वार्ता असफल भए युद्धको चेतावनी
काजकिस्तानः सिरियाको विषयमा आस्तानामा हुने शान्ति वार्ता असफल भएमा सरकारसँग हाल भइरहेको लडाइँ जारी रहने सिरियाली विद्रोहीले प्रतिबद्धता गरेको विद्रोहीका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
उनले भने, ‘यदि सरकार र विद्रोहीबीच हुन लागेको शान्ति वार्ताको सम्झौता सफल भएमा हामी सम्झौतामा जाने छौं । दुर्भाग्यवश यो असफल भएमा लडाइँ जारी राख्नु बाहेक अरू विकल्प छैन ।'
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै आन्दोलन सुरु भएको थियो ।
उक्त जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो । गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेटको पनि बिगबिगी बढ्यो । सन् २०११ देखि हालसम्म त्यहाँ जारी उक्त युद्धमा तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस आन्दोलनमा परी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँले आफ्नो देश छोडी छिमेकी देशमा शरण लिन बाध्य भएका छन् । —रासस/एएफपी