श्रीमान्ले जलाइएकी अमिसाको उपचार खर्च सरकारले बेहोर्ने
नेपालगन्ज: पतिले टुकीको मट्टीतेल खन्याएर जलाइएकी २२ वर्षीया अमिसा खटिकको अवस्था नाजुक हुँदै गएको छ।
नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा उनलाई शुक्रबार राति काठमाडौंको टिचिङ अस्पताल लगिएको हो।
टिचिङ अस्पतालमै पुगेर महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बिरामीको अवस्थाबारे जानकारी लिएका छन्। उनले त्यस क्रममा अमिसाको ज्यान बचाउन कुनै कन्जुस्याइँ नगर्न चिकित्सकलाई निर्देशन दिँदै उनको सबै उपचार राज्यले बेहार्ने बताएका छन्।
घरझगडामा नेपालगन्ज १२ खट्कनपुरुवाका २६ वर्षे राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई टुकीको मट्टीतेल खन्याएर आगो लगाइदिएका थिए।
'तपाईंहरू खर्चको चिन्ता नगर्नुहोस्, कति लाग्छ, के गर्नुपर्छ, त्यसको चिन्ता नमान्नुहोस् भनेर भनेर डक्टर अनि सुपरिटेन्डेन्टलाई पनि भनेको छु', मन्त्री खड्काले भने, 'पैसाकै कारण कुनै पनि हिंसामा परेका महिलाले ज्यान गुमाउनु नपरोस् भन्ने मान्यता स्थापित गर्न थालेको हुँ।'
मन्त्री खड्काले जलेर घाइते भएकी अमिसाको अवस्था आफैले पनि हेरेका थिए । चिकित्सकहरूले अमिसाको अवस्था निकै नाजुक भएको बताएको मन्त्री खड्काको भनाइ छ । मन्त्रीकै निर्देशनमा घाइते अमिसालाई अहिले टिचिङ अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको छ।
अमिसासँग उनकी सासू र अरू दुईजना कुरुवा थिए । तर पैसा नभएपछि घाइतेलाई अस्पतालमै छाडेर कुरुवा फर्किन थालेका थिए । अस्पतालका कर्मचारीले मन्त्री खड्कालाई उक्त कुरा जानकारी गराएपछि बिरामी कुरुवाहरूका लागि तत्काल २० हजार रुपैयाँ खर्च व्यवस्थापन गरिदिन मन्त्रीले महिला तथा बालबालिका कार्यालय काठमाडौंलाई निर्देशन दिएका छन्।
'कुनै पनि हिंसापीडित महिलाले खर्चको अभावमा ज्यान नगुमाऊन् भनेर मन्त्रालयमा क्विक रेस्पोन्स टिम बनाइसकेको छु', मन्त्री खड्काले भने, 'यस्तो अवस्थामा महिलालाई राजयले अभिभावक बनेर संरक्षण दिनेछ।'
सामान्य घरझगडामा नेपालगन्ज १२ खट्कनपुरुवाका २६ वर्षे राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई टुकीको मट्टीतेल खन्याएर आगो लगाइदिएका थिए । घटनापछि फरार राजेन्द्रको खोजी भइरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया खटिकको छाती, मुख, हात, घाँटी र गुप्तांग पनि जलेका छन्।