम रावलले पनि संशोधन प्रस्तावका बारेमा सहमति जुट्न नसकेको बताए । ‘हामीले संशोधन प्रस्ताव फिर्ता लिनुस् वा स्थगित गर्नुस् भन्यांै’, रावलले अन्नपूर्णसँग भने ।

मधेसकेन्द्रित दलले निर्वाचन मिति घोषणा गर्नुभन्दा पहिले संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गरिनुपर्ने बताउँदै आएका छन् भने स्थानीय तहको सीमांकनमा नुवाकोटसहितका जिल्लामा आन्दोलन भइरहेको छ ।

स्थानीय तहको सिमानाका बारेमा भइरहेको आन्दोलनलाई कसरी सम्बोधन गर्ने भन्नेमा गत बिहीबारको मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो ।

एमालेले संविधान संशोधनलाई भन्दा निर्वाचनलाई प्राथमिकता दिएको छ । श्रेष्ठका अनुसार निर्वाचनकेन्द्रित बैठकमा २०७४ मंसिरभित्र स्थानीय तह, प्रान्त र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेमा छलफल भएको थियो । संविधानअनुसार २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्नेछ ।

मधेसकेन्द्रित दलका नेताहरूले निर्वाचनलाई भन्दा संशोधनलाई प्राथमिकता दिएको अवस्थामा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्लान् भन्नेमा आशंका जन्मिएको छ ।

‘चार दिनभित्र निर्वाचनसँग सम्बन्धित विधेयक संसद्बाट पारित गर्ने प्रक्रियामा अगाडि बढाउने, मधेसकेन्द्रित दलसँग सहमति जुटाउन छलफल गर्ने र पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने गरी छलफल भएको छ’, श्रेष्ठले भने ।

उनका अनुसार प्रधानमन्त्री दाहालले मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गर्न स्थानीय तहका प्रतिनिधिले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यका लागि मतदान गर्ने व्यवस्था हटाउन सकिन्छ कि भनेर प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री दाहालको यो प्रस्तावलाई एमालेले ठाडै अस्वीकार गरेको छ ।

‘यसमा अहिले निर्णय गर्न सकिँदैन’, एमालेका नेताहरूले भनेका थिए । रावलका अनुसार निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

‘निर्वाचनका लागि शान्तिसुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा पनि छलफल भएको छ’, रावलले भने ।

बैठकमा ओलीका साथमा एमाले नेता भीम रावल र सुवास नेम्बाङ पनि सहभागी थिए । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि थिए । माओवादी केन्द्रका नेताहरू नारायणकाजी, रामबहादुर थापा, चक्रपाणि खनाल र पम्फा भुसाल सहभागी थिए । न्यायाधीश नियुक्ति प्रकरणमा भइरहेको आन्दोलनका बारेमा बैठकमा छलफल नै भएन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.