संघीयताले कहाँ पुर्‍याउने हो ?

संघीयताले कहाँ पुर्‍याउने हो ?

हामीले देखेको र बुझेको के कुरा हो भने संघीयताको कारण पहिलो संविधानसभा निष्फल भयो । दोस्रो संविधानसभाले एउटा संविधान बनाई छाड्यो । तर संघीयताकै कारण सो संविधान बनेको दुई वर्षसम्म पनि लडखडाइरहेको छ । औपचारिकरूपमा राष्ट्रपतिद्वारा घोषणा भएपछि संविधान कार्यान्वयनमा आएको ठहरिन्छ भने हाम्रा नेताहरूले संविधान कार्यान्वयनमा ल्याउने कुरा किन दोहोर्‍याइ रहन्छन् ?

जे भए पनि त्यसको कारण पनि संघीयता नै हो । भनाइको तात्पर्य हो संघीयताको समस्याले संविधान सुचारू रूपमा लागू हुन नसकेको हो । त्यही संघीयताकै कारणले मधेशमा चार महिनासम्म आन्दोलन भयो र ४०, ५० जनाले सहादत प्राप्त गरे । तर त्यसको प्रतिफल पनि प्राप्त हुन सकेन । त्यसै आन्दोलनका कारण देशले ६ महिनासम्म नाकाबन्दी बेहोर्नुपर्‍यो । त्यो कहिले नपुरिने घाउ हो । त्यहाँसम्म संघीयताले ल्याएको संकट घरेलु थियो ।

संघीयताको समस्या त्यसपछि पनि सुल्झिएन । यसलाई सुल्झाउन संविधान घोषणा भएलगत्तै संशोधन ल्याइयो । त्यो सजिलै पारित भयो । तर झगडा यथावत् रह्यो । त्यसको निराकरण गर्न दुई महिनाअगाडि अर्को संशोधन पेस गरियो । त्यसमा संघीय राज्यहरूको सीमांकन हेरफेर गरियो । प्रदेश नं ५ का पहाडी जिल्लाहरूलाई प्रदेश नं ४ मा गाभियो ।

यसले आन्दोलनको अर्को सिलसिला सुरु भयो । यो अद्यावधि चालू नै छ । रोल्पा, गुल्मी, पाल्पा, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची आदि जिल्लाहरू अहिले पनि आन्दोलित नै छन् । यसको चरम विन्दु अर्घाखाँचीमा देखियो । त्यसै जिल्लाका नेताहरूले सीमांकन गरिएको संशोधन प्रस्तावको समर्थन गर्दा जनताले ढुंगामुढा गरे । उही जिल्लाकै ती माओवादी नेताहरू भागेर ज्यान बचाए । यसबाट देखिन्छ, सीमांकनको मुद्दा कति संवेदनशील भइसकेको छ । यो त सिनेमाको ट्रेलरजस्तो मात्र देखिएको छ । संशोधनको प्रस्ताव ल्याउँदा त यो हालत छ भने संशोधन साँच्चै पारित नै भयो भने के हुने होला भनेर अडकल काट्न सकिन्छ ।

चारबुँदे वर्तमान संशोधनमा सबभन्दा धेरै विरोध भएको सीमांकनको हेरफेर नै हो । प्रदेश नं ५ का पहाडी र तराईका जिल्लालाई अलग गरिएको कुरा धेरै विवादास्पद छ । आखिर किन यस्तो गर्नुपर्‍यो ? यसको कारण मधेसकेन्द्रित मोर्चाको कम्तीमा दुई मधेस प्रदेशको माग सम्बोधन गर्नु थियो । तर प्रस्तावित संशोधनसित पनि सो मोर्चा सन्तुष्ट हुन सकेन । अर्कोतिर कैलाली कञ्चनपुर अलग भएकाले थारू समुदाय पनि सन्तुष्ट हुन सकेन । आखिर सन्तुष्ट भयो को त ?

यसबाट भारत सरकार सन्तुष्ट भएको देखियो । यसका प्रवक्ताले नै यसको समर्थन गरेर यसलाई अगाडि बढाउनुपर्ने कुरा बताए । तत्पश्चात् मात्र मधेसी मोर्चाले पनि यसको समर्थन गर्ने भयो । यसबाट संशोधनको मुद्दा अन्तर्राष्ट्रियकरण हुन गयो । नेपालका सत्तासीन दलका नेताहरूले भारतको चित्त बुझाउनका लागि नै यो कदम उठाएको भन्ने संकेत दिए र दिँदै पनि छन् । प्रस्तावका विरोधी नेताहरूले खुलेर नै यो विदेशीबाट प्रेरित भएको भनेर ठोकुवा नै गरेका छन् ।

संशोधनको प्रस्ताव संसद्मा पेससम्म भएको छ । छलफल हुन नै बाँकी छ । त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त्यसमा मतदान हुन नै बाँकी छ । अहिलेको ५९५ सदस्य रहेको संसद्मा यसले दुईतिहाइ बहुमत ल्याउन नसक्ने देखिएकोले यसलाई मतदानमा ल्याउने हतारो गरिएको छैन । यसले सत्ताबाट बाहिर रहेका दलहरू र भुरे नेताहरूका लागि भने एउटा सुनौलो मौका खोलिदिएको छ ।

उनीहरूको समर्थन जुटाउन प्रधानमन्त्रीले कसैलाई सत्तामा सामेल गराएर र कसैलाई करोडौं रुपैयाँ दिएर प्रयत्न गरिरहेको समाचार आउन थालेका छन् । यो नेपालको बहुदलीय व्यवस्थामा बारम्बार देखिएको खेल हो । यसका माहिर खेलाडी शेरबहादुर देउवा हुन् र उनी पनि सरकारका साझेदार नै हुन् । यो व्यवस्थाअन्तर्गत को बिक्री भए र के कतिमा बिक्री भए भन्ने चर्चाको विषय मात्र हो, नौलो र आश्चर्यजनक होइन । यो व्यवस्था र नेतृत्वको अपरिहार्य परिणाम हो ।

भारत सरकारको मनोकांक्षा पनि यसबाट पूरा हुने हुनाले पैसाको कुनै कमी हुने भएन । खाली सांसदहरूले आफ्नो मूल्य बढाउने तरिका मात्र सिक्नुपर्‍यो । हामीले सुन्न बाँकी यस अवस्थाबाट को को मन्त्री हुन पुगे र कसले कति पैसा पाए । त्यति गर्दा पनि यो प्रस्ताव पारित नै हुन्छ भन्ने भरोसा छैन । तर यसले नेपालको ढुकुटीको दुरुपयोग र देशलाई अरू विभाजित पार्ने निश्चित छ ।

यसै बीचमा प्रादेशिक उच्च न्यायालयहरूमा ठूलो जत्थामा न्यायाधीशहरूको नियुक्ति त गरियो तर त्यो पनि विवादित रह्यो । फलस्वरूप वकिल समुदाय र न्यायाधीशहरू बीचको सम्बन्ध नै बिग्रेर गयो । संघीयताले जहाँ जहाँ छुन्छ, त्यहाँ त्यहाँ बिटुलो पर्ने देखिन्छ । न्यायालयप्रति जनताको आस्था र विश्वासमा ठूलो आघात पर्न गएको छ । के यो पनि उही संघीयताको कारणले होइन ?

अझ यो भन्दा पनि चर्को विवाद त निस्कनै बाँकी छ । प्रशासनका कर्मचारीलाई संघीय, प्रादेशिक र स्थानीय तहमा बाँडिने सरकारले जानकारी दिएको छ । त्यसमा पनि कति घोटाला, पक्षपात र घुसखोरी हुने हो अन्दाज लगाउन सकिन्छ । यसबाट के देखिन्छ भने संघीयताको नाउँमा जे जति परिवर्तन हुने छन् त्यसबाट राजनीतिक नेतृत्वले मनग्ये लाभ उठाउन सक्ने छन् । के यसैका लागि संघीयताको समर्थन गर्दै आएका होइनन् ?

संविधानको भाग २० को उपधारा २३२ मा लेखिएको छ संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ । यसबाट के स्पष्ट हुन्छ भने यससम्बन्धी निर्णयहरू सहमतिबाट हुनेछन् । सहमतिबाट भागबन्डा र लेनदेन गर्ने बाटो खुल्छ । यही कुरा भइरहेको देखिएको छ । भागबन्डा नमिल्नेबित्तिकै सहमति नहुने र मिल्नेबित्तिकै हुने परम्परा नै बसेको छ । सांसदको सुविधा बढाउँदा मिनेटभरमै सहमति जुटेको हो तर अरू राष्ट्रिय मामिलाहरूमा भने सो जुट्न सकेको छैन ।

संघीयताअन्तर्गत तीन तहका सरकारबीचमा कार्य विभाजन संविधानले नै गरिदिएको छ । तर यो हचुवा किसिमले गरिएको छ । यसमा सबभन्दा धेरै विवाद प्राकृतिक स्रोतको उपयोग र त्यसबाट उठ्ने आम्दानीबाट हुने भएको छ । 'काम भने अरू साँची, माम भने आफू साँची' भन्ने लागू हुने भएको छ । संघको अधिकार सूचीमा जलस्रोत संरक्षण र बहुआयामिक उपयोगसम्बन्धी नीति र मापदण्ड राखिएको छ । प्रदेशको अधिकार सूचीमा प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन भनेर उल्लेख गरिएको छ ।

संघ र प्रदेशको संयुक्त मातहतको सूचीमा अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र, जल उपयोग समावेश गरिएको छ । स्थानीय निकायअन्तर्गत जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण भनेर तोकिएको छ । यसैगरी संघ, प्रदेश र स्थानीय निकायको संयुक्त मातहतमा वन, जंगल, वन्यजन्तु, चरचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता रहने भनिएको छ ।

यसबाट के खुल्न आउँछ भने वन, जलस्रोत र खनिज पदार्थमा जसले जे गरे पनि हुन्छ । बिग्रेको जिम्मेदारी अरूको टाउकोमा राखिदिने र बनेको श्रेय आफूले लिने, यो भन्दा बढिया व्यवस्था के हुन सक्छ ? संघीयताले ल्याउने व्यवस्थाको यो एक नमुना मात्र हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.