ठाउँ न ठहर कता जाउँ

ठाउँ न ठहर कता जाउँ

देशगुनाको भेष भन्छन् । अनि परिवेशअनुरूप देशले दिशा तय गर्नुपर्छ भन्नेहरू पनि निकै भेटिन्छन् । ठाउँअनुसारको ठहर नहुँदा र ठहरबमोजिमको ठाउँ नमिल्दा बेखबर कुन बर्बादीतिर बरालिन पुगिने हो थाहा हुँदैन ।

यताका बाह्र वर्षदेखि नेपालभित्रको विचित्र इतिवृत्त यस्तै-यस्तै कथाव्यथासित मिश्रित र त्यस्तै-त्यस्तै परिपञ्चबाट अव्यवस्थित पाइन्छ । समयको चाल एवं भूलोकको चलनचल्तीअनुसार देश र समाजले गति लिनुपर्छ सही कुरा हो । अनि समयानुरूप तदनुकूल परिवर्तन हुनुपर्छ यो पनि उत्तिकै सटिक यथार्थ हो ।तर परिवर्तन, प्रणाली, पद्धति र परिपाटीमा परस्पर तालमेल नमिल्नु विचित्र विडम्बनाको विषय हो ।

हाम्रा पिता-पुर्खाले जेजस्तो ठाउँ बनाए र जेजसरी जेजे प्रकारको ठहर गरे, त्यो अद्यावधिक स्थितिमा ठीक-बेठीक के हो, त्यसको ध्यान दिनुपर्छ र परिस्थितिअनुरूप त्यसमा परिवर्तन पनि गरिनुपर्छ । तर उहिलेका कुरा खुइले भनेर हिजो-अस्तिका ठाउँ-ठहरका कुरालाई उसै लहडमा बदलिइहाल्नु पनि उचित हुँदैन ।

हिजोका स्थानगत नीतिगत र कालसंगत कतिपय कुरा विस्मरणीय बने पनि ती कति अनुशरणीय पनि हुन्छन् । देश, काल र परिस्थितिमा केकति कुरा त्याज्य तथा कतिपय विषय ग्राह्य हुन्छन् । त्यसको हेक्का समयको फेरबदलसँग हुँदै जानुपर्छ । देशको विधि-व्यवस्था राजपाट र राजनीतिको डोरो समात्नेहरूले त त्यस्ता अविस्मरणीय अनुकरणीय ग्राह्य एवं आवश्यकीय विषयमाथि गम्भीर रूपले ध्यान पुर्‍याउनैपर्छ ।

कालचक्रले बदलिँदो विश्व परिवेशले आवेश-विद्वेषले वा विकासको आसपासले नेपालको विधिविधान, राज्यव्यवस्था, सामाजिक अवस्था तथा शासन प्रणालीमा अहिले आमूल परिवर्तन आएको छ । सात, सत्र, सैंतीस र सत्चालीस सालका राजनीतिक परिवर्तनपश्चात् ०६२÷६३ पछिको राजनीतिक परिपाटी ‘संघीय लोकतान्त्रिक गणतन्त्र' को संज्ञा रूपमा उत्रिएको छ ।

नेपालका निम्ति नौलो प्रकारको यो परिपाटीको परप्राप्तिपछि उहिले बाजेका पालाका कतिपय चीजवस्तु, विषय, आदर्श तथा मतमान्यतामाथि प्रहार पनि भएको छ । कत्तिका सालिक फालिए, कत्तिका आस्था बदलिए र कत्तिका रीति, पद्धति एवं वस्तुस्थिति बिलाइए । कथित अग्रगामी, महान् क्रान्तिकारी र युगान्तकारी परिवर्तनका हिमायती भन्नेहरू कतिले त्यसको ‘ श्रेय हार' सिउरेर आपूmलाई स्वधन्य झैं सम्झे । इतिहासको समय लहरमा ल्याइने परिवर्तित प्रसंग प्रकरणमा त्यस्तो प्रसिद्धिको प्रवृत्ति आउनु स्वाभाविकै पनि हो ।

संसार र सांसारिक विषयवस्तु सदा स्थिर, अचल अटल भई राख्दैन । स्वभावतः त्यसमा हलचल र फेरबदल हुन्छ नै । तर यावत् उलटपुलट प्रत्येक परिवर्तन, नूतन कालक्रम र परिप्राप्त नवीनतम प्रणालीपछि आउने अर्को उपक्रमको अर्को छुट्टै कालक्रम हुन्छ । त्यो अवधिमा स्वभावतः परिवर्तित प्रक्रियाको पारख, जाँच पडताल र परीक्षा प्रायः हुने गर्छ ।

समयान्तरको यही सिलसिलामा नेपालभित्र अहिले यता आएर भए-गरेका, ढले-चलेका विगत एवं आगतको जोडघटाउ ठाउँठाउँमा सहरबजारमा र घरघरमा तथा मान्छेमान्छेका मन मगजमा कनिकुथी गिन्ती हुन थालेको छ ।

हिजो अस्ति प्रख्यात् परिवर्तनको क्यावात समय चरणमा पृथ्वीनारायण, महेन्द्र, भानुभक्त आदिका प्रतीकात्मक मूर्ति तोडिए, सालिक फोडिए र जताततै शब्दान्तर नामान्तर र रुपान्तर गरिए, सिंगै नेपाललाई नयाँ बनाइने भएपछि नेपालभित्रका प्राचीन अवयव स्मृति, कृति र इतिवृत्तिलाई किन बाँकी राख्ने भन्ने प्रवृत्ति त्यो अवधिमा निकै हावी पनि भयो ।

तर जसै प्रहर घडी पला र बारबेला बित्दै बाह्र संवत्सरको सँघारसम्म परिवर्तित लहर क्रम बढ्दै आयो- तब यतिखेर नेपाली जनमानसमा फेरि कताकताको अन्यमनस्क, अन्योल अनिश्चय र अन्यथाको चौबाटोमा ठिंङ ठडिन थालेको छ । कता-कता नेपाली जनता अहिले हाम्रो आफ्नो ठाउँको पहिचान गर्न थालेका छन्, कताकता नेपाली मन, विवेकले हाम्रो आफ्नो थातथलोको चोचोमोचो सोच्न थालेका छन् ।

कोरा वक्तव्य स्वतः वियुक्त सिद्धान्त र नक्कली नौटंकी मन्तव्यले आफ्नो मौलिक राष्ट्रिय गन्तव्य छिचोलिँदैन । ठाउँ न ठहरको त्यस्तो यात्राले गन्तव्य गिजोल्छ, नेपाल राष्ट्रका तमाम वासिन्दाको मन-माथिंगल खल्बल्याउँछ ।

हो, ६२÷६३ को घनघोर परिवर्तनले दिव्य १२ वर्षपछि नेपालभरि उज्यालो नै उज्यालोको अपार लहर ल्याउँछ र त्यसले सबै नेपालीलाई ज्योर्तिमान तुल्याउँछ भन्ने उतिखेरको औधी अभिलाषा एवं आकांक्षा हो । तर यावत् शब्दान्तर नामान्तर वा रूपान्तरले त्यस्तो अर्को अलंकारयुक्त प्रहर उघारेन, बरु हर उघार्‍यो, आकार निराकारतिर धकेल्यो र नेपाली अनुहारमा बेकारका दिक्दार रेखाहरू कोर्‍यो ।

त्यसैले यो बेला नयाँ नेपालको उज्यालो रूप खोज्ने नेपाली आँखाहरू विकृत परिदृश्य हेर्दै पट्यारलाग्दो पाराले एकोहोरो अर्को दृष्टि लगाइरहेका छन् । आँखी भएर हामीमाथि कुदृष्टि नलगाऊ भनेर परिवर्तनका संवाहक शक्तिको फूर्तिले जति नै चुरीफुरी गरे पनि तिनका सबै जुक्तिबुद्धि निरस्त र अनर्थ बन्दै गएको देखिन्छ ।

परिवर्तन प्रगतिको पथ बन्नुपर्छ, परवर्तित प्रणाली प्रगति शिखरको सपना बन्न सक्नुपर्छ अनि परिवर्तनको प्रहरपछि पद प्राप्तिका लहर ल्याउनुपर्छ । तर १२ वर्षअघिको त्यो राजनयिक फेरबदलको घटनाचक्रले र त्यसको रिङ्दो समयसन्दर्भले त्यस्तो सारभूत आधारभूत वञ्छित लाभ दिन सकेन । तब त्यो पथ उबडखाबडको त्यो सोपना बांगेटिंगो र त्यो प्रहर कठोर कहरको बन्न पुग्यो । त्यसैले नेपाल अहिले अल्मलमा अल्झिएको छ र नेपाली आशा-आकांक्षा अहिले काकाकुलको बेहालमा बगेको छ ।

त्यत्रो भारी परिवर्तन, त्यत्रो विधि हुँकार तथा नवनायकहरूको चामत्कारिक तवरको त्यस्तो विछट्टको उद्गार एवं चरम उन्नयनको अभियान यति छिटै यसरी किन भंगीत भइरहेछ, सबैका निम्ति सोचनीय विषय छ । जुर्मुराएर केही नयाँ-नौलो गतिलो हुन्छ भनेर भन्नेहरू अहिले टाउकामा हात राख्दै पृथ्वीनारायण शाह र महेन्द्रको दूरगामी दिव्य दृष्टिको ध्यान गर्न थालेका छन्, अनेकतामा एकताको डोरी कता मिल्छ भनेर सोच्न थालेका छन् । त्यस्तो ध्यान र चिन्तन किन र कताबाट आयो ?

कुरा स्पष्ट छ यो परिवर्तित समय चरणको परिक्रमा गर्दै जाने क्रममा हामीले जसरी हाम्रो ठाउँ छोड्यो र जे-जस्ता अनिच्छित ठहरहरू ठड्याउँदै गयौं, त्यसको ठेगाना ठीक यसरी नै ठडिएको हो भन्ने पुष्ट भौतिक ज्ञान नेपाली चित्तले ठम्याउँदै गएको हो भन्ने अहिलेको बौद्धिक ठम्याइ हो ।

ठाउँअनुसार ठहर हुनुपर्छ, अन्यथा परिवर्तनको प्रहर कहर बन्छ । भएको यही हो । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता समावेशी शासन व्यवस्था, समानुपातिक सुव्यवस्था अन्तर्राष्ट्रियता, विश्ववादिता, क्षेत्रीयता, जातीय सम्प्रभुता, आत्मनिर्णयको स्वायत्तता जस्ता जति पनि शब्द विशेषता परिवर्तन यता आए, ती कर्णमधु अवश्य हुन् । तर व्यवहारमा ती कार्य प्रिय बन्न सकेनन् ।

धर्म र विवेकयुक्त लोकसम्मत विकेन्द्रित प्रजातान्त्रिक विधि-व्यवस्थाको अर्थ राख्ने राज्य प्रणाली नै नेपाल र नेपालीको अपेक्षित पद्धति हो । त्यसको प्रतिस्थापन भन्दै जति नै अरू शब्द शृंगार भरे पनि प्रतिफल अपूर्ण भएपछि हुन्छ के ? बेकार र विनासारका शब्द थुपार्दैमा सारभूत सुन्दर कविताको सिर्जना हुन होइन । नेपाली हृदयाकाशमा क्रमशः घामको ज्योति देखिनुको कार्य कारण सायद त्यही हो ।

ठाउँ न ठहर उसै जाउँ भनेर आखिर पुगिन्छ कहाँ ? सही गन्तव्यमा पुग्न सतही दृष्टिकोणले हुँदैन । कोरा वक्तव्य स्वतः वियुक्त सिद्धान्त र नक्कली नौटंकी मन्तव्यले आफ्नो मौलिक राष्ट्रिय गन्तव्य छिचोलिँदैन । ठाउँ न ठहरको त्यस्तो यात्राले गन्तव्य गिजोल्छ, नेपाल राष्ट्रका तमाम वासिन्दाको मन-माथिंगल खल्बल्याउँछ ।

त्यसैले नेपालको भूपरिवेश, नेपाली समाजको संरचना र नेपाली मनभित्रको आफ्नै मूल मौलिक मनोदशाअनुरूपको नीति, विधि, प्रक्रिया, प्रणाली हाम्रो हितमा हुन्छ, ‘हामी अनुकूल बन्छ । नेपालभित्रको विद्यमान विचित्र इतिवृत्तले अहिले यसै भन्छ । अनि भन्छ- आफ्नो ठाउँको सही ठेगाना र जाने बाटोको सही ठहर हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.