मेगा र टुरिजम एकआपसमा गाभिँदै
काठमाडौं: मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन् । बिहीबार भएको सम्झौताअनुसार दुवै बैंक एकआपसमा गाभिने भएका हुन् । सम्झौतापत्रमा मेगा बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष पुष्पराज कँडेलल हस्ताक्षर गरेका छन् ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपश्चात बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै रहने बताए । उनले अन्तिम सेयर आदानप्रदान अनुपातको प्रतिवेदनका आधारमा फरक पर्नसक्ने गरी हाललाई मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको सेयर अनुपात १०० बराबर ९५ तय गरिएको बताए ।
मर्जरपश्चात बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत मेगा बैंकबाटै रहनेछन् । मेगाको हालको चुक्ता पुँजी चार अर्ब एक करोड, एक एक्सटेन्सन काउन्टरसहित शाखा संख्या ४० तथा ४७ वटा एटीएम छन् । त्यस्तै टुरिजम डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख, एक एक्सटेन्सन काउन्टरसहित शाखा संख्या २३ तथा एटीएम १२ छन् ।