वीरेन्द्रनगरलाई नमुना सहर बनाउन नयाँ योजना
सुर्खेत: खाल्डाखुल्डी भएका सडक। जथाभावी सडक र घर निर्माण। बजारमा बन्द भएका ढल र नाला। फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बजार। छाडा चौपायाका कारण सवारी आवागमनमा पनि समस्या। दिनहुँ भइरहेको आफूखुसी जग्गा प्लटिङ र भवन निर्माणका कारण कुरूप बन्दै गएको वीरेन्द्रनगरको दृश्य हो यो।
तर प्रादेशिक राजधानीको चर्चा बढेपछि भने वीरेन्द्रनगरले आफ्नो स्वरूप परिवर्तनको तयारी थालेको छ। प्रदेश नं ६ को राजधानी बनाउने चर्चासँगै वीरेन्द्रनगरले सहर व्यवस्थापनको नयाँ ढाँचा प्रस्ताव गरेको छ।
नगरपालिकाले वीरेन्द्रनगरलाई आधुनिक सहरका रूपमा विकास गर्ने र व्यवस्थित सहर निर्माणको प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक गरेको हो। वीरेन्द्रनगरलाई अब देशकै नमुना एवं व्यवस्थित सहर बनाउने परिकल्पनासहित विभिन्न नीतिगत योजना तयार पारिएका छन्। त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ।
वीरेन्द्रनगर प्रदेशको राजधानी हुने सम्भावना बढ्दै गएकाले अहिलेबाटै आवश्यक पूर्वतयारी थालिएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए। वीरेन्द्रनगरलाई अब नयाँ ढाँचामा विकास गरिनेछ।
नगर क्षेत्रमा हाल आफूखुसी जग्गा प्लटिङ र बाटो खोल्ने कार्य भइरहेको र यसले सहरको सुन्दरतामै असर पुगेकाले त्यसलाई निरुत्साहित गरिने उनले बताए। वीरेन्द्रनगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्न अब भूकम्पप्रतिरोधी भवन निर्माण गर्न प्रेरित गर्ने र त्यसका लागि जनचेतनामूलक अभियान नै सञ्चालन गरिने उनको भनाइ छ।
नगरमा अब तालिमप्राप्त मिस्त्रीबाट मात्र नयाँ भवन निर्माण गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ। नगरपालिकाले सरकारी तथा सार्वजनिक संस्थानका कार्यालय निर्माण गर्दा पनि अनिवार्य नक्सापास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने भएको हो।
वीरेन्द्रनगर प्रदेशको राजधानी हुने सम्भावना बढ्दै गएकाले अहिलेबाटै आवश्यक पूर्वतयारी थालिएको हो।
'अब गुरुयोजनाअनुसार नगर व्यवस्थित बनाउन आवश्यक छ, त्यसका लागि यहाँका सडक र भवन निर्माणमा हामी कडाइका साथ लाग्नेछौं', नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर जनकबहादुर शाहीले भने। नगर क्षेत्रमा न्यूनतम ६ मिटर चौडाइ नभएको सडक विस्तार गरिने र अतिक्रमण हटाइने उनले बताए।
साँघुरा सडकले नै नगर कुरूप बनाएको उनको भनाइ छ। यस्तै नगरपालिकाले मुख्य बजार क्षेत्रका सबै सडक पुनर्निर्माण गर्ने भएको छ। त्यसका लागि टेन्डर प्रक्रिया अगाडि बढाइएको छ।
'सहर विकासको पहिलो आधार सडक नै हो, हामी अब बजार क्षेत्रका सबै सडक विस्तार र कालोपत्रे गर्दै छौं। यसले पनि बजारको सुन्दरता बढाउनेछ, सडकमा खाल्डाखुल्डी रहनेछैनन्', नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर जनकबहादुर शाहीले भने।
नगरपालिकाले व्यवस्थित सहर निर्माणका लागि सरकारी भवनमा अनिवार्य आकासे पानी संकलनको प्रविधि जडान गर्न लगाउने, नयाँ घर निर्माण गर्दा हरेक घरले सेफ्टी ट्यांक र दुई बिरुवा रोप्न लगाउने र गुरुयोजनामा परेका सडकको लगत कट्टाको प्रक्रिया थाल्ने भएको हो।
नगरपालिकाले सडक निर्माण गुरुयोजनासहित बस्ती विकासको योजनासमेत बनाउँदै छ। यसले नगर क्षेत्रमा बढ्दै गएको अव्यवस्थित घर निर्माणलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ। नगरलाई सफा र सुन्दर राख्न फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने र ल्यान्डफिल साइट तत्काल सञ्चालनमा ल्याउने तयारी छ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा हाल सीसी क्यामेरा र सोलार जोडिएको र अब थप क्षेत्रमा पनि जडानका लागि पहल गरिने नगरपालिकाले जनाएको छ। यसले नगर क्षेत्रमा हुने अपराधमा कमी आउने र नगर नै उज्यालो देखिने पौडेलको भनाइ छ।
नगरलाई हरित नगरका रूपमा विकास गर्ने, सडकछेउमा बिरुवा रोप्ने, बन्द भएका बजार क्षेत्रका ढल र नाला खोल्ने, प्लास्टिकमुक्त नगर बनाउन अभियान थाल्ने, निर्माण सामग्रीलाई सडकमा राख्न नदिने, बंगुर र राँगाको समेत वधशाला निर्माणका लागि पहल थाल्नेलगायत योजना नगरपालिकाले अगाडि सारेको छ। यसले वीरेन्द्रनगर देशकै नमुना सहर बन्ने दाबी गरिएको छ।