विद्युतका ठूला चोरलाई छाेड्दैैैनौंः शर्मा
काठमाडौः उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोर नछाडिने बताएका छन् । अष्ट ज अभियानले राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत चोरलाई समात्न सुरु भएको भन्दै चोरलाई त्यसै नछाडिने बताए ।
मन्त्री शर्माले जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेको अध्ययन भइरहेको बताए । ‘त्यस्ता चोरलाई कानुनको कठघरामा ल्याएरै छोड्ने उनको भनाई थियो । ‘विद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोर एकएक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिदैन’ उनले भने, ‘प्राधिकरणभित्रका चोरको साईनो अन्तै जोडिएको छ, त्यो क्रमश पत्ता लाग्दै गएको छ ।’
मन्त्री शर्माले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरण भित्रका भ्रष्टलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने ठोकुवा गरे । ‘अब विद्युत चोरलाई कार्वाहीको दायरामा ल्याउछु’उनले भने ।
आइतबार मात्र नेपाल प्रहरीले विद्युत चोरी गरेको अभियोगमा विद्युत प्राधिकरणका बहालवाल र पूर्व कर्मचारी १६ जनालाई सार्वजनिक गरेको थियो ।
यसैबीच मन्त्री शर्माले जलविद्युत आयोजनाको अध्ययन गर्ने समय अवधिलाई घटाइने बताएका छन् । ‘संभाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ?’ उनले भने,–‘यस्ता खालका विज्ञ र इञ्जिनियरबाट देशको विकास संभव छैन, यसलाई सच्याउनै पर्छ ।’
मन्त्री शर्माले नेपाल र नेपाली जनतासँग पैंसा छैन भन्ने भ्रम हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताए । अनलाइन आवदेनबाट मात्रै १० दिनभित्र साढे २ अर्बको लगानी प्रतिवद्धता आइसकेको जानकारी दिँदै मन्त्री शर्माले भने–‘३० अर्बको प्रतिवद्धता आउनासाथ कुनै नाफामुलक आयोजना शुरु गर्ने सोचाई छ ।’
मन्त्री शर्माले नेपालमा उत्पादित बिजुली कहाँ बेच्ने भनेर कतिपय विज्ञले आफूलाई हैरान पारिसकेको बताए । १० हजार मेगावाट बिजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको अवस्थामा बिजुली खपतको चिन्ता दयालाग्दो भएको उनले बताए । मन्त्री शर्माले बिद्युत खपतको नभई उत्पादनको चिन्ता गर्न बिज्ञलाई आग्रह गरेका छन् ।
मन्त्री शर्माले १५वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने ठोकुवा गरेका छन् । समृद्ध नेपाल निर्माणको आधार जलविद्युत नै भएको भन्दै उनले राजनीतिक नेतृत्वले दृढ संकल्प गरेर योजना बनाउने हो भने डेढ दशकमै नेपाल विकसित मुलुकमा रुपान्तरण हुने ठोकुवा गरे । नेपालको पानी जनताको लगानी नामक कार्यक्रम फाष्ट ट्रयाकबाट मुलुकको विकास गर्ने कार्यक्रम भएको उनले उल्लेख गरे ।