न्यानो स्पर्सद्वारा समाजसेवा
काठमाडौं: न्यानो स्पर्सले पानीपुरी तथा चिया बचेर महिलाका लागि सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले ललितपुरको पाटन मन्दिर परिसरमा शुक्रबार र शनिबार दुई दिन पानीपुरी तथा चिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमबाट उठेको रकमबाट संस्थाले काभ्रे जिल्लाको कोसीपारी रहेका पिछडिएका महिलालाई जनचेतनामुलक कार्यक्रम गर्न लागेको संस्थाकी अध्यक्ष संगिता भट्टराईले बताइन् ।
उनकाअनुसार पानीपुरी तथा चिया कार्यक्रमबाट उठेको रकमले स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । कोसीपारीका महिलामा पाठेघरसम्बन्धी समस्या बढी देखिएकाले जनचेतना अभिवृद्धि गर्नेगरी कार्यक्रमको आयोजना गरिने भएको हो । उत्पे्ररणा दिने खालका कार्यक्रमकोमाध्यमबाट महिलालाई सचेतना गराउने योजना रहेको भट्टराई बताउँछिन् । 'कार्यक्रममार्फत महिला पनि अघि बढ्न सक्छन् भन्ने सन्देश दिन चाहन्छौं', अध्यक्ष भट्टराई बताउँछिन्, 'त्यस स्थानमा अझै पनि पुराना सोच भएका महिला छन् । उनीहरूलाई कार्यक्रममा उपस्थित स्वास्थ्य स्वयं सेवकले आवश्यक जानकारी दिनेछन् ।'
संस्थाले पानीपुरी प्रतिप्लेट ४० र चिया प्रतिकप २५ रुपैयाँमा बेचेर संकलित रकमले कार्यक्रम आयोजना गर्नेछ । भट्टराईकाअनुसार संस्थाले लागतभन्दा केही बढी रकम लिएर पानीपुरी तथा चिया बेचेको थियो । संस्थाले 'सधैं सबैको लागि' भन्ने नाराका साथ यसअधि पनि यस्ता कार्यक्रम गर्दै आएको छ ।