डुङ्गा तरेबापत ‘अन्न’ बुझाउँछन् कुतियाकवरवासी
भीमदत्तनगरः नेपाल-भारत सीमा नाकासित जोडिएको एक नेपाली बस्तीका नागरिक आफ्नो देशको अन्य भू-भागमा आवातजावत गर्न २०२२ सालदेखि डुङ्गामा यात्रा गर्न बाध्य छन् भन्दा पत्यार नलाग्न सक्ला । तर त्यो यथार्थ अवस्था कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-१० कुतियाकवरवासीले भोग्दै आएका छन् ।
अझ डुङ्गा चढेबापत वार्षिक रुपमा डुङ्गावालालाई प्रतिपरिवार एक क्विन्टल अन्न (धान वा गहुँ) बुझाउनु स्थानीयवासीको नियति नै बनेको छ ।
३६ परिवार आश्रित जिल्लाकै विकट बस्ती हो कुतियाकवर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट झन्डै एक घन्टाको यात्रामा सहजै पुग्न सकिने कुतियाकवरको अवस्था भने निकै दयनीय छ । दलित बाहुल्यता रहेको बस्तीमा आवागमनका लागि स्थानीय जोगबुढा नदीमा डुङ्गाको यात्रा गर्नैपर्ने बाध्यता वर्षौदेखि रहदैँ आएको छ ।
स्थानीय खड्के बुढाले जोगबुढा नदीमा डुङ्गामा चढेबापत डुङ्गा चालकलाई वार्षिक रुपमा कुतियाकवरका प्रतिपरिवारले रुपैयाँको साटो एक÷एक क्विन्टल अन्न दिने गरेको बताए । ‘एक क्विन्टल धान, वा गहुँ डुङ्गा चालकलाई दिए एक परिवार वर्षभरि ओहोरदोहार गर्न पाउँछन् ।’ उनले भने - ‘अतिविपन्न परिवारले क्षमताअनुसार अन्न दिन्छन् ।’
सरकारी विकासका नाउँमा गत वर्ष गाउँको १७ मिटर बाटोमा ग्राभेल हालिएको उनको भनाइ छ । ‘मन्त्री रमेश लेखकको पहलमा अहिले जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ ।’ बुढाले भने-‘पुल बनेपछि डुङ्गाको यात्राको अन्त्य हुनेछ ।’
कुतियाकवरका ३६ वटै परिवारले वार्षिक रुपमा डुङ्गा चढेबापत अन्न बुझाउने गरेको उनले बताए ।
‘हरेक वर्ष असार मसान्तमा अन्न बुझाउने काम हुन्छ ।’ उनले भने-‘एक क्विन्टल अन्न दिए वर्षभरि डुङ्गाको सहारा लिन पाइन्छ ।’ झोलुङ्गे पुल बन्न थालेपछि गाउँमा विकास हुने आशासँगै खुसियाली छाएको उनको भनाई छ । ‘सधैँ पैसा नहुने भएकाले पनि वार्षिक अन्न दिनु परेको हो’ बुढाले भने-‘ प्रतिव्यक्ति एकपटक चढे १० रुपैयाँ तिर्नुपर्छ ।’
‘पुल बने पनि बस्ती किनारमा तटबन्ध पनि निकै आवश्यक छ ।’ बुढाले भने-‘तटबन्ध भयो भने बस्ती जोगिन सक्छ ।’ दोधारा चाँदनीका स्थानीयवासी सुरेश गिरीले ८० लाखको लगानीमा जोगबुढामा पुल बनिरहेको जानकारी दिए ।
‘पुल बनेपछि कुतियाकवरवासीलाई निकै सहज हुन्छ ।’ उनले भने -‘अन्य पूर्वाधार विकास र सुविधाका लागि सरकारले ध्यान दिनु आवश्यक छ ।’ रासस