गौशाला चोकमा मालबाहक टिपर भाँसिएपछि...
काठमाडौं: काठमाडौंको गौशाला चोकमा मालबाहक टिपर भाँसिएपछि यातायात सेवा प्रभावित भएको छ। सोमबार बिहान मेलम्ची खानेपानी आयोजनाका लागि खनिएको खाल्डोमा बा २ ख ४४२० नम्बरको टिपर फसेको थियो। टिपरको पछाडिको एउटा चक्का खाल्डोमा परेपछि सडक अवरुद्ध भएको छ ।
कार्यालय समयमा बढी चाप हुने गौशाला चोकमा बीच बाटोमै टिपर फसेपछि ट्राफिक व्यवस्थापन मिलाउन प्रहरीलाई समस्या भएको थियो।मेलम्चीको खानेपानी लाइन विस्तारको काम व्यवस्थित गर्न नसक्दा उपत्यकाबासीले अहिले समस्या भोग्दै आएका छन्।
पैदलयात्री तथा सवारी चालक घाम लाग्दा धूलोको मारमा पर्ने गरेका छन् भने अलिकति पानी परेपनि हिलोको समस्याबाट पीडित हुने गरेका छन् ।