त्यो वैभव, यो नियति
पछिल्लो महिना भारतीय सञ्चारमाध्यममा भुटानी राजपरिवारका कनिष्ठ सदस्यको अभिव्यक्तिले धेरैलाई चकित तुल्यायो। भुटानी राजपरिवारका तीनवर्षीय नाति राजकुमार दु्रएक वाङचुकले आफू ८ सय २४ वर्षअघि नालान्दा विश्वविद्यालयको विद्यार्थी रहेको बताउँदा राजपरिवार मात्रै नभई त्यो खबर सार्वजनिक भएपछि सबै चकित परे ।
उनले आफू नालान्दा विश्वविद्यालयको विद्यार्थी भएको मात्रै बताएनन् तत्कालिन नाम भसेरोचन लोचन भएको समेत बताए । नालान्दाको विषयमा ती बालकले दिएको सबिति बयानले उनकी हजुरआमा अर्थात् वर्तमान रानीलाई कौतुहलता र आश्चर्यले त्यसै बस्न दिएन र लागिन् नातिलाई साथ लिएर नालान्दा विश्वविद्यालय खोज्न । नातिले भनेझैं नालान्दा वर्तमान भारतीय राज्य बिहारको राजधानी पटनाबाट ९९ किलोमिटर दक्षिणपूर्वमा रहेको सम्पुष्टि भयो । सपनाजस्तो लाग्ने तीन वर्षीय नातिको विवरण जस्ताको तस्तै पाउँदा उनले भोगेको विश्मय उनैले जानुन् ।
त्यो अविश्वनीय जस्तो लाग्ने खबरले पंक्तिकारलाई पनि यसको यथार्थ उत्खनन् तथा अध्ययनका लागि थप उद्वेलित गरायो । नालान्दा विश्वविद्यालयका बारेमा विस्तृत जानकारीका लागि ऐतिहासिक दस्ताबेज, अभिलेख, पुस्तक तथा सोध सामग्री खोज्दै जाँदा अरू धेरै पाटा उजागर हुँदै गए, जो पूर्वीय दर्शन तथा वैभवका दृष्टिले अद्वितीय थिए । सन् ४२७ देखि ११९३ सम्म शासन गरेको गुप्ता वंशले यो वैभव सिर्जना गरेको रहेछ ।
सातौं शताब्दीमा गुप्ता वंशका कुमार गुप्ताले यसको वैभवलाई झनै बढाए । विडम्बना तेस्रो पटकको आक्रमणमा टर्कीका शासक भक्रिया खाँजीको आक्रमणममा सन् ११९३ मा गुप्ता वंशको मात्रै अन्त्य भएन नालान्दाको वैभवसमेत नामेट बन्न पुग्यो । दस हजार विद्यार्थी विभिन्न विधामा अध्ययन गर्ने यो शिक्षाको केन्द्रमा स्रोङ्चङ ग्याम्पोले समेत अध्ययन गरेर त्यही समय महायान बौद्ध परम्परा चीनमा फैलाएका थिए । उनले हिन्दू तथा बौद्ध परम्पराबाट प्रभावित भएर मोक्षदेव भन्ने संस्कृत नामसमेत राखेका थिए ।
नालान्दा त चौथो शताब्दीको विद्याको केन्द्र थियो । तर गौतम बुद्धको जन्मभन्दा अगावै पनि यो क्षेत्रमा बहुविधाको विश्वविद्यालय थियो ।
प्राचीन भारतमा गान्धार राज्यको राजधानी तथा हाल पाकिस्तानको पन्जाव प्रान्तको रावलपिन्डी जिल्लामा अवस्थित ईसापूर्व सात सयमा स्थापित तक्षशिला विश्वकै सबैभन्दा पुरानो विश्वविद्यालय (गुरुकुल) हो । रामका भाइ भरतका छोरा तक्षले सिन्धु नदीको किनारमा स्थापना गरेको यो शिक्षाको केन्द्र कालान्तरमा विश्वकै अध्ययनको केन्द्र बन्न पुग्यो । तक्षशिलामा एसियाबाट मात्रै नभई युरोपबाटसमेत विद्यार्थी तथा जिज्ञासु अध्ययन गर्न र समस्या समाधान गर्न आउने गरेको विभिन्न स्रोतग्रन्थमा उल्लेख भएको पाइन्छ । दस हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्ने तक्षशिलामा ६० भन्दा बढी विधामा पठनपाठन हुन्थ्यो ।
आजभन्दा २७ सय वर्षपहिला नै यो शिक्षाको केन्द्रमा एकैपटक भाषा, व्याकरण, दर्शनशास्त्र, शल्यचिकित्सा, कृषि, भूविज्ञान, ज्योतिष विज्ञान, खगोलशास्त्र, समाजशास्त्र, धर्म, तन्त्रशास्त्र, मनोविज्ञान, यो शास्त्रलगायतको अध्ययन र प्रयोग हुन्थ्यो भन्ने सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । त्यति मात्रै होइन तक्षशिला त्यो समयमा चिकित्साशास्त्रको एक मात्र सर्वोपरी केन्द्र थियो । प्राचीन ग्रीसका अनेकौं विद्धान तक्षशिलामा आएर अध्ययन गरेको युनानकालीन लिखतहरूमा उल्लेख छ । गणितज्ञ पाइथागोरसले आफ्ना साध्यको पुष्टि यही आएर गरेका हुन् भन्ने मान्यता छ ।
कौटिल्य (चाणक्य) ले पनि यही बसेर लामो समय अर्थशास्त्र अध्ययन गरेका थिए । कौटिल्य एलेक्जेन्डरविरुद्ध संगठित हुनुमा पनि उनले गरेको आक्रमणबाट आफ्नो विद्याको केन्द्र बचाउन हुनुपर्छ । तात्कालिन समयमा सम्राट अशोकाका हजुबुबा चन्द्र गुप्तको सहयोगमा कौटिल्यले यो स्थानलाई अतिक्रमण मुक्त गराएका थिए । पछि अशोकाले राज्य विस्तार गर्दा उत्तरमा तक्षशिला, उज्जैनलाई समेत आफ्नो साम्राज्यमा मिलाउन सफल भएका थिए । कालान्तरमा हुणहरूको निरन्तर आक्रमणले यो स्थान पूर्णरूपमा ध्वस्त हुनपुग्यो । एक सभ्य र सुसंस्कृत स्थान र विश्वको प्राचीनतम् शिक्षाको केन्द्रको अस्तित्व सधैंका लागि नामेट हुन पुग्यो । पूर्वीय सभ्यताको यो वैभव सन् १९२६ देखि १९३० सम्म गरिएको उत्खनन्बाट मात्र बाँकी विश्वले थाहा पायो । विडम्बना आजसम्म पनि हामी आफंैमा भएको त्यो अद्वितीय वैभव बिर्सिएर या बेवास्ता गरेर अनवरत रूपमा पश्चिमतिर मात्रै फर्किरहेका छौं, आश गर्न अभिसप्त छौं ।
लर्ड म्याकालेको शिक्षा पद्धति
डच, पोर्तुगालीहरूको एसियामा भएको व्यापार अभिवृद्धि देखेर, सुनेर अंग्रेजहरूले पनि सन् १६५७ मा महारानी एलिजावेथको आदेशमा इङ्ल्यान्डमा ‘इस्ट इन्डिया कम्पनी’ भन्ने ठूलो व्यापारिक संस्था खोले । त्यसै वर्ष भारतमा शासन गरिरहेका मुगल बादशाहकी छोरी बिरामी हुँदा अंग्रेज डाक्टरले ओखतीमूलो गरेबापत शाहजहाँले (जसले आफ्नी श्रीमतीको सम्झनामा आग्रामा ताजमहल बनाएका थिए) अंग्रेजलाई चुँगी भन्सार मात्रै माफ गरेनन् ईसाइ धर्म प्रचार गर्ने अनुमति समेत दिए । अंग्रेजको बल विस्तारै बढ्दै गयो ।
१९ औं शताब्दीको सुरुदेखि त मुगल साम्राज्य विस्थापित गरेर अंग्रेजले सम्पूर्ण शासनसत्ता नै आफ्नो हातमा लिए । यसबाट देखिन्छ सियो बनेर पस्ने अंग्रेज रणनीति फाली बनेर पटाक्षेप हुँदोरहेछ । भारतमा व्यापारिक प्रयोजनका लागि सन् १६५७ मा छिरेको इस्ट इन्डिया कम्पनी कालान्तरमा त्यहाँको सत्ता, धर्म, संस्कृति तथा शिक्षा पद्धतिमा समेत हाबी भयो । व्यापार विस्तारको अभीष्ट फराकिलो हुँदै गए पनि विस्तारै अंग्रेजले मौलिकतामा दागा धर्दै आफ्नै पद्धतिलाई सबै पक्षमा फैलाउँदै गयो ।
दक्षिण एसियामा भाषा, संस्कृति तथा धर्ममा व्याप्त पश्चिमी प्रभाव पर्गेल्न सन् १८३५ तिर फर्किनुपर्ने हुन्छ । भारतलाई उपनिवेश बनाएको इस्ट इन्डिया कम्पनीलाई सत्ता र अर्थतन्त्रमा मात्रै नभई समाजका सबै पक्षमा प्रभावी बनाउने र अंग्रेजको शासनसँगै अंग्रेजी भाषा, संस्कृति, सभ्यता, धर्म तथा शिक्षा प्र्रणाली कसरी लागू गर्ने भन्ने रणनीतिका लागि लर्ड म्याकाले अनुपम पात्र हुन् । सोही प्रयोजनका लागि बेलायती संसद्ले लर्ड म्याकालेलाई भारत पठायो । सन् १८३५ देखि १८३८ सम्म भारतको सबै क्षेत्रमा अध्ययन गरेर म्याकालेले बेलायती संसद्मा बुझाएको प्रतिवेदनको सार थियो, कुनै पनि देशमा दीर्घकालीन शासन गर्न धर्म, भाषा र संस्कृतिमा आक्रमण गर्नुपर्ने र हर क्षेत्रमा बेलायती मोडेल लागू गर्नुपर्ने थियो । सोही सिफारिसअनुसार अंग्रेज सरकारबाट संस्कृत गुरुकुल र उर्दू शिक्षाका लागि दिइँदै आएको अनुदान रोक्का गरियो र अंग्रेजी पठनपाठनका लागि संस्थागत रूपमै प्रोत्साहित गरियो।
म्याकालेको निष्कर्ष थियो यदि कुनै पनि देशमा शासन सत्ता बिस्तार गर्नु छ भने त्यहाँको मूल्य प्रणाली, भाषा र धर्मप्रतिको आस्था खण्डित गर्नु र नयाँ मूल्य प्रणाली लागू गर्नु । त्यसैले त हाम्रो धर्म, संस्कृतिलाई ढोंगी, कुरीतिग्रसित, अन्धविश्वासी, पुरातन भन्ने उक्ति हामै्रहरू मार्फत् हामीलाई भनाउन उनीहरू सफल भए, अझै भइरहेका छन् । हामी भने चहकिलो बत्तीमा पुतली झुम्मिएझैं आफूलाई बिर्सिएर त्यतै मात्र फर्कन र त्यस्तै बन्न उद्धत छौं । भारतमा त्यही गरियो र त्यसको प्रभाव समग्र दक्षिण एसियामा प¥यो। ७० वर्षअघि अंग्रेजले छोडेर गए पनि उनीहरूले छोडेको शिक्षा पद्धतिको अंग्रेजी मोह भने झन् झन् विस्तार हुँदै गएको छ भारतसहित पूरै दक्षिण एसियामा ।
नेपालको शिक्षा पद्धतिलाई कहिलेदेखि र कसरी पश्चिमीकरण गरियो भनेर सोधियो भने २०२८ सालको शिक्षानीति भन्ने कुरा त धेरैलाई ज्ञात भएको कुरो हो तर त्यसको जग भने २०१२ सालदेखि नै निर्माण गरिएको रहेछ ।
नेपाली सन्दर्भ
नेपालको शिक्षा पद्धतिलाई कहिलेदेखि र कसरी पश्चिमीकरण गरियो भनेर सोधियो भने २०२८ सालको शिक्षानीति भन्ने कुरा त धेरैलाई ज्ञात भएको कुरो हो तर त्यसको जग भने २०१२ सालदेखि नै निर्माण गरिएको रहेछ । संस्कृत, नेपाली र अन्य मातृभाषाप्रतिको मोहभंगको सुरुवात जानिजनानी तात्कालिन सरकारबाटै भएको थियो । शिक्षा पद्धतिलाई म्याकालेकरण गर्न अध्यक्ष सरदार रुद्रराज पाण्डेको नेतृत्वको शिक्षा आयोगले अमेरिकास्थित ओरेगन विश्वविद्यालयका प्राध्यापक डाक्टर ह्युज बी उडलाई ‘विशेषज्ञ कन्सल्टेन्ट’ का रूपमा नियुक्त गर्यो ।
उक्त आयोगले तात्कालिन राजा महेन्द्रलाई बुझाएको प्रतिवेदनमा संस्कृत र नेपाली भाषाले काम गर्दैन, कर्मकाण्डले मात्रै हुँदैन, यस्तो शिक्षा पद्धतिले रोजगारी दिँदैन, आधुनिक हुँदैन भन्ने बेहोरा समेटेको थियो । त्यो प्रतिवेदन तयार पारिरहँदा संस्कृति दर्शनभित्रको वैभवता, विराटता तथा वैज्ञानिकतालाई भने पूर्णरुपेण नजरअन्दाज गरिएको थियो । माथि नै उल्लेख गरिसकिएको छ शताब्दीऔं अघि स्थापित गुरुकुलहरूमा चिकित्सा विज्ञानदेखि खगोलविज्ञानसम्म, शल्यक्रियादेखि गणितसम्मको शास्त्रार्थदेखि प्रयोगसमेत हुन्थ्यो । मौलिक भाषा मास्ने यो उपक्रमलाई शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइराला ‘अपराध’ को संज्ञा दिन्छन् । उनी भन्छन्—‘सुनियोजित यही योजनाले नेपालको वर्तवान िशक्षाको अवस्था टिठलाग्दो छ ।’ त्यस पश्चात् २०१८ सालमा सर्वागीण शिक्षा समितिको रिपोर्टले पनि सोही कुरालाई सदर गरेर अंग्रेजीकरण र पश्चिमी मोडेलको शिक्षा पद्धतिलाई सदर गर्यो । त्यसको चार वर्षपछि २०२२ सालमा युनेस्को कमिसनका तर्फबाट उड एन नाल नामक अमेरिकीले तयार पारेको प्रतिवेदनले पनि म्याकाले नीतिलाई नै सदर गर्यो ।
फलतः २०२८ सालको नयाँ शिक्षा नीति यो स्वरूपमा आयो । शिक्षालाई जीवनोपयोगी तथा समयसापेक्ष बनाउन तात्कलिन राजा महेन्द्रले अग्रसरता लिएर गरेको यो अनुष्ठान प्रकारान्तरले मौलिकता मास्न तथा आफ्नो भाषा तथा सभ्यता एवं संस्कृतिलाई त्याज्य ठान्ने बुझेर अन्तिम समयमा रोक्न खोजेका थिए । तर विडम्बना उनले यसलाई लागू नगर्नु भन्न नपाउँदै त्यही वर्ष उनको सिकार खेल्ने क्रममा चितवनमा निधन भयो । यो सम्पूर्ण विवरणका लागि गोपीनाथ शर्माले सम्पादन गरेको ‘नेपालको शिक्षा योजना’ नामक पुस्तकको फेहरिस्त हेरे पर्याप्त हुन्छ ।
अहिले राजनीतिक मुद्दाहरूदेखि शिक्षा पद्धत्ति, सभ्यता र संस्कृतिमा, आधुनिकताका मानकमा, भाषा र ज्ञानविज्ञानमा पश्चिमी हावा चलिरहेका बेला हामी पूर्वका र दक्षिणकाहरू कोही साम्राज्यवाद र उपनिवेशवादको थिचाइमा परेर, कोही तानाशाहहरूको रजाइमुनी दबेर अभाव र अपसादका बीच शताब्दीऔंसम्म यी र यस्तै कहर खेप्दै निद्राबाट भर्खरै बौरिंदै तन्द्रामा अवतरित हुँदैछौं ।
अन्त्यमा
‘गुरुकुल’ भन्दा ‘स्कुल’ त पक्कै पहिला बनेको होइन होला । ल्याटिन भाषा विद्यालयलाई भनिने ‘स्कोला’ कुन भाषाको प्रभाव होला ? यति मात्रै हेक्का राखे पनि पूर्वीय वैभव उजागर हुन्छ । होइन भने त आज पनि २७ सय वर्ष पुरानो विश्वकै सबैभन्दा पुरानो तक्षशिला विश्वविद्यालय (गुरुकुल) लाई बिर्सिएर केही शताब्दीअघिका हार्डवर्ड, क्याम्ब्रिज र अक्फोड मात्रै शिक्षाका लागि मानक स्तम्भ थिए र हुन् भन्ने मान्यता उनीहरू भनिरहन्छन्, हामी ठानी रहन्छौं । यात्री एपी वान टेलिभिजनका समाचार प्रमुख हुन् ।