कुखुराबाट तीन हजार परिवार स्वरोजगार
हेटौंडा: मकवानपुरका तीन हजार परिवार कुखुरा पालेर स्वरोजगार रहेको कुखुरा व्यवसायी संघले जनाएको छ । संघमा आवद्ध सात सय ७१ सहित कुखुरको बिभिन्न व्यवसायीक क्षेत्रमा रहेर तीन हजार परिवार रोजगारीमा रहेको संघको शनिवार हेटौंडामा भएको १० औं साधारणसभामा जानकारी दिइएको हो ।
संघका अध्यक्ष राजु अधिकारीले जिल्लाले दैनिक डेढ करोड बरावरको कुखुराजन्य कारोबार गरिरहेको बताए । जिल्लामा हाल पाँच लाख ५० हजार लेयर्स र आठ लाख २५ हजार ब्रोईलर कुखुरा रहेकोमा लेयर्सले दैनिक सात सय ७५ पेटी अण्डा र ब्रोइलरबाट ३२ हजार केजी मासु उत्पादन हुदै आएको उनले बताए । 'उत्पादित अण्डा र मासुमध्ये ३५ प्रतिशत मात्र मकवानपुरमा खपत हुन्छ',उनले भने,'हाम्रो मुख्य बजार काठमाण्डौं हो ।'
साधारण सभामा बोल्दै नेपाल पोल्ट्री मंचका केन्द्रीय सचिव शिबराम केसीले २२ जिल्लाको खुल्ला सिमाका कारण कुखुरा व्यवसाय समस्यामा परेको बताए । साधारणसभाको उद्घाटन मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सहायक क्षेत्रीय प्रशासक बिश्वप्रकाश सुवेदीले गरेका थिए ।