स्वास्थ्यचौकीको काम छाडेर आईएनजीओ बेपत्ता
आरुआर्बाङ (गोरखा): भूकम्पले भत्काएको आरुआर्बाङ ५ को स्वास्थ्यचौकी तीन महिनाभित्र बनाउने भनी इन्टरनेसनल मेडिकल क्रप्स (आईएमसी) ले भूकम्पपीडितलाई आश्वास दियो। जग्गा जुटाइदिन आग्रह गर्यो।
गाउँलेले दुई लाख रुपैयाँ ऋण गरी जग्गा खरिद गरेर आईएमसीलाई उपलब्ध गराए। जग खनियो, पुरियो। तर डीपीसी पनि नगरी ठेकेदार एक्कासि गायब भयो। गाउँले डेढ वर्षदेखि अलपत्र छाडेर भागेको स्वास्थ्यचौकीको जग मात्र हेरेर बस्न बाध्य छन्। 'तीन महिनामा काम सक्छु भन्थ्यो, डेढ वर्ष भयो फर्केर आएको छैन', स्थानीय कृष्णबहादुर भण्डारीले भने, 'भूकम्पले भत्किएको हेल्थपोस्ट बन्ने भयो भनेर हतार गरी गरी दुई लाख रुपैयाँ ऋण खोजेर जग्गा किन्यौं तर जग मात्र पुरेर भागेको आईएमसी फर्केर आएन।' जग्गा किन्दाको ऋण तीन महिनापछि चुक्ता गरेको उनले बताए।
१० कोठे स्वास्थ्यचौकी प्रिफेब प्रविधिबाट निर्माण गर्न डिजाइनर्स नेपाल प्रालिले ठेक्का लिएको थियो। स्वास्थ्यचौकी नहुँदा अहिले त्यहाँ अर्को एक विदेशी संस्थाले बनाइदिएको टेन्टभित्रबाट सञ्चालन भइरहेको छ। दुई वर्षदेखि टेन्टभित्रबाट सेवा दिँदै आएको त्यहाँका स्वास्थ्यचौकी प्रमुख राजकुमार रजक बताउँछन्।
'यो टेन्ट जाडोमा त ठीकै छ, गर्मीमा तातेर भित्र बस्नै सकिन्नँ', उनी भन्छन्, 'एकछिन बस्दा त पसिना निकाल्छ, दिनभरि बसेर कसरी उपचार गर्ने ? ' आईएमसीले तीन महिनाभित्र हेल्थपोस्ट बनाइदिन्छु भन्ने आशा देखाएर भागेको उनले बताए।
आईएमसीले ७० लाख रुपैयाँ खर्च गरेर १० कोठे स्वास्थ्यचौकी बनाउँछु भनेकाले गाउँलेले अरू निकायलाई पनि नगुहारेको, जिम्मा लिएको आईएमसीले पनि काम नगर्दिएको भन्दै स्थानीयवासी चिन्तित भएका छन्। 'बरू उसले जिम्मा नलिएको भए अरू निकायमा दौडधुप गथ्र्यौं, यतिबेला बनेर पनि चलिसक्थ्यो', स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य कृष्णबहादुर भण्डारीले भने, 'गाविसको पैसाले दुई लाख ऋण तिरियो।
यसरी बिजोग बनाउने भए त त्यो दुई लाखले अरू नै विकासको काम हुन्थ्यो। विकासको पैसा यता खर्च गर्दा न विकास हुन पायो, न भवन बन्यो।' गत वर्षको चैत महिनाभित्र काम सक्ने कार्यालयले घोषणा गरेको थियो। अहिले आईएमसी र ठेकेदारले पनि सम्पर्क नगर्ने र आफूहरूले फोन सम्पर्क गर्न खोज्दा फोन नउठाउने गरेको उनले बताए।
काम अधकल्चो छाडेर आईएमसी र ठेकेदार भागेपछि ठूलो परिमाणमा निर्माण सामग्री खेर गएको छ। गाविस भवनभित्र राखिएको एक सय ५० बोरा सिमेन्ट बोरामै डल्लो परेको छ। प्रिफेब चिरिएको, फुटेको छ। बालुवा, गिटी पनि माटोमा मिलेको छ। 'निर्माण सामग्री पनि खेर गए', स्वास्थ्यचौकीका इन्चार्ज रजतले भने, 'यहाँका धेरै कामदारले पैसा पाएका छैनन्। गाडी धनीले सामान ढुवानी गरेको भाडा पाएका छैनन्।'
आरुआर्बाङको जस्तै जिल्लाका विभिन्न सात गाविसमा स्वास्थ्यचौकीको काम अलपत्र बनाएर आईएमसी गायब भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 'हेल्थपोस्ट्को काम मात्र होइन, गोरखा र देशै छाड्न लागेको भन्ने सुनेको छु', वरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुली भन्छन्, 'तर काम अलपत्र बनाएर भाग्न कहाँ पाउँछन् ? ' ताप्ले, मुच्चोक, सौरपानी, स्वाँरा, घ्याच्चोक, खरिबोट र आरुआर्बाङ गाविसमा हेल्थपोस्ट् बनाउने जिम्मा लिएर आईएमसीले सबैठाउँको काम अलपत्र पारेको उनले बताए।
ठेकेदारको बदमासीले काम अलपत्र हुन पुगेको आईएमसीका एक कर्मचारीले बताए। 'मार्च महिनासम्म सम्पन्न गर्न डिजाइनर्स नेपाल भन्ने कम्पनीलाई जिम्मा दिएका थियौं', इन्जिनियर मञ्जित पाण्डे भन्छन्, 'ठेकेदारले बेइमानी गर्यो। उसँग हामीले ठेक्का तोड्यौं। अब आफैं गर्छौं।' सबैजसो गाविसको काम डीपीसी गरेर मात्र छाडेको उनले स्वीकार गरे। 'अब हामी काम छिट्टै सुरु गर्नेछौं', उनले भने, 'आउँदो मार्चभित्र हस्तान्तरण गर्ने छौं।'