राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा हुने
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको भए पनि अहिलेसम्म स्थानको टुङ्गो लाग्न सकेको थिएन।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले उक्त महाधिवेशनका लागि स्थान चार दिनका लागि बुकिङ भइसकेको जानकारी दिँदै उद्घाटनसत्र प्रदर्शनी मार्ग तथा बन्दसत्र प्रदर्शनी हलमा हुने बताए। उनका अनुसार महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ ।
राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलोपटक हुन लागेको उक्त महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्यीय एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ।
सो समितिलाई सहयोग गर्न पार्टीका छ उपाध्यक्ष तथा छ महामन्त्री संयोजक रहने गरी १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु गरेको छ। फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ। रासस