‘आवधिक निर्वाचन महत्वपूर्ण’
काठमाडौं: राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी शासन सम्हालेकै दिन काठमाडाैंमा अमेरिकी दूतावासले आयोजना गरेको चुनाव र शान्तिपूर्ण सत्ता हस्तान्तरणसम्बन्धी कार्यक्रममा नेपाली निर्वाचनका जानकारहरूले आवधिक निर्वाचनबारे छलफल गरेका छन्।
२०१६ को अमेरिकी निर्वाचनको अनुभव आदानप्रदान गर्न आयोजित कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन अमेरिकी लोकतन्त्रको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै नेपालमा आवधिक निर्वाचन आवश्यक रहेको बताए। संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले अमेरिकामा लामो समयदेखि एकै दिन निर्वाचन हुने र एकै दिन शपथ हुने स्मरण गराउँदै नेपालमा भने समयमा निर्वाचन हुनेनहुने द्विविधामै समय गुजार्नुपर्ने बताए।
निर्वाचन खर्चको सीमा अत्यन्तै अव्यावहारिक रहेको बताउँदै उनले यसलाई व्यवहारिक बनाउन र निर्वाचन कानुन पालना नगर्नेका लागि कडा हुन निर्वाचन आयोगका अधिकारीलाई आग्रह गरे। निर्वाचन आयुक्त इला शर्माले आयोग निर्वाचनका लागि तयार रहेको तर आवश्यक कानुनको अभावमा अघि बढ्नसक्ने अवस्था नरहेको बताइन्।
कार्यक्रममा अमेरिकी चुनावको पर्यवेक्षण गरेर फर्केका पत्रकारहरू अन्नपूर्ण पोस्ट्का मनोज दाहाल, रिपब्लिकाका नवीन खतिवडा, कान्तिपुर टेलिभिजनका गिरीश भट्टराई, उज्यालो एफएमकी सुनीता पहरी र रेडियो नेपालका अच्युत अर्यालले आफ्ना अनुभव बाँडेका थिए। पत्रकार तिलक पाठकले निर्वाचनको बदलिएको प्रवृत्ति चित्रण गर्दै उम्मेदवारको अकासिएको खर्चबारे प्रस्तुति दिएका थिए।
आईएफईएसका चिफ अफ पार्टी इयान स्मिथले चुनावी खर्चको पारदर्शिताको खाँचो औंल्याएका थिए । अमेरिकी दूतावासका सूचना अधिकारी त्रिस्ताम पेरीले नेपालमा तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गर्दै त्यसमा दूतावासले सबैखालको सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।