अन्नपूर्णले क्यान्सरविरुद्ध साइकल र्याली गर्ने
काठमाडौं: अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसका अवसरमा माघ २२ गते यो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्याली आयोजना गर्ने भएको छ ।
क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन फेब्रुअरी ४ लाई हरेक वर्ष विश्वभरि नै क्यान्सरबिरुद्धको दिवस मनाइन्छ । अन्नपूर्ण मिडिया नेटवर्कले केही वर्षयता हरेक वर्ष यस दिन क्यान्सरबिरुद्ध सर्वसाधारणलाई सचेत गराउन साइकल र्याली आयोजना गर्दै आएको छ । अघिल्लो वर्षको र्यालीमा हजारौं साइक्लिस्टहरू उपस्थित थिए । र्यालीको नारा 'राइड फर लाइफ' रहेको छ ।
पछिल्लो समयमा भयावह रोगका रूपमा फैलिँदै गएको क्यान्सर समयमै पहिचान गरेर उपचार गर्दा पूर्णतयाः निको हुने भएकाले यसबारे चेतना जगाउन कार्यक्रम आयोजना गरिएको नेटवर्कले उल्लेख गरेको छ । नेटवर्कले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ । नेटवर्कले क्यान्सरविरुद्ध सचेतना र जागरण अभियानमा सहभागी हुन सबैलाई आह्वानसमेत गरेको छ ।
साइकल र्यालीका लागि अनलाइनबाट फारम भर्न सकिने बताइएको छ । अनलाइनबाट फारम भर्दा AnnapurnaPostRideforLife2017.eventbrite.com फार्म भर्न सकिने छ । या सिधै अफिस आएर पनि फारम भर्न सकिन्छ । । पहिला फारम भर्ने १ हजारलाई अन्नपूर्ण पोस्ट मिडियाले ज्याकेटसमेत उपलब्ध गराउने भएको छ ।
साइकल र्यालीका लागि नेपाल साइकलिङ एशोसियनले प्राविधिक सहयोग र ग्रान्डी इन्टरनेशनल हस्पिटलले एम्बुलेन्स र डाक्टरको सहयोग गर्ने भएको छ ।
यसैबीच अन्नपूर्ण पोस्ट मिडियाले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा निल्शुल्क पाठेघरको परीक्षण गर्ने भएको छ । स्वास्थ्य परीक्षणको समय र स्थान पछि तय गर्ने अन्नपूर्ण पोस्ट मिडियाले जानकारी दिएको छ । स्वास्थ्य शिबिरका लागि नेपाल न्यूज इन्टरनेशनल प्रालिको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता 00101010301923 मा रकम जम्मा गर्न अनुरोध गरेको छ ।
१० हजार भन्दा माथि सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम अन्नपूर्ण पोस्टमा प्रकाशित गरिने भएकाले डिपोजिट भौचारमा राइड फर लाइफ लेख्न अन्नपूर्ण मिडियाले आह्वान गरेको छ ।