राष्ट्रपति ट्रम्प
संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले शपथ लिइरहँदा त्यहाँ केही अनपेक्षित या पत्यार नलाग्दा उग्र घटना भएका छन् । उनको विरोध गर्ने दुई सयभन्दा बढी व्यक्ति गिरफ्तार भएका छन् भने प्रदर्शनकारीले एउटा गाडीमा आगोसमेत लगाएका छन् । आक्रोश, विरोध एकातिर र अमेरिकाको गतिशील प्रभुत्वका लागि उनलाई समर्थन गर्नुपर्ने अर्को पक्षबीच मनोवैज्ञानिक र केही हदसम्म भौतिक टकरावको अवस्था सिर्जित छ अहिले, विधिवत् रूपमा ट्रम्पले शपथ ग्रहण गरी ह्वाइट हाउस प्रवेश गरेपछि ।
राष्ट्रपति ट्रम्पकै अभिव्यक्ति या विश्लेषणमा यसअघि अमेरिका धेरै कमजोर रहेको सन्देश पनि गएको छ । आफ्नो सीमाक्षेत्र बलियो बन्ने अनि अर्थतन्त्र र अमेरिकी औद्योगिक उत्पादनलाई प्राथमिकतापूर्ण संरक्षण दिने, उपभोगमा अमेरिकी सामानले र रोजगारीमा अमेरिकीहरूले ग्राह्यता पाउने घोषणापछि विश्व मान्यतामा अमेरिका अवसरको खोजीमा रहेका ‘प्रतिभा’ हरूका लागि सपनाको देश रहने छैन । त्यससँगै आपराधिक पृष्ठभूमि रहेका, अमेरिकाले यसअघि अपनाएका नीतिका कारण त्यहाँ पुगेका र अन्य किसिमबाट आप्रवासी बन्न पुगेका विदेशीको जीवन अनिश्चित बन्न पुगेको छ, मनोवैज्ञानिक रूपमा ट्रम्पको ह्वाइट हाउस प्रवेशलगत्तै ।
आठ वर्षअघि पहिलोपल्ट र चार वर्षपछि फेरि एउटा अश्वेतलाई राष्ट्रपति पदमा निर्वाचित गरेर समावेशी र सहिष्णु राष्ट्रिय चरित्र बनाएको अमेरिका ट्रम्पको उदयपछि अर्को मिश्रत छवि बोकेर विश्वसामु उपस्थित भएको छ । उनका केही अभिव्यक्ति त्यो मान्यताअनुकूलका मुलुकहरूमा नयाँ आसा पनि सञ्चार गरेको छ । इस्लामिक उग्रपन्थ तथा आतंकवादको अनुहार मानिएको आईएसआईएसलाई पराजित गर्ने घोषणाको समर्थन प्राय सबैले गरे पनि पहिलेको रणनीतिभन्दा अहिलेको युद्ध कसरी फरक होला, त्यो भोलि देखिने कुरा हो ।
आतंकवाद केवल अमेरिकाको मात्र समस्या नभई समग्र विश्वकै हो, तर विश्वका समृद्ध र शक्तिशाली राष्ट्रहरूले साँच्चै आतंकवादबारे द्वैध मान्यता राखेनन् भने आफूअनुकूल परिस्थिति उत्पन्न गर्न आतंकवाद जन्माउने र मलजल गर्ने कार्य गरेनन् भने आतंकवादविरुद्धको युद्ध साझा एजेन्डा बन्ने छ विश्वकै । त्यसका लागि ट्रम्प फरक र इमानदार देखिन सके भने त्यो उपलब्धि हुनेछ विश्वकै लागि ।
तर ट्रम्पको आगमनले आतंकवादलाई मात्र हैन विश्व शान्ति तथा अन्तर्राष्ट्रिय समझदारीमा कस्तो प्रभाव राख्ला, त्यो अर्को महत्वपूर्ण पक्ष हुनेछ । तर अमेरिकाभित्र उनको आगमनले कस्तो अर्थ राख्ला, उनीसँग असन्तुष्ट अमेरिकी जनमानस र प्रतिपक्षी राजनीतिक पक्षसँगको उनको टकराहटले भोलि कस्तो स्वरूप लेला, यी सबैले ट्रम्पको मुलुकभित्र र बाहिर सफलता या असफलताको मार्गचित्र कोर्ने छ ।
एउटा शक्तिशाली मुलुकमा ट्रम्पको उदय अमेरिकी सुरक्षामा उसको अनिश्चितताको कारण बन्न सक्छ भन्ने मान्यता देखिनु नै प्रारम्भिक संकेत हो कि, अमेरिकामा पनि सबै कुरा ठीक छैन । तर अमेरिकी राष्ट्रपतिलाई विश्वले उनका नीतिकै आधारमा प्रारम्भिक विश्लेषण गर्ने छ ।