अखाद्य पेय पदार्थ नष्ट
काठमाडौँः अपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा गरेको नियमित अनुगमनका क्रममा सोमबार ठूलो परिमाणमा अखाद्य पेय पदार्थ नष्ट गरेको छ ।
गोङ्गबुस्थित मानन्धर स्टोरबाट १४ बोतल कोक र सात बोतल जुस, न्यू शक्ति स्टोरबाट म्याद नाघेको १६ बोतल पेय पदार्थ तथा नारायण ढकाल नामक पसलबाट पनि लेबल र मूल्यसूची नभएको पाँच बोतल पेय पदार्थ नष्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । त्यस्तै गोङ्गबुमा नै रहेको कृष्ण महर्जनको पसलबाट पनि मिति सकिएको सूचीका दालमोठ २१ प्याकेट नष्ट गरिएको छ ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनमा भद्रकाली आयल स्टोर काँडाघारी, काठमाडौँमा मिसावट गरिएको इन्धन बिक्रीवितरण गरेको गुनासो आएपछि अनुगमन गरी नेपाल आयल निगमले दिएको निर्देशन पालना गर्न निर्देशन दिएको छ भने नमुना परीक्षणका लागि केही लिटर डिजेल नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाइएको जानकारी निर्देशक श्रेष्ठले दिए । रासस