ब्रान्ड नखुलेका साबुनको बिगबिगी
काठमाडौं: बनस्थली निवासी निर्मला घिमिरे कपडा धुनका लागि नाङ्गो साबुन प्रयोग गर्दै आएकी छिन् । बुद्धनगरकी शान्ता पौडेल पनि लुगा धुन नाङ्गो साबुन नै प्रयोग गर्छिन् । प्याकेजिङ नगरिएको नाङ्गो साबुनको गुणस्तर र तौलका विषयमा दुवैजना बेखबर छन् । पसल गएर लुगा धुने साबुन माग्छन्, पसले नाङ्गो साबुन टक्राउँछ, उनीहरू सोधखोज नगरी किन्छन् ।
बजारमा लेबल नभएका गुणस्तरहीन साबुन खुलेआम बिक्री गरिन्छ, उपभोक्ता आँखा चिम्लिएर किन्छन् । नाफा धेरै हुने भएपछि पसलेहरू पनि नाङ्गो साबुन बिक्री गर्न खोज्छन् । प्याकेजिङ नगरिएका नाङ्गो साबुनमा तौलमा एकरुपता हुँदैन, मूल्य पनि मनपरी हुन्छ । यसको गुणस्तरबारे उपभोक्तामात्र होइन, स्वयं पसलेहरू पनि जानकार छैनन् । नाङ्गो साबुनको गुणस्तर, मूल्य र तौलको यथार्थ जानकारी नखुलाई खुलेआम बिक्री भइरहेको छ ।
दर्जनौं साबुन
उपभोक्ता ऐनअनुसार लेबल नखुलेका वस्तु बिक्री गर्न पाइँदैन । तर, लेबल नभएका दर्जनौं नाङ्गा साबुन बिक्री भइरहेका छन् । साना पसलदेखि ठूला सपिङ मलसम्म नाङ्गा साबुन बिक्री हुन्छन् । उपभोक्ताकर्मी माधव तिमिल्सिनाका अनुसार लेबल नखुलेका साबुनको गुणस्तर, मूल्य र तौलमा उपभोक्ता ठगिँदै आएका छन् ।
बजारमा दर्जनौं कम्पनीका नाङ्गा साबुन पाइन्छन् । अधिकांश प्याकेजिङ नगरिएका खुला साबुनमा लेबल नै हुँदैन । साबुनमा उत्पादक कम्पनीको नाम, मूल्य, उत्पादन र एक्स्पायर मिति, तौल केही पनि उल्लेख हुँदैन । उपभोक्ताले कस्तो साबुन प्रयोग गरिरहेको छु भन्नेसमेत पत्तो पाउँदैनन् । यस्ता साबुनले उपभोक्ताको अधिकार हनन् गरेको तिमिल्सिनाको भनाइ छ ।
बजारमा पाइने नाङ्गो साबुनमा तौल र मूल्यमा एकरुपता हुँदैन । पसलेले मनपरी मूल्य राखेर साबुन बिक्री गर्छन् । पसलेले साबुनको जति मूल्य भने पनि उपभोक्ताले तिर्दै आएका छन् । उपभोक्ता पनि साबुनमा त्यति बार्गेनिङ गर्न खोज्दैनन् । लेबल नखुलाइएको हुँदा साबुनको मूल्य र तौल पनि थाहा हुँदैन । साबुनको तौल घटेको र मूल्य बढेको पनि पत्तो हुँदैन । तर, उत्पादकले तौल र मूल्य घटबढ गरिरहेका हुन्छन् । यस्तै साबुनको बजारमा बिगबिगी छ । लुगा धुने साबुनमा प्याकेजिङ गरिएकाभन्दा खुला साबुनको बाहुल्यता देखिन्छ ।
उपभोक्तालाई आफूले प्रयोग गर्ने वस्तुको बारेमा जानकारी पाउने अधिकार छ । तर, यहाँ साबुनमा लेबल नै नखुलाइ उपभोक्ता ठग्ने काम भइरहेको तिमिल्सिना बताउँछन् । 'अधिकतम बिक्री मूल्य नै नराखेपछि कसरी उपभोक्ताले आफू ठगिएको थाहा पाउँछन्', उनले भने । त्यसो त उपभोक्ता पनि आफूले किनेको वस्तुबारे त्यति सचेत छैनन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चले दुई वर्षअघि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा नाङ्गो साबुनको खुलेआम ठगीका विषयमा उजुरी गरेको थियो । लेबल नखुलाइएका वस्तुको बिक्री रोक्न सुझाव दिएको थियो । तर, उजुरी र सुझावउपर कुनै सुनुवाइ नभएको तिमिल्सिना बताउँछन् । यस्ता साबुनको तौल घट्दै गइरहेको र मूल्य बढ्दै गएको पाइन्छ ।
कानुनको उल्लंघन
कतिपय कम्पनीले नाङ्गा साबुनमा खोपेर नाम लेख्ने गरेको तर पर्याप्त विवरण खुलाइएका हुँदैनन् । अधिकांश नाङ्गा साबुनमा प्रडक्ट विवरण नै उल्लेख भएको पाइँदैन । प्याकेजिङ गरिएका साबुनमा भने लेबल खुलाइएको हुन्छ । त्यसमा तौल, मूल्य, उत्पादन मिति, प्रयोग गर्न मिल्ने समय, ब्याच नम्बर सबै स्पष्टसँग लेखिएको पाइएको छ ।
उपभोक्ता ऐन भन्छ, मूल्य, ब्याच नम्बर, उत्पादन समय, प्रयोग गर्न मिल्ने समय स्पष्टसँग उल्लेख गर्नुपर्छ । नाङ्गो साबुन उत्पादक कम्पनीले कानुनी व्यवस्था उल्लंघन गरिरहेका छन् । उपभोक्ता ऐनविपरित लेबल नभएका साबुनको उत्पादन तथा बिक्री भइरहेको छ ।
तिमिल्सिनाकाअनुसार यस्तो साबुन गुणस्तरहीन हुन्छ । कमसल केमिकल प्रयोग गरिएको हुन्छ । कमसल साबुनमा चाडै सकिने, फिँज नआउने, गिलो हुनेलगायतका समस्या हुन्छन् । यस्ता साबुनको प्रयोगबाट उपभोक्ताको स्वास्थ्यमासमेत गम्भीर असर पर्नसक्ने उनको भनाइ छ । 'यस्ता साबुन खरिद गर्दा उपभोक्ता धेरै ठगिन्छन्', तिमिल्सिनाले भने । साबुन कहिले बनेको हो, कति तौल छ, कहिलेसम्म प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुँदैन । यहाँसम्मकी साबुनमा भाँडा धुने वा लुगा धुने भनेर पनि लेखिएको हुँदैन ।
सामान्यतया भाँडा धुने साबुनमा हल्का केमिकल हाल्नुपर्छ । लुगा धुने साबुनमा हार्ड केमिकल राख्नुपर्छ । यदि हार्ड केमिकल भाडा धुने साबुनमा राखेमा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । भाडा पखाल्दा साबुन पनि पखालिँदैन । हरेकजसो लेबल नभएका साबुनमा कमसल केमिकल नै प्रयोग गरिएको हुन्छ ।
अनुगमन हुँदैन
हरेकजसो पसलेले लेबल नखुलेका नाङ्गो साबुन बिक्रीमा राखेका हुन्छन् तर नियामक निकायलाई त्यसको पत्तो नै छैन । लेबल नखुलाइएका नाङ्गो साबुनको बिक्रीवितरणमा कडाइ गरिएको छैन । खाद्य वस्तुमा नियमक निकायबाट अनुगमन हुने गरे पनि लेबल नखुलेको नाङ्गो साबुनमा अनुगमन भएको छैन । उपभोक्ताले पनि खाने कुरा भएको भए चासो दिन्थे तर साबुनमा खासै चासो दिएको पाइँदैन ।
एक तथ्यांकअनुसार नेपाली बजारमा वार्षिक ६० हजार मेट्रिक टन नाङ्गो साबुन बिक्री हुने अनुमान छ । यो निकै ठूलो परिमाण हो । थोरैमात्र तौल र मूल्यमा तलमाथि हुँदा पनि उपभोक्ता ठूलो मारमा पर्छन् ।
बोसोको प्रयोग
साबुनमा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । प्याकेजिङ गरेर बिक्री गरिने साबुनमा पाम आयल प्रयोग गरिन्छ । पाम आयल विदेशबाट आयात गर्नुपर्छ । त्यसैले अलि महँगो पनि हुन्छ । डलरको भाउअनुसार पाम आयलको मूल्य पनि थपघट भइरहन्छ । तर, नाङ्गो साबुनमा भने जनावरको बोसो प्रयोग गर्ने गरेको गुनासो छ । खासगरी खुला साबुनमा भैंसीको बोसो प्रयोग हुन्छ । जनावरको बोसो तुलनात्मक रूपमा पाम आयलभन्दा सस्तो पर्न जान्छ ।