ग्राण्डी अस्पतालमा बालरोगसम्बन्धी सम्पूर्ण उपचार
काठमाडौं: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बालरोगसम्बन्धी सम्पूर्ण उपचार सेवा सुरु गरेको छ । सेवा सुरू गरेको पाँच वर्ष प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले बालरोगसम्बन्धी सम्पूर्ण उपचार सेवा सुरु गरेको हो । नयाँ सेवाअन्तर्गत हप्ताको सातै दिन, चौबिसै घन्टा बालरोग विशेषज्ञले सेवा दिनेछन् ।
अस्पतालले पेडियाट्रिक इमरजेन्सी सेवा, अस्पताल भर्ना गर्नुपर्ने बिरामीका लागि पेडियाट्रिक बोर्ड, नवजात सघन उपचार केन्द्र र बाल सघन उपचार केन्द्रको व्यवस्था गरेको छ । त्यसैगरी सरुवारोगबाट संक्रमित बालबालिकाका लागि सघन उपचार आवश्यक भएमा आइसोलेसन गरेर एनआईसीयू र पीआईसीयू सेवा दिने कक्षको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
जनरल पेडियाट्रिक ओपीडीअन्तर्गत बालबालिकामा देखिने विभिन्न रोगको पहिचान, निदान र उपचार हुनेछ । यसका लागि पनि अस्पतालले चौबिसै घन्टा विशेषज्ञ सेवा दिने बताएको छ ।