ज्वालाको प्रश्न–३३ किलो सुन भित्रिने विमानस्थलबाट हतियार भित्रिए के हुन्छ?
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रकाश ज्वालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुुरक्षा अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद ज्वालाले केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्रिएको घटनाप्रति सरकारको ध्यानाकर्षणसमेत गराए। उनले सुनकाण्डका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग समेत गरे।
उनले ३३ किलो सुन विमानस्थलबाट भित्रिनुले नै सुरक्षा अवस्था कस्तो छ भन्ने देखाएको भन्दै चेकजाँचमा कडाइ गर्नु पर्ने बताए। उनले तत्काल विमानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सरकारलाई आग्रह गरे।
विमानस्थलबाट सुन भित्रिएको प्रसंग जोड्दै सांसद ज्वालाले संसदमा प्रश्न गरे,‘हिजो सुन भित्रियो तर, अब विमानस्थलबाट अवैध हतियार भित्रियो भने के हुन्छ?’ उनले सुन तस्करीको घटनामा संलग्न भरिया पक्राउ गर्ने तर मालिक पक्राउ नगरेको भन्दै आपत्ति जनाए।
उनले तीन वर्षमा ३ सय ८५ किलो सुन तस्करी भएको भन्दै सरकारसँग जवाफ माग गरे। उनले सुटकेस र बाकसमा सुन विमानस्थलबाट भित्रिँदा पनि सुरक्षा निकायले थाहा नपाउनु सुरक्षा लापरबाही भएको बताए।
उनले विमानस्थलबाट किलोका किलो सुन भित्रिनुले नेपालको सुरक्षा अवस्थामाथि नै प्रश्न चिन्ह उठेको बताए।