ऊर्जामन्त्रीको अग्निपरीक्षा

ऊर्जामन्त्रीको अग्निपरीक्षा

खिम्ती, भोटेकोशी, माथिल्लो मर्स्याङ्दी 'ए' को शैलीमा अमेरिकी डलरमा विद्युत् खरीद सम्झौता (पीपीए) का लागि अहिले सबैभन्दा बढी ज्यान फालेर लागेको आयोजना माथिल्लो त्रिशुली-१ (२१६ मेगावाट) हो । सय मेगावाटभन्दा मुनिका अन्य केही आयोजना पनि डलर पीपीएका आकांक्षी छन् । सामान्य आयोजनाजस्तै यथार्थपरक लागत भएको अवस्थामा डलर पीपीए विद्युत् प्राधिकरण र मुलुकको अर्थतन्त्रका लागि त्यति घातक मानिँदैन ।

तर ६ करोड अमेरिकी डलर पर्ने भोटेकोशी (हाल ४५ मेगावाट) लाई ११ करोड अमेरिकी डलरको लागत देखाएर पीपीए गरिँदा अहिले प्राधिकरण झन्डै टाट उल्टने अवस्थामा आइपुगेको छ । प्राधिकरणको हालको सञ्चित नोक्सानी ३५ अर्ब रुपैयाँ कटेको आधारले यो संस्था धराशायी नै भइसकेको छ । यसको घाटा सरकारले क्रमिक रूपमा भड्ताल हाल्दै आएकाले मात्र टिकेको हो ।

विकास निर्माण र सामाजिक क्षेत्रमा गर्नुपर्ने सरकारी लगानी प्राधिकरणको घाटा पुर्दैमा सीमित भएको छ । यो वर्ष १२ अर्ब रुपैयाँ घाटा खाएको प्राधिकरणको अर्को वर्षको घाटा झन् बढ्ने देखिन्छ, अत्यधिक भारतीय बिजुली आयातका कारण । यस्तो घातक तथ्यप्रति प्राधिकरण, ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंक र संसदीय समितिहरू जानकार छन् । थाहा पाउँदा-पाउँदै पनि उनीहरू खिम्ती र भोटेकोशीको शैलीमा डलर पीपीएका लागि उद्यत देखिन्छन्-देश हितलाई सर्वोपरि उपेक्षा गरी फगत कमिसनको लालचका कारण ।

माथिल्लो त्रिशुली-१ को लागत पनि ३५ अर्ब रुपैयाँभन्दा बढी छैन, तर उसले ६० अर्ब रुपैयाँ देखाएको छ । यस्तो लागत देखाउँदै आएको आयोजनाको राज्य ग्यारेन्टी बसेको छ, कथित आयोजना विकास सम्झौता (पीडीए) का नाममा । जबकी यस्तो ग्यारेन्टी त्यतिबेला राज्यले दिनु उपयुक्त हुन्छ, जतिबेला उसले प्रतिस्पर्धा गरेर त्यसबाट राज्य र जनताका लागि ठोस हित भएको होस् । तर चोरबाटोबाट लाइसेन्स लिएर लागत उच्च पारेको, कुनै प्रतिस्पर्धा नगरेको आयोजनामा राज्य जमानी बसेको छ ।

यो जत्तिको लाजमर्दो अरु के हुन सक्ला ? यसमा अझ बढी शंका गर्ने आधार थुपै्र छन् । माथिल्लो त्रिशुलीको ठेकेदार आफैं, आफैं लगानीकर्ता छ । यन्त्र उपकरण ल्याउन भन्सार नलाग्ने भनिएको छ । अपारदर्शी लागत रहेको आयोजनाबाट फगत घाटा मात्र राज्यले बेहोर्ने यस्तो पनि पीडीए हुन्छ ?

हिजो नौ मेगावाटको बिजुली बढी (स्वीकृतभन्दा बढी क्षमताको टर्बाइन राखेर) भएको भन्दै अमेरिकी कम्पनीको सेयर रहँदा भोटेकोशीले त्यसको भुक्तानी नदिए अमेरिकी बजारमा कोटारहित र भन्साररहित नेपाली तयारी पोशाकलाई छिर्न नदिने भनेर सरकारलाई दबाब दिएको थियो । भोटेकोशीको लबिङमा नेपालका कपडा व्यापारी र ठूला मन्त्री नेतासमेत लागिपरेका थिए ।

तर लिखित रूपमा कसैले पनि दिन नसकेको र प्राधिकरण आफ्नो अडानमा रहेका कारण उसको त्यो लबिङ सफल हुन सकेन । अहिले ठीक यही अवस्था छ-डलर पीपीएमा । पीडीएअनुसार डलर पीपीए गर्न माथिल्लो त्रिशुली-१ ले लबिङ र दबाब दिन सुरु गरिसकेको छ । कदाचित् उसले भनेबमोजिमको डलर पीपीए भएमा आश्चर्य नमाने हुन्छ । को कति पानीमाथिको ओभानोमा रहन्छ, त्यो डलर पीपीए गर्ने, गराउने र गर्न पठाउनेका गतिविधिले देखाउनेछन् ।

ऊर्जा संकट कार्ययोजना, २०७२ ले डलर पीपीएसम्बन्धी बन्दोबस्त गर्ने भनेको थियो । त्यसैका आधारमा ऊर्जा मन्त्रालयका सहसचिवद्वय दिनेशकुमार घिमिरे र चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित बेग्लाबेग्लै समितिले आफ्नो प्रतिवेदन ऊर्जामन्त्रीसमक्ष बुझाइसकेका छन् । तर सरकारले त्यसलाई लागू र कार्यान्वयन गरिसकेको छैन । ऊर्जासचिव अनुपकुमार उपाध्यायको शब्दमा मन्त्रिपरिषद्बाट पारित गराइनेछ । यी प्रतिवेदन कार्यान्वयन भएमा खिम्ती र भोटेकोशीको जस्तो घातक शैलीमा पीपीए हुन पाउँदैन ।

थोरै भए पनि प्राधिकरण र मुलुकको अर्थतन्त्रलाई राहत मिल्छ । पारदर्शी रूपमा हुने पीपीएमा त्यति चलखेल हुन पाउँदैन । तर यो लागू कहिले हुन्छ ? अहं प्रश्न नै यही हो । सहसचिव घिमिरेको प्रतिवेदनले सय मेगावाटभन्दा मुनिको डलर पीपीए नगर्ने भनेको छ । सय मेगावाटभन्दा माथिको हकमा नदी प्रवाही आयोजना (रन अफ रिभर) का लागि प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँको माथिल्लो सीमा कायम गरेको छ ।

अझ अर्थतन्त्रको आयतन लाभ (इकोनोमी अफ स्केल) का हिसाबले जति ठूलो आयोजना हुन्छ त्यसको प्रतियुनिट लागत कम हुने मान्यता घिमिरे प्रतिवेदनले राखेको छ । यसअनुसार आयोजनामा गरिएको ऋण लगानीका लागि मात्र डलर पीपीए लागू हुने भनिएको छ । उसले लिएको ऋण नतिरुञ्जेल वा १० वर्षसम्ममध्ये जुन पहिलो हुन्छ त्यति अवधिसम्मका लागि मात्र डलर पीपीएको प्रावधान राखिएको छ ।

घिमिरे प्रतिवेदनका यी प्रावधानले पीपीएका लागि विगतमा हुँदै आएका घीनलाग्दा खेललाई एकप्रकारले रोकिदिएको मात्र छैन प्राधिकरणमाथि पर्ने सम्भावित ठूलो जोखिमलाई पनि कम गरिदिएको छ । यसका साथै विदेशी मुद्राको विनिमयमा आउने उतारचढावका कारण पर्नसक्ने जोखिमलाई पनि 'हेजिङ फन्ड' मार्फत कम गर्ने प्रयास गरिएको छ ।

त्यसैगरी जलाशययुक्त आयोजनाका लागि डलर पीपीएका सन्दर्भमा पनि बन्दोबस्त गरिएको छ । यसअनुसार मंसिर १६ देखि जेठ १५ सम्म प्रतियुनिट १२.४० रुपैयाँ (पीपीए गर्दाका बेला विनिमिय दरलाई आधार मान्ने) र जेठ १६ देखि मंसिर १५ सम्म प्रतियुनिट ७.१० रुपैयाँ राखिएको छ । अर्धजलाशय वा अत्यधिक बिजुली खपत हुने समय (पीआरओआर) को बिजुलीका हकमा (कम्तीमा ६ घन्टासम्मका उत्पादन हुनुपर्ने) मंसिर १६ देखि जेठ १५ सम्म प्रतियुनिट १०.५५ रुपैयाँ छ ।

र, गैर पिकिङका लागि मंसिर १६ देखि जेठ १५ सम्म प्रतियुनिट ८.४० रुपैयाँ गरिएको छ । यसरी समय, बिजुलीको प्रकार र त्यसले प्रणालीलाई पुर्‍याउने योगदानको समेत हिसाब गरी डलर पीपीएको प्रस्ताव छ । अब हेर्न मात्र बाँकी छ कि घिमिरे प्रतिवेदन माथिल्लो त्रिशुली-१ र अन्य सय मेगावाटभन्दा कमका डलर आकांक्षी आयोजनाका पीपीए भएपछि लागू हुन्छ कि त्यो अघि नै ? अहिलेको अहं सवाल यही हो ।

यी प्रतिवेदन लागू हुनमा जति ढिलाई गरिएको छ, त्यसले कतै डलर पीपीए गरिसकेर मात्र लागू गर्ने हो कि भन्ने आशंकालाई मलजल गरेको छ । कदाचित् यो प्रतिवेदन लागू नै नगरी धमाधम डलर पीपीए गर्ने हो भने त्यो देशप्रति हालसम्म गरिएका बेइमानीमध्ये सबैभन्दा ठूलो हुनेछ र जनताले प्रस्टै बुझ्नेछन् कि यो खेलमा अर्बौ रुपैयाँको कमिसन वितरण भएको छ । प्रक्रियागत ढिलाइ मात्र भएको तर नियत त्यस्तो नभएको हो भने त्यो स्वागतयोग्य हुनेछ । हाम्रा ऊर्जाका नेतृत्व वर्गले डलरमा आउने कमिसनलाई तिलाञ्जलि दिएको पुष्टि हुनेछ । यसैमा ऊर्जामन्त्रीको अग्निपरीक्षा हुनेछ ।

हरेक वर्ष ३३७ मेगावाटको आयोजना निरन्तर लगानी गर्न सकिने पैसा स्वदेशमै छ । अहिले नै चेक काटिहाल्ने हो भने करिब ८८ अर्ब रुपैयाँ तयार छ । यो तथ्यांक स्वयं ऊर्जामन्त्री जनार्दन शर्माले नौवटा वित्तीय तथा गैरवित्तीय स्वदेशी संस्थाका प्रमुखलाई बोलाएर प्रस्तुति गर्न लगाएका हुन् । ऊर्जामन्त्री शर्मा आफैंले 'नेपालको पानी, जनताको लगानी' नाराका साथै सर्वसाधारणलाई सेयर लगानी प्रतिबद्धता आह्वान गरेका छन्, जसमा उल्लेखनीय प्रतिबद्धता आइरहेको छ ।

यी तथ्यले आन्तरिक खपतका लागि जलविद्युत आयोजनामा लगानी गर्न विदेशीको गुलामी गर्न पर्दैन भन्ने प्रस्ट सन्देश दिएको छ । डलर पीपीए नगरी बाँच्नै नसक्ने हो भने घिमिरे प्रतिवेदनको सीमाभित्र रहेर गर्दा मुलुकलाई विगतको जस्तो हानि नहोलासम्म भन्न सकिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.