गाउँमा विकास भित्र्याउँदै महिला
सुर्खेत: विद्यालयमा बर्सौदेखि खानेपानीको समस्या। खानेपानी नहुँदा अधिकांश विद्यार्थीले बीचमै कक्षा छोड्न थाले। विद्यार्थी स्कुल नजाने समस्या आएपछि गाउँका महिला भेला भए। भेलाले विद्यालयमा खानेपानीको व्यवस्थापन गर्ने निर्णय गर्यो।
स्थानीय महिलाकै सक्रियतामा छिन्चुस्थित नेरा प्रावि कालिदमारमा खानेपानीको धारा जडान भयो। पानीको सुविधा उपलब्ध भएपछि हिजोआज विद्यार्थी पनि नियमित स्कुल जान थालेका छन्।
'आँट गरेपछि सबै काम गर्न सकिने रहेछ, गाउँका महिलाले ठूलो आँट गर्यौं', विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पाकली वलीले भनिन्, 'खानेपानीकै कारण बालबालिकाले स्कुल जान मानेनन्, महिलाहरू मिलेर पानी ल्याउने निर्णय गर्यौं।
क्षेत्रीय खानेपानी कार्यालयले हामीलाई ६ लाख बजेट दियो, त्यही रकमबाट गाउँमा खानेपानी आयोजना सम्पन्न भयो।' स्थानीय महिलाकै पहलमा छिन्चु-चिमिरे खानेपानी आयोजना निर्माण भएपछि विद्यालयमा मात्र होइन, हिजोआज गाउँलेलाई पनि सहज भएको हो। महिलाको सक्रियतामा गाउँमा पानी आएपछि पुरुष पनि दंग परेका छन्।
घरेलुहिंसाले आक्रान्त महिलाहरू जब समूहमा संगठित हुन थाले तब उनीहरूले विकास निर्माणमासमेत बहस गर्न थाले। कुनैबेला गाउँ परिषद्मा छिर्न नपाउने महिलाहरू अहिले आफूले चाहेको योजनामा बजेट पार्न सफल भइरहेका छन्।
लामो समयसम्म पुरुषले नेतृत्व गरेको उक्त विद्यालयमा महिला अध्यक्ष भएपछि स्थानीय पुरुषले काम गरेर देखाउन महिलालाई चुनौती दिएका थिए। सोही चुनौतीलाई व्यवहारमा उतार्न गाउँभरिका महिलाले एकजुट हुँदै गाउँमा खानेपानी भित्र्याउन सफल भए। अहिले उनीहरूले नै विद्यालयको वरिपरि पर्खालसमेत निर्माण गरेका छन्। महिलाले कुनै काम गर्न सक्दैनन् भन्ने भनाइलाई ग्रामीण क्षेत्रका महिलाले चुनौती दिन थालेका छन्।
घरको काममा मात्र व्यस्त हुने ग्रामीण महिला पछिल्लो समय सामाजिक काममा पनि अग्रसर हुन थालेका हुन्। महिला समूह, आमा समूह र टोल समूह गठन गर्दै महिलाले गाउँमा विकास भित्र्याउन थालेका छन्। महिलाहरूले विकास र आयोजना भित्र्याउन थालेपछि पुरुषलेसमेत उनीहरूलाई साथ दिने गरेका छन्।
सरकारी तथा गैरसरकारी निकायले पनि आर्थिक पारदर्शिता हुने र समयमा नै सम्पन्न हुने भएपछि हिजोआज महिलामार्फत विकास निर्माणका काम गर्न थालेका छन्।
जिल्लाको पूर्वी मैनतडामा पनि महिलाहरू गाउँमा विकास आयोजना भित्र्याउन जुटेका छन्। महिलाहरू सक्रिय हुन थालेपछि हिजोआज गाउँमा विकासको संकेत देखिन थालेको स्थानीयको भनाइ छ।
घरेलुहिंसाले आक्रान्त महिलाहरू जब समूहमा संगठित हुन थाले तब उनीहरूले विकास निर्माणमासमेत बहस गर्न थाले। कुनैबेला गाउँ परिषद्मा छिर्न नपाउने महिलाहरू अहिले आफूले चाहेको योजनामा बजेट पार्न सफल भइरहेका छन्।
सिँचाइ नहुँदा समस्या भोग्दै आएका र उत्पादन नहुँदा हैरान भएका स्थानीयले अहिले सिँचाइ सुविधा पाएका छन्। स्थानीय भावना रानाको नेतृत्वमा गाउँका महिला एकजुट भए। परिषद्बाट सिँचाइ कुलो निर्माणका लागि बजेट माग गरे।
परिषद्ले विनियोजन गरेको ४० हजार बजेटले गाउँमा सिँचाइ कुलो निर्माण भयो। अहिले गाउँमा सिँचाइ गर्न सहज भएको छ। भावना भन्छिन्, 'हामी महिलाले गरेको कामलाई पहिला त गाउँमा पत्याएनन्, उल्टै महिला जान्ने भए भनेर कुरा पनि काटे। हामीले काम गरेर देखायौं, अहिले भने हरेक काम गर्दा महिलालाई दिनुपर्छ भन्छन्।'
यस्तै स्थानीय महिलाले समूहमा मासिक ५० रुपैयाँ बचत गरेर राखेका छन्। मैनतडामा महिलाले समूहमा जम्मा भएको २९ हजार रुपैयाँ लगानी गरेर गाउँमा दुर्गाको मन्दिरसमेत निमार्ण गरेका छन्। छिन्चुमा पवित्रा बराल स्थानीय मध्यवती सामुदायिक वनको उपाध्यक्ष छन्। उनकै नेतृत्वमा महिलाहरूले गाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न गरेका छन्।
त्यसका लागि महिलाले वनको कोषबाट २५ हजार लगानी गर्दै जन श्रमदानमार्फत खानेपानी आयोजना निमार्ण गरेका हुन्। पवित्रा भन्छिन्, 'खानेपानी नहुँदा सबैभन्दा बढी पीडा महिलाले भोगको थियौं, हाम्रो समस्यालाई कसैले वास्ता गरेनन्। हामी महिला जुटेपछि गाउँमा पानी आयो, अब कसैसँग हारगुहार गर्नुपर्ने अवस्था छैन।'
जिल्लाको पूर्वमा मात्र होइन, पछिल्लो समय पश्चिम क्षेत्रका महिला पनि विकास निर्माणमा नेतृत्व गर्न थालेका छन्। गाउँका पुरुषहरू रोजागारीमा विदेश गएका र भएका पुरुषले पनि वास्ता नगरेपछि महिलाहरू आफंै विकास निर्माणमा जुट्न थालेका हुन्। महिलाले गाउँमा खानेपानी, बाटो, सिँचाइ कुलो, विद्यालय र स्वास्थ्यचौकीको भवन निर्माण, खोलामा तटबन्ध तथा अन्य विकासका काममा नेतृत्व गरिरहेका छन्।
ग्रामीण महिलाले भौतिक विकासमा मात्र होइन, सामाजिक सुधारमा समेत नेतृत्व गर्न थालेका छन्। जिल्लाको पश्चिम क्षेत्रमा महिलाहरू छाउपडी उन्मूलनका लागि संगठित भएका छन्।
छाउपडी, बालविवाह र घरेलुहिंसा रोक्न महिलाले गाउँमा समूहमार्फत चेतनामूलक अभियान थालेका छन्। विभिन्न गैरसकारी निकायले समूहमा आवद्ध गर्दै नेतृत्व सिप प्रदान गर्न थालेपछि गाउँमा महिलाहरू सामाजिक अभियानमा होमिएका हुन्।
महिलाले आवाज उठाउन थालेपछि पछिल्लो समयमा गाउँपरिषद्बाट महिला लक्षित बजेटको सदुपयोगसमेत हुन थालेको छ। यसले ग्रामीण महिलाको नेतृत्व क्षमतामा वृद्धि भएको र विकास योजनामा उनीहरूको पहुँच बढेको महिला अधिकारकर्मी बताउँछन्।