'इगो'ले रोकियो एसएसपी सरुवा

'इगो'ले रोकियो एसएसपी सरुवा

काठमाडौंः गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अडान र ‘इगो' का कारण लामो समयदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा रोकिएको छ ।

गृहमन्त्री निधि र महानिरीक्षक अर्याल दुवै एसएसपीको सरुवा गर्न तयार भए पनि दुवैले फरक सूची बनाएपछि समस्या उब्जिएको हो । दुवैले आफ्नो स्वार्थअनुरूप सूची बनाएपछि सरुवामा ढिलाइ भएको प्रहरी स्रोतले बताएको छ । संगठनलाई भन्दा पनि दुवैले आफूले बनाएको सरुवा सूचीलाई प्रतिष्ठाको विषय बनाएको स्रोतले उल्लेख गरेको छ ।

गृहमन्त्री र महानिरीक्षकको हरेक बैठकमा सरुवाबारे छलफल भए पनि कसलाई कहाँको जिम्मेवारी दिने भन्ने विषयमा विवाद भएको स्रोतको दाबी छ ।

गृहमन्त्री निधि, गृहसचिव लोकदर्शन रेग्मी र महानिरीक्षक अर्यालबीच सरुवाको विषयलाई लिएर पटकपटक द्विपक्षीय र त्रिपक्षीय बैठक भए पनि लामो समयदेखि सरुवा हुनसकेको छैन । आइतबार सरुवाका विषयमा गृहमन्त्री निधि, गृहसचिव रेग्मी र महानिरीक्षक अर्यालबीच छुट्टाछुट्टै छलफल भए पनि सहमति जुटेन ।

महानिरीक्षक अर्यालको असहमतिबीच एसएसपीको सरुवासूची निकाल्ने मनस्थिति बनाएका गृहमन्त्री निधि यसले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप भएको नकारात्मक सन्देश जानसक्ने भन्दै दोधारमा रहेको गृहस्रोतले जनाएको छ । मन्त्री निधिले कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठलाई सूची तयार पार्न निर्देशन दिइसकेको भए पनि विवाद आउनसक्ने भन्दै पछि हटेको गृहस्रोतले बताएको छ ।

एसएसपी सरुवाको विषयलाई लिएर गृहमन्त्री निधि र महानिरीक्षक अर्यालको विवादबारे प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो लिएका छन् । प्रधानमन्त्री दाहालले केही दिनअघि महानिरीक्षक अर्यालसँग सरुवालगायत विषयमा छलफल गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री दाहालले सरुवाको विषय सामान्य भएको भन्दै गृहमन्त्री निधि र महानिरीक्षक अर्यालबीचको विवाद एकदुई दिनभित्र नटुंगिए दुवैसँग छलफल गर्ने तयारीमा रहेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । एसएसपी र त्योभन्दा माथिल्लो दर्जाको सरुवाको अन्तिम सूची गृह मन्त्रालयले निकाल्छ ।

पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले सरुवा होस् वा बढुवा, कुनै पनि बहानामा गृह मन्त्रालयले प्रहरी संगठनभित्र हस्तक्षेप गर्न नहुने बताए । ‘गृहमन्त्री राजनीतिक संस्था हो । राजनीतिक व्यक्तिले संगठनभित्र नियमित रूपमा हुने सरुवाबढुवामा अनावश्यक चासो दिनु हुँदैन', पूर्वप्रहरी महानिरीक्षक प्रधानले अन्नपूर्णसँग भने, ‘प्रहरी नेतृत्वले शान्तिसुरक्षा कायम गर्न नसके गृह मन्त्रालयले कार्यक्षमतामाथि प्रश्न उठाउन सक्छ तर अनावश्यक हस्तक्षेपले संगठन कमजोर बनाउँछ ।'

एसएसपीको सरुवाको सूची धेरैपटक फेरबदल भएको र दुवैजनाको अडानले सरुवा हुन नसकेको प्रहरी मुख्यालयका एक एआईजीले अन्नपूर्णसँग भने, ‘संगठनका लागि गृहमन्त्री र आईजी दुवैले कम्प्रमाइज गर्नुपर्छ । उनीहरूको इगोले संगठनको छवि बिग्रँदै गएको छ ।'

गृहमन्त्री निधिले काठमाडौं प्रमुखमा कमान्ड गर्ने क्षमता नभएको र आर्थिक रूपमा अपारदर्शी रहेका व्यक्तिलाई प्रहरी प्रमुख बनाउन खोजेपछि महानिरीक्षक अर्यालले त्यसमा असहमति जनाएको स्रोत बताउँछ । निधि गृहमन्त्री बनेलगत्तैदेखि दैनिक कामका विषयमा महानिरीक्षकसँग कटुता सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.